गाउँमा एक घर एक धारा निर्माण भएपछि स्थानीय दंग

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । “धेरै वर्षदेखि फोहोर पानी खाइ रहेका थियौँ, के गर्नु पानी समस्या भएपछि टालोले छानेर भए पनि खानै पर्दो रैछ, अहिले त्यस्तो पानी खानु परेको छैन ।” बागलुङ बडिगाड गाउँपालिका–२ हाँडीखोलाका स्थानीय वर्षौँदेखि खानेपानीको अभावमा थिए । उनीहरुले जंगलबाट आउने फोहोर पानीलाई शुद्धीकरण गरेर प्रयोग गर्न बाध्य थिए । तर अहिले सबैको घरघरमा धारा बने पनि स्थानीय दंग छन् । बडिगाड गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को सहलगानीमा हाँडीखोलामा एक घर एक धारा निर्माण भएका छन् । घरकै धारामा पानी आउन थालेपछि स्थानीयलाई सहज भएको छ ।

बस्ती नजिकैको गिरौँदीखोला र दरमखोलाको पानी बोकेर उपभोग गर्दै आएका हाँडीखोलावासीलाई अब दूषित पानी पिउनु पर्ने छैन । पहिले घर नजिकै प्रसस्त पानी भए पनि शुद्ध पानी पिउन नपाएको हाँडीखोला खानेपानी आयोजनाकी कोषाध्यक्ष गायत्री अधिकारीले बताउनुभयो । उहाँले गाउँमा भएका थोरै धाराबाट धेरैले पानी उपभोग गर्नु पर्दा धेरै समस्या भोगेको स्मरण गर्दै अहिले चाहेको बेला घरकै धाराबाट पानी भर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । यस गाउँमा लामो समयदेखि खानेपानीको समस्या भएको र सरोकारवाला निकायलाई समस्या समाधान गर्न आग्रह गर्दा पनि नभएको गुनासो गर्नुभयो ।

अधिकारी भन्नुहुन्छ – “हिउँद बर्खा बाह्रै महिना हामीहरुलाई खानेपानीको समस्या थियो, हिउँदमा जंगलबाट आएको पानीमा चुना मिसिन्थ्यो, त्यस्तो पानी प्रयोग गर्नु पर्ने बाध्यता थियो, बर्खामा दरमखोला नजिकैबाट पानी बोकेर खानु पथ्र्यो, खोला उर्लिएर आउँथ्यो, लर्कियो भने सिधै खोलामा पुगिन्थ्यो, निकै जोखिमपूर्ण हुन्थ्यो, अहिले घरमा धारो बन्यो, सफा पानी पिउन पायौँ, यस ठाउँका मान्छेको सबैभन्दा ठूलो समस्या पानी थियो, बल्ल समाधान भयो ।”

नेवाको १६ लाख दुई हजार ४१५, बडिगाड गाउँपालिकाको ७ लाख ६३ हजार २०४, तीन लाख ६५ हजार ८५९ जनश्रमदान र स्थानीयबाट संकलत ९० हजार रुपैयाँले गाउँमा ४२ वटा धारा निर्माण भएका छन् । तीन किलोमिटर टाढा एक्लेआँप मुहानबाट पाइपलान मार्फत हाँडीखोलामा पानी ल्याइएको छ । वि.सं. २०७९ साउन १५ गतेदेखि सुरु भएको खानेपानी आयोजना वि.सं. २०८० बैशाख २० गते सम्पन्न भएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका सामाजिक प्राबिधिक कुशल थापाले जानकारी दिनुभयो ।

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले हाँडीखोला क्षेत्रमा लामो समयदेखि खानेपानी समस्या हुँदै आएको भन्दै नेवासँग सहकार्य गरेर यस वर्ष समाधान गर्न सफल भएको बताउनुभयो । गाउँपालिकाले सबै बस्तीमा सहज खानेपानीको व्यवस्था मिलाइ रहेको उहाँको भनाइ छ । पालिकाले नेवासँगको सहकार्यमा अन्य वडाहरुमा पनि काम गरि रहेको अध्यक्ष अधिकारी बताउनुहुन्छ ।

“पानी मानव जीवनमा नभइनहुने चिज हो, जुन बिना जीवन असंभव छ, त्यसले गर्दा हाम्रो प्राथमिकता खानेपानी सस्या भएको ठाउँमा सहज रुपमा पु¥याउनु हो, सोही अनुसार हाँडीखोला क्षेत्रमा समस्या समाधान भएको छ, यस वर्ष अन्य ठाउँहरुमा पनि समाधान हुँदैछ,” अध्यक्ष अधिकारीले भन्नुभयो - “अझै पनि केही बस्तीहरुमा खानेपानीको समस्या छन्, ति बस्तीमा पनि अब छिट्टै खानेपानीको सहज व्यवस्थापन गर्छौँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?