एमेच्योर सुवासलाई सूर्य नेपालको उपाधि

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङले जित्नुभएको छ । उहाँले अन्तिम दिन ७-अण्डर ६५ को उत्कृष्ट स्कोर गर्नुभयो । समग्रमा २१-अण्डर २ सय ६७ सहित उहाँले अर्का एमेच्योर खेलाडी सद्भाव आचार्यलाई चार स्ट्रोकले हराउनुभयो ।

सुवासको यो सिजनको दोस्रो र करियरको पाँचौं प्रो उपाधि हो । उहाँले शुक्रबार प्रो र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो नाममा लेखाउँदै सिजनको अन्त्य सानदार गर्नुभयो । प्रोफेसनल गल्फरहरूले यो पटक पनि एमेच्योर खेलाडीको चुनौती पन्छाउन सक्नुभएन । राष्ट्रिय टिमका खेलाडी युवा गल्फर सदभावले १-अण्डर ७१ सहित समग्रमा १७-अण्डर २७१ को स्कोरमा दोस्रो स्थान प्राप्त गर्नुभयो । उहाँ एमेच्योरर्फ पनि दोस्रो हुनुभयो ।

धरानका नीरज तामाङले आज ४-अण्डर ६८ को स्कोर निकाले र समग्रमा १२-अण्डर २७६ सहित तेस्रो हुनुभयो । प्रोफेसनलतर्फ उहाँ पहिलो हुनुभयो । उहाँले २ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।

डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईले ४-अण्डर ६८ मा खेल सकाउँदा समग्रमा ११-अण्डर २ सय ७७ सहित चौथो स्थान प्राप्त गर्नुभयो । प्रोतर्फ दोस्रो हुदै उनले १ लाख ७० हजार प्राप्त गर्नुभयो । यो पुरस्कार राशीमा शुक्रले नम्बर एक खेलाडीको स्थानलाई जोगाउनुभएको छ । यो सिजन उनले कुल ६ लाख ३४ हजार प्राप्त गर्दै सर्वाधिक पुरस्कार हात पार्नुभयो ।

भुवन नगरकोटीले समग्रमा ५-अण्डर २८३ स्कोर गरे । अन्तिम दिनको खेल इभन-पार ७२ मा सकाउँदै भुवन पाँचौं हुनुभयो । प्रोतर्फ उहाँ तेस्रो हुनुभयो र १ लाख २० हजार प्राप्त गर्नुभयो । २-ओभर ७४ स्कोर गर्दै समग्रमा ३-अण्डर २८५ सहित दिनेश प्रजापति छैटौं हुनुभयो । प्रोतर्फ चौथो हुनुभएका उहाँले नगद एक लाख प्राप्त गर्नुभयो ।

यसैगरी समग्रमा १-अण्डर २८७ सहित तोरण विक्रम शाही सातौं हुनुभयो । उहाँले शुक्रबार इभन-पार ७२ मा खेल सकाउनुभयो । प्रोतर्फ भने पाँचांै हुँदै उनले ८६ हजार हात पार्नुभयो । ३-ओभर ७५ सहित समग्रमा १-ओभर २८९ को स्कोरमाशिवराम पौडेल आठौं हुनुभयो । उहाँले ७९ हजार नगद प्राप्त गरे । प्रोतर्फ उहाँ छैटौं स्थानमा आउनुभयो । समग्रमा २-ओभर २९० सहित जयराम श्रेष्ठले ७३ हजार प्राप्त गरे। उहाँले ४-ओभर ७७ मा खेल सकाउनुभयो । प्रोतर्फ उहाँ सातौं हुनुभयो । पूर्णप्रसाद शर्मा र राजेन्द्र थापामगरले प्रोतर्फ संयुक्तरूपमा आठौं स्थान बाँड्नुभयो । उहाँहरूले समग्रमा ३-ओभर २९१ स्कोर गर्नुभयो । उहाँहरूले जनही ६५ हजार प्राप्त गर्नुभयो ।

अन्तिम १८ होलको खेल बाँकी छँदा सुवास सद्भावभन्दा दुई स्ट्रोकले पछि हुनुहुन्थ्यो । सुवास र तेस्रो दिनका लिडर सदभावले फ्रन्ट नाइन समान ३-अण्डर ३३ मा सकाउनुभयो । दुवैले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । अन्तिम नौ होलको खेल बाँकी छँदा सदभावसँग दुई स्ट्रोकको अग्रता कायमै थियो । तर व्याक नाइनमा सद्भावले खेल बिगार्नुभयो । १६औं होलमा बर्डी प्रहार गरेपनि १०औं, १३औं र १४औं होलमा एक-एक सट खेर फाले । यता सुवासले भने १०औं देखि १३औं होलसम्म लगातार तीन बर्डी प्रहार गर्नुभयो । १४औं होलमा एक सट खेर फाले पनि ५-पारको १५औं होलमा इगलको सफलता प्राप्त गर्दै व्याक नाइन ४-अण्डर ३२ मा पूरा गरे र सहजै उपाधि आफ्नो नाममा लेखाउनुभयो ।

सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि के रायभरम, एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गर्नुभयो । प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीए नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको थियो । कुल १५ लाख २० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत शनिबार प्रो-एम प्रतियोगिता हुनेछ । कूल २५ प्रो र १०० कर्पोरेट खेलाडीले प्रतियोगितामा भाग लिनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?