युवाको पलायन : देशको सर्वाधिक चिन्ता

Read Time = 12 mins

✍️ रिसव गौतम

युवाहरू देशका कर्णधार हुन्, देशको भविष्य हुन् । आर्थिक विकासको मेरूदण्ड हुन् भनेर सबैले भनिरहेका हुन्छन् । हुन पनि हो, युवा जनशक्तिविना देशको विकास निर्माण कठिन छ । यो सारा संसारले बुझेको तथ्य हो । विडम्बना नेपालले विकास निर्माण, देशको परिवर्तनका लागि युवाहरूको शक्ति र महत्व बुझेर पनि संवेदनशील हुन सकिरहेको छैन ।

हरेक वर्ष नेपालको श्रम बजारमा चार लाख पचास हजार लगभग युवाहरू आइरहेका हुन्छन् । तीमध्ये साँढे ३ लाखजसो वर्षेनी बाहिरिँदै गरेको नमिठो तथ्यांक पनि आउने गरेको छ । अर्थात् श्रम बजारमा आउने सबैजसो युवाहरूले नेपालमा भविष्य देखिरहेका छैनन् । अझ पछिल्ला वर्षमा नेपालमा अवसर नदेखेर बाहिरिने गरेका युवा युवतीहरू दीर्घकालीन रूपमै विदेशमा घरजम गरेर बस्न थालेका देखिन्छन् । नेपाल सरकारले भने कत्ति पनि चिन्ता प्रकट गरेर युवा पलायन रोक्ने कार्यक्रम र अभियान चलाउन सकेको छैन । आमयुवाहरू देशमा केही नदेख्ने तर विदेशमा सबै देख्ने अवस्था राजनीतिक दलहरूले बनाएको हो । तिनका नेताहरूले नै बनाएको हो ।

पढ्नका लागि होस् वा कमाउनका लागि होस् नेपाली युवायुवतीहरू अहिले अमेरिका, अष्टे«लिया, बेलायत, युरोप, जपान, कोरिया र खाडी मुलुकलगायत संसारभर पुगिसकेका छन् । संसारभर काम र दाम, सुख भोगको खोजिमा निस्किएका नेपाली युवायुवतीले स्वदेशलाई नै अँध्यारो बनाएका छन् ।

अचम्म त के छ भने अष्ट्रेलिया, बेलायत, अमेरिका जस्ता विकसित देशहरूमा पढ्न जाने विद्यार्थीहरूमा संख्यात्मक रूपमा नेपालीहरू भारत तथा चीनपछि तेस्रो-चौथो नम्बरमा आउन थालेका छन् । गतवर्ष विदेशमा पढ्न जानका लागि मात्र (नो अब्जेसन लेटर) एक लाखभन्दा बढीले एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । संसारभरका एक सय ६ वटा देशका साढे १० हजार शिक्षण संस्थामा नेपाली विद्यार्थीलाई अध्ययन गर्न मन्त्रालयले अनुमति दिइसकेको अवस्था छ । पढ्नका लागि मात्रै अर्बाैं पैसा वर्षेनी बाहिरिरहेको अवस्था छ ।

यसरी पढ्नका लागि होस् वा पढ्ने बाहनामा कमाउनका लागि होस् नेपाली युवायुवतीहरू अहिले अमेरिका, अष्ट्रेलिया, बेलायत, युरोप, जपान, कोरिया र खाडी मुलुकलगायत संसारभर पुगिसकेका छन् । संसारभर काम र दाम, सुखभोगको खोजिमा निस्किएका नेपाली युवायुवतीहरूले स्वदेशलाई नै अँध्यारो बनाएका छन् । मुलुकमा करिब-करिब काम गर्न सक्ने सार्मथ्य राख्ने युवाहरू रिक्तिएको अवस्था छ । तर, सरकारसँग युवाहरूको पलायन रोक्ने न कुनै योजना छन् न कुनै कार्यक्रम छन् ।

एकथान बजेट बन्छ, बजेटका कार्यक्रम पुराणका ग्रन्थजस्ता हुन्छन् भट्यायो, भट्यायो अनि सिद्धियो । मीठा गुलिया कार्यक्रम भए पनि पैसा भए पो कार्यान्वयन होस् । फेरि नेपालका कर्मचारी यति न बाठा, अल्छी, जोखिम नमोल्ने तर आफूलाई एकथान लोकसेवा पास गरेकै आधारमा लोकतन्त्र पनि आफैं, सरकार पनि आफैं भनेको जस्तो गर्ने खालका छन् । उनीहरू करिब आफूलाई राजा नै ठान्छन् । देखिने गरी काम केही गर्दैनन् । राजाको काम कहिले जान्छ घाम भन्ने उक्तिजस्तो छ उनीहरूको कामको पारा ।

भएभरका युवायुवतीहरू विदेश पलायन भइरहँदा नेपालको आधुनिक विकास ‘आकाशको फल आँखा तरी मर’ भन्ने होला जस्तो भइरहेको छ । किनकि पछिल्लो २०७८ सालको जनगणना अनुसार नेपालमा अहिले सबैभन्दा बढी काम गर्नसक्ने युवाहरूको जनसंख्या छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गरेको २०७८ सालको जनगणना विवरणानुसार मुलुकमा अहिले ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका मानिसहरूको जनघनत्व छ । त्यो समूह भनेको काम गर्नसक्ने युवा बाहुल्य उमेर समूह हो ।

तर, विडम्बना त्यही उमेर समूहभित्रका करिब ७० प्रतिशतभन्दा ज्यादा मानिस विदेशिएको अवस्था छ । यसरी काम गर्नेसक्ने उमेर समूहका युवाहरू पूराका पूरा बाहिरिएपछि यो देश कसरी बन्ला त ? फगत गफ र योजनालेमात्र त देश बन्दैन । त्यसकारण सरकारले देश नबन्नुको कारण युवा शक्ति बाहिरिनुले पनि हो भन्ने तथ्य राम्ररी बुझ्न जरुरी देखिन्छ । यो देश बन्न र बनाउन काम गर्न सक्ने जल्दाबल्दा युवाशक्ति र पुँजीको अपरिहार्यता छ । त्यसपछि आवश्यक योजना, प्रविधि र सीप तथा स्रोतको आवश्यक हो । त्यसकारण सरकारले आसन्न बजेटमार्फत नै युवाहरूलाई सम्बोधन गर्न जरुरी छ ।

उनीहरूलाई कसरी देशमै अड्याउने, कसरी काम दिने, कसरी रोजगार एवं सीपमूलक बनाउने भन्ने सम्बन्धमा ठोस योजनासहितको कार्यक्रम सरकारले ल्याउन जरुरी छ । र, त्यसलाई साउन महिनैबाट कार्यान्वयमा लैजाने गरी अघि बढ्न जरुरी छ । युवाहरूले ए बाबा काम गर्छु, पसिना बगाउँछु, काम देऊ, उद्यम गर्छु बिउ पुँजी देऊ, रोजगार बढाउँछु वातावरण बनाइदेऊ भन्दा त्यति पनि माहोल र अवसर सिर्जना गरिदिन नसक्ने सरकार आजको दुनियाँमा धेरै कम छन् । त्यसकारण सरकारले भयंकर संवेदनशील भएर युवा पलायनबाट सिर्जना भएका संकटलाई बुझ्न जरुरी छ ।

युवाहरू विदेशिए भने ती हत्तपत्त फर्कदैनन् अरू मुलुकका विकासका साधनमात्रै हुन्छन् भन्ने तथ्य कम्तीमा पढेलेखेका प्रतिनिधिसभा सदस्यहरूको बाहुल्यता भएको, वैकल्पिक शक्तिको रूपमा युवाहरूको समूह संसद्मा प्रवेश गरेको अहिलेको नेतृत्वहरूले, सक्ताका तालाचाबी लिएकाहरूले बुझ्न जरुरी छ । अबको ३५ वर्ष नेपालको जानसांख्यिक अवस्थाबाट देशले अत्यन्तै लाभ लिन सकिने अवस्था छ ।

वयस्कहरूको वर्चश्वको अवस्था देशको लागि लाभप्रद हुनेछ । राजनीति गर्नेहरूले युवाशक्तिको मर्म अहिले पनि बुझेनन् भने अब ३५ वर्षपछि नेपालको जनंख्याको घनत्व बुढाहरूले हड्प्नेछन् । अनि त नेपाल विकास नभइकन बुढो हुनेछ । त्यसकारण दीर्घकालीन सोच अहिले नै राख्न जरुरी छ ।

युवाहरूको अहिले बढिरहेको विदेश पलायन डरलाग्दो छ । भएभरका युवाहरू पलायन भइरहँदा सरकारले त्यसतर्फ सोचेन भने त्यसभन्दा ठूलो गल्ती अरू हुनेछैन । आज जति पनि युवा बाहिरिरहेका छन् त्यसको मूल जरो भनेको बेरोजगारी र गरिखाने वातावरणको अभाव हो ।

सरकार युवाहरूले कमाइ पठाउने रेमिट्यान्सको गणनामा रमाएको छ । हुन पनि रेमिट्यान्सकै भरमा मुलुक चलिहरेको देखिन्छ । कूल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान सबैभन्दा बढी २९ प्रतिशत पुगिसकेको छ । तर, रेमिट्यान्ससँगै नेपालीहरूको विकासको अवसरसमेत खुम्चिरहेको छ । युवाहरूको श्रम र सीप विदेशीको आँगनमा खेर गइरहेको छ । विदेशीको विकास निर्माणमा खर्च भइरहेको छ । सरकारले रेमिट्यान्सलाई जोड दिएर मुलुकको विकास हुन्छ भन्ने ठान्नु मूर्खता हुनेछ । अर्थतन्त्रमा क्रमिक रूपमा रेमिट्यान्सको भन्दा पनि कृषि, पर्यटन, व्यापार, उद्योग क्षेत्रको टेवा बढाउन जरुरी छ ।

रेमिट्यान्समा आधारित अर्थतन्त्र दिगो नहुने र त्यसले क्रमश अर्थतन्त्र परनिर्भर एवं शिथिल बनाउँदै लैजाने कुरा निश्चत छ । श्रमशील, ऊर्जाशील, जोशले भरिएका युवाहरूलाई देशमै काम गर्ने वातावरण बनाइदिनु, उनीहरूलाई कम्तीमा काम गर्ने अवसरहरू प्रदान गर्दा अर्थतन्त्रले आत्मनिर्भरताको जग बसाल्नेछ । देश बनाउने भनेको अवस्य पनि युवाले नै हुन् । हाम्रा आधारभूत विकास निर्माणका लागि हाम्रै युवाहरूको श्रम र सीपको खाँचो छ । त्यसको अतिकतम उपयोग गर्नेगरी बजेट तथा सरकारका नीति कार्यक्रम आउनुपर्छ । सरकारले यसपटक युवा पलायन रोक्ने र स्वदेशमै रोजगारी एवं उद्यमशीलता बढाउने हिसाबले बजेट ल्याओस् ।

युवाहरूको अहिले बढिरहेको विदेश पलायन डरलाग्दो छ । भएभरका युवाहरू पलायन भइरहँदा सरकारले त्यसतर्फ सोचेन भने त्यसभन्दा ठूलो गल्ति अरू हुनेछैन । आज पढ्न भने पनि, अथवा जेका लागि भने पनि जति पनि युवा बाहिरिरहेका छन् त्यसको मूल जरो भनेको बेरोजगारी र गरिखाने वातावरणको अभाव हो । सरकारले त्यसतर्फ ध्यान आर्कषण गरोस् । त्यो गर्न सकेन भने अहिले बनेको प्रचण्ड सरकार निश्चित रूपमा असफल हुनेछ । किनकि युवाहरूविना न विकास सम्भव छ, न त देशको उत्पादन वृद्धि, आत्मर्भिरता र समृद्धि । त्यसकारण सरकारले बजेटमार्फत बढाउने भनेको रोजगारी, उद्यमशीलता विकासका कामलाई दत्तचित्त भएर अगाडि बढाउनुको विकल्प अब छैन । भएभरका युवाहरूले देश छोडे भने यो देशको भविष्य पक्कै अन्धकार हुनेछ । सरकारले सोचोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?