इण्डो नेपाल कराँते प्रतियोगितामा पहिलो दिन नेपाललाई ६ स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नवौँ इण्डो नेपाल कराँते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन् । नेसनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु-काइ कराँते डो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पहिलो दिन पुरुष २० केजीमुनि तौल समूहमा शिवपुरी डोजोका अरुण तामाङले स्वर्ण जित्नुभयो ।

फाइनलमा उहाँले आइपिएसका सुसन तामाङलाई हराउनुभयो । २५ केजीमुनि तौल समूहमा शिवपुरीकै ड्यानियल तामाङले स्वर्ण जित्ने क्रममा आइपिएसका सुसन चौलागाईंलाई पराजित गर्नुभयो । ३० केजी तौल समूहमा दि चान्दबाग स्कुलका आरोग्य पौडेलले स्वर्णपदक जित्नुभयो । उहाँले फाइनलमा लुम्बिनी एकेडेमीका सौरभ चौधरीलाई पराजित गर्नुभयो ।

पुरुषकै ४० केजीमुनि तौल समूहमा मित्रपार्क डोजोका श्रीयश शाही पहिलो हुँदा फाइनलमा आफ्नै डोजोका प्रयास शाहीलाई पराजित गर्नुभयो । पुरुष कातातर्फ मित्रपार्क डोजोका खेलाडीको बर्चस्व रहृयो । सक्षम लामाले स्वर्ण जित्दा निश्चल राईले रजत र श्रीयस शाहीले कांस्य जित्नुभयो । अर्काे कांस्य विजेता सिएमएसका पुजन तामाङ हुनुहुन्छ ।

महिला कातातर्फ आयोजक नेसनल युनाइटेड स्कुलकी अपेक्षा मगर स्वर्ण पदक जित्न सफल हुनुभयो । चान्दबाग स्कुलकी अंशु गुरुङले रजत तथा आइपिएसकी सलिना लामा र आयोजक नेसनलकी दिनिका राईले कांस्य जित्नुभयो ।

महिला कुमुतेतर्फ ४० केजीमुनि लुम्बिनी एकेडेमीकी प्रेशा राईले स्वर्ण जित्नुभयो । उहाँले फाइनलमा नेसनल युनाइटेडकी कुन्साङ राईलाई हराउनुभयो । लुम्बिनीका पुजना राई र जिनियस वल्र्ड स्कुलकी निनिशा हमालले कांस्य जित्नुभयो ।

हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलको प्रांगणमा आयोजित प्रतियोगितामा नेपाल र भारतका विभिन्न डोजो तथा विद्यालयका गरी २५० भन्दा बढी खेलाडीहरू सहभागी छन् । प्रतियोगितामा काता र कुमुते गरी २४ स्वर्ण, २४ रजत तथा ४८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?