ए डिभजिन लिग : वैकल्पिक खेलाडी सुनिलको गोलसँगै हारबाट जोगियो थ्री स्टार

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । वैकल्पिक खेलाडी सुनिलको गोलको सहयोगमा शनिवार थ्री स्टार क्लव विभागीय टोली एपिएफ क्लवसँग हारबाट जोगिएको छ ।

शहीद स्मारक ए डिभजिन लिग अन्तर्गत २४ औं चरणको खेलमा थ्री स्टारले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दा एपिएफसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्री स्टार र विभागीय टोली एपिएफ क्लवले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

पहिलो हाफमा पछि परेको थ्री स्टारका लागि सुनिल तामाङले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए । यसअघि एपीएफका मणिकुमार लामाले टोलीका लागि शुरुवाती अग्रता निकालेका थिए । खेलको २३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा वैकल्पिक खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाएका थिए । यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ । एपीएफले २४ खेलमा ३० अंक जोडेको छ ।

यस्तै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव सातदोबाटो युथ क्लवसँग २–१ गोल अन्तरले स्तब्ध भएको छ । सातदोबाटोको जितमा शिव सुवेदी र दीपकराज सिंह ठकुरीले एक एक गोल गर्दा आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काउँदै अन्तर घटाएका थिए । खेलको दोस्रो मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई शुरुवाती अग्रता दिलाएका थिए । शुरुवाती गोलसँगै दबाबमा परेको आर्मीले २९ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । नवयुगले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । नवयुगले प्रहार गरेको पेनाल्टी सातदोबाटोका गोलकिपर अविशेक बरालले रोकेका थिए । तर, रिबाउन्डमा नवयुगले नै गोल गरेका थिए । त्यसपछि खेलको ६३ औं मिनेटमा दिपकले पेनाल्टीमार्फत गोल गर्दै सातदोबाटोलाई २–१ को जित निश्चित गरेका हुन् । यससँगै सातदोबाटोको यो नवौं जित निकाल्न सफल रह्यो । जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ । आर्मीले २४ खेलमा ३० अंक जोडेको छ ।

लिगमा आईतवार चार खेल हुनेछन् । दिनको पहिलो खेल संकटा क्लव र खुमलटार युथ क्लवबीच एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा हुँदा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा, तेस्रो खेल च्यासल मैदानमा मच्छिन्द्र र नेपाल पुलिसबीच हुनेछ । यस्तै अन्तिम खेल दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लव र फ्रेण्ड्स क्लवबीच खेल हुनेछ । ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?