तलबलगायत १५ बुँदे मागसहित टानलाई ज्ञापनपत्र

Read Time = 3 mins

काठमाडौं । तलब वृद्धि, सामाजिक सुरक्षा कार्यान्वयन, तत्काल श्रम अडिट हुनुपर्ने, पालिकामा श्रमिकको पञ्जीकरणलगायत १५ बँुदे मागपत्र राख्दै नेपाल ट्रेकिङ ट्राभल्स, र्‍याफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) ले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा ज्ञापनपत्र बुझाएको छ ।

पर्यटन क्षेत्रमा विगत लामो समयदेखि कार्यरत श्रमिकको पारिश्रमिक तथा सेवासुविधा वृद्धि नभएकाले नेपाल राष्ट्र बैंकले जारी गरेको मुद्रास्फीतिदर तथा खाद्यवस्तुमा भएको मूल्यवृद्धिका आधारमा पारिश्रमिक र सुविधा वृद्धि हुनुपर्ने युनिट्राभको माग छ ।

जलवायु परिवर्तनका कारण कार्यक्षेत्रमा दिनानुदिन उच्चरूपमा जोखिम बढ्दै गएका कारण पर्वतारोही र पदमार्गमा कार्यरत श्रमिकको दुर्घटना बीमा तथा स्वास्थ्य बीमा रकममा शतप्रतिशतले वृद्धि गरिनुपर्ने, श्रमिकलाई पालिकामा पञ्जीकरण गरिनुपर्ने, नयाँ श्रमिक भर्ना गर्दा पञ्जीकरण भई परिचयपत्र प्राप्त श्रमिकलाई मात्र रोजगारी दिने व्यवस्था गरिनुपर्ने रहेको युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताउनुभयो ।

त्यस्तै, श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लागू भएपछि सम्पूर्ण श्रमिकलाई रोजगारदाताले सामाजिक सुरक्षा कोषमा सूचीकृत गरी योगदान नियमित गर्नुपर्नेमा सामाजिक सुरक्षा प्रत्याभूत नगरिएको भन्दै अबिलम्ब कोषमा रोजगारदाता र श्रमिकलाई सूचीकरण गरी योगदान रकम नियमितरूपमा दाखिला गर्नुपर्ने, पर्वतारोहणमा कार्यरत श्रमिकलाई पर्यटन विभागबाट प्रदान गरिने इजाजतपत्र जारी तथा नवीकरण गर्न सहज वातावरण बनाउनुपर्ने, श्रम ऐन, २०७४ तथा श्रम नियमावली २०७५ मा अनिवार्य श्रम अडिटको व्यवस्था गरिएको तर सम्बद्ध व्यवसायीले श्रम अडिट नगरेकाले श्रम ऐन, नियममा भएको व्यवस्थाबमोजिम अनिवार्य श्रम अडिट गरिनुपर्ने, पर्वतारोहीलाई दिँंदै आएको विभिन्न सेवासुविधामा ३० प्रतिशतले वृद्धि गर्नुपर्नेलगायतका माग रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?