अन्तरप्रदेश पर्यटन मार्ग बनाउन १५ करोड

Read Time = 4 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । चप्परगौडी, खड्कवार हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्गका लागि सरकारले बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा अन्तरप्रदेश पर्यटन मार्ग निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको हो । जेठ १५ गते सार्वजनिक बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत कुल १५ करोड बजेट विनियोजन भएको छ ।

सडक निर्माणका लागि स्रोत जुटाउन गठित संघर्ष समितिका अध्यक्ष सूर्यप्रसाद ढकालले चालु आवमा सल्यानतर्फ दुई सिफ्टमा सञ्चालन हुने गरी १० करोड र बाँकेतर्फबाट पाँच करोड गरी कुल १५ करोड विनियोजन भएको बताउनुभयो । पर्यटन मार्ग निर्माणका लागि सरकारले चालु आवमा तीन करोड विनियोजन गरेको थियो । हाल बाँके १ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका ढकालले अन्तरप्रदेश पर्यटन मार्ग निर्माण सुरु भइसकेको र बाँकी कामका लागि सरकारले बजेट विनियोजन गरेकाले अब सडक निर्माणको काम तीव्रगतिमा अघि बढ्ने दाबी गर्नुभयो । उहाँले गत मंसिरमा सम्पन्न निर्वाचनमा पर्यटन मार्ग जोड्ने सडकलाई चुनावी एजेण्डासमेत बनाउनुभएको थियो ।

जनतालाई गरिएको बाचाअनुसार नै काम सुरु हुने सांसद ढकालको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हाम्रो वर्षौंदेखिको सपना साकार हुने चरणमा पुगेको छ । अब काम सुरु हुन्छ । यसले लुम्बिनी र कर्णाली प्रदेशलाई सडक सञ्जालमार्फत् जोड्नेछ ।’ यही सडक निर्माणका लागि २०७८ मा ढकालकै नेतृत्वमा संघर्ष समिति बनाइएको थियो । उक्त समितिले त्यतिबेला संघीय सरकार, योजना आयोग, मन्त्री, कर्णाली तथा लुम्बिनीका मुख्यमन्त्री र मन्त्री तथा प्रदेश योजना आयोगका उपाध्यक्षलाई बजेट विनियोजन गरिदिन ज्ञापनपत्र बुझाएको हो ।

ढकालका अनुसार सडकका लागि समितिले योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, पर्यटनमन्त्री योगेश भट्टराई, भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, सामाजिक विकासमन्त्री सुदर्शन बराल, भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी, कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला र प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीलाई ज्ञापनपत्र बुझाइएको थियो ।
पर्यटन मार्ग बाँकेको चप्परगौडीदेखि सल्यानको घुइयाबारीसम्म कुल २५ किलोमिटर रहेको छ । हालसम्म दुई किलोमिटर सडक निर्माण भइसकेको छ । कोहलपुर, चप्परगौडी, खड्कवार हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटन मार्ग निर्माणका लागि ३० करोड लागत लाग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?