✍️ निर्मलकुमार आचार्य
हो रहेछ, समय नै आउनुपर्ने रहेछ । तब त लामो समयपछि बल्ल चैत (२०७९) मा अर्घाखाँची जाने अवसर जुर्यो । मनसुबा पूरा हुँदा मन आनन्दले नाच्नपुग्यो । इतिहास, कला, संस्कृति र पुरातत्वमा बेजोड रहेछ-अर्घाखाँची । प्राकृतिक छटा, भौगोलिक विचित्रता र जैविक विविधताले त झन् सुनमा सुगन्ध थपेको देखियो ।
अर्घा र खाँची दुई अलग राज्य रहेका बखत आपसी युद्धलाई सदाका लागि बिराम तुल्याउने उद्देश्यले सन्धि गरिएको ठाउँ रहेछ-सन्धिखर्क । गाँस, बासको व्यवस्था यतै भयो । भोलिपल्ट बिहानै अर्घाकोटतिर लागियो । सन्धिखर्कमा चल्ने ट्याक्सी अर्को आकर्षणको विषय बन्यो । गाउँ-गाउँमा पुगेका सडकमा ट्याक्सीको सवारी यहाँ नौलो कुरो रहेनछ । ट्याक्सीमै सवार भई अर्घाकोटको यात्रा ‘धरमपानी’ हुँदै पूरा गरियो ।
मनोरम अर्घाकोट
आकाश छ्याङ्ग हुँदो हो त धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सौन्दर्य धीत नमरुन्जेल पिउन पाइनेरहेछ तर टाकुराका अवलोकन मात्रैले पनि कम्ती लट्ठ्याएन । ‘अर्घाकोट’ उतिखेरको राजदरबार, त्यसमुन्तिर वरपर विभिन्न जनसमुदायलाई ल्याएर बसाइएका बस्ती अहिले पनि प्राचीनगाथा सुनाइरहे झैं प्रतीत हुन्छन् । नारायण मन्दिर, भित्तामा रहेको हनुमानांगित शिला आदि हेर्दै सिँढी उक्लँदै जाँदा अर्घाकोटमा मरम्मत, सम्भार तथा निर्माणका काम भइरहेको देखियो ।
अर्घका रूपमा दही चढाउँदा त्यसबाट अलौकिक देवी प्रकट हुनपुगेकीले अर्घाभगवती भन्न थालिएको हो रे ! पवित्र भूमि भएकाले यस थलोलाई ‘अघ्र्य’ भनिएको र कालान्तरमा अपभ्रंश भई ‘अर्घा’ नाम चलेको र त्यस आधारमा अर्घा भगवती कहलाएको अर्को भनाइ पनि सुनियो ।
सिंहवाहिनी अष्टभुजा दुर्गाको विशाल मूर्ति सिँगार्ने काम भइरहेको थियो । चारैतिर पर्खाल र त्यसभित्र पुरानो राजदरबार तथा मन्दिर छ । खरखजाना राख्ने दरबार र भैरव देवस्थलको आफ्नै महत्व सुनियो । पछिल्तिर चारपाटे ढलाने बिर्कोले छोपिएको ठाउँ ऐतिहासिक रहेछ, यसलाई स्थानीय बासिन्दा राजाको चिहान भन्दारहेछन्, कतिपयका भनाइमा यो राकस (राक्षस) को चिहान हो ।
अर्घका रूपमा दही चढाउँदा त्यसबाट अलौकिक देवी प्रकट हुनपुगेकीले अर्घाभगवती भन्न थालिएको हो रे ! पवित्र भूमि भएकाले यस थलोलाई ‘अघ्र्य’ भनिएको र कालान्तरमा अपभ्रंश भई ‘अर्घा’ नाम चलेको र त्यस आधारमा अर्घा भगवती कहलाएको अर्को भनाइ पनि सुनियो । मन्दिरभित्र प्राचीन मूर्तिसँगै अर्वाचीन मूर्ति पनि छन् । मन्दिरसँगै मौलो तथा लिंगो (ध्वजो) छन् । मन्दिरका पेटीमा बिछाइएका सिंगमरमर (मार्बल) ले चाहिँ आँखा बिझाउँछन् । यस्ता प्राचीन स्थलमा परम्परागत प्रविधिकै वस्तु प्रयोग हुँदो हो त गज्जब हुन्थ्यो ‘अर्घाली राजाका काजी वैकुण्ठ बाबु रघुपति ....’ आदि उल्लिखित घण्ट पनि रहेछ । भनिन्छ, ‘वैकुण्ठ’ स्थानीय भुसालका पुर्खा हुन् ।
अर्घा भगवती र त्रिपुरासुन्दरी
संस्कृतिविद् राजेन्द्रकुमार आचार्यका अनुसार अर्घा भगवतीको सम्बन्ध डोल्पाको त्रिपुरासुन्दरी देवी मन्दिरसित छ । डोल्पामा ज्योति निभ्दा यहाँकै ज्योति लगी बालिएको भनाइ छ । अध्येता रत्नाकर देवकोटाका अनुसार डोल्पाको त्रिपुरासुन्दरी मन्दिरका पुजारी शुकदेव न्यौपानेका वंशज सर्पानन्दले अर्घाखाची गएर त्यहाँका प्रसिद्ध पण्डितसँग सिकी त्रिपुरासुन्दरी भगवतीको नित्य पूजाआजा र ‘१५ दिने बडादशैँ’ मनाउने चलन चलाएका हुन् । (प्राचीन नेपाल)
शशिधर स्वामी
अर्घाकोटको हाताबाहिर तलतिर दायाँतर्फ स्वामी शशिधरको जन्मस्थल अवलोकन गरियो । त्यहाँ बाली लगाइएको थियो, कुनै अवशेष, चिहृन चाहिं थिएन । शशिधर मरासिनी स्वामी (विसं१८०४-१९०६) उहिलेका प्रखर आध्यात्मिक व्यक्तित्व, सन्तकवि हुन् । भारतका विभिन्न तीर्थ घुमी, काठमाडौंका विष्णुमती तथा शिवपुरीमा तपस्या गरेका शशिधरले खनगुफा तथा रेसुंगा आदि स्थानमा साधना गरेको उल्लेख पाइन्छ । श्री ५ रणबहादुर शाहका गुरु थिए उनी । जनजागरणमा लाग्दा झस्किएका जंगबहादुर राणा भेष बदलेर उनीसामु आएको र अन्तर्यामी स्वामीले सहजै चिनेको प्रसंग पनि रोचक छ ।
स्वामीलाई असर्फी राखी ढोगेर जंगबहादुरले कुनै इच्छा भए सोद्धा रेसुंगा, अर्घा आदि स्थानमा आश्रम बनाउन भनिएको बयान पनि पाइन्छ । संस्कृतिविद् आचार्यका अनुसार ‘शशिधर स्वामीको जन्मस्थल अर्घा हो भने गोठ, खर्क र बसेको ठाउँ चाहिँ ‘बामरुक’ हो । उनका बारेमा विशद जानकारी जनसमक्ष ल्याउन शशिधर स्मृति प्रतिष्ठान स्थापना भएको छ भने शशिधर स्मृति ग्रन्थ प्रकाशन गर्ने तयारी भइरहेको छ ।’ नेपाली सन्तपरम्परामा उल्लेख्य भूमिका निर्वाह गर्ने शशिधर स्वामीको जन्मस्थल एकिन गरी स्मारक बनाउनेतर्फ लाग्न ढिलाइ भएको अनुभव गरियो ।
तिजु कि खल्टु (खल्लु) ?
खाँचीकोट नपुग्दा खल्लो लाग्ने भएकाले भोलिपल्ट त्यतैको बाटो तताउने सुर चल्यो । नरपानी गई राति बास बसेर भोलिपल्ट बिहानै अलि तर्पे हुँदै उकालो बाटो तताइयो । अघिल्लो दिन सन्धिखर्कबाट नरपानीतिर लाग्दा नौलो फल चाखियो । स्थानीय साथीका निम्ति त्यो कुनै नौलो फल थिएन । हलुवावेद जस्तो भनिए तापनि पङ्क्तिकारलाई स्वाद चिउरी (चिउली) जस्तो लाग्यो । फलको नामका विषयमा अर्घाखाँची र पाल्पाली साथीबीच चाहिँ दोहोरी नै चल्यो । अर्घाखाँचीमा ‘तिजु’ र पाल्पातिर ‘खल्लु’ वा ‘खल्टु’ भनिँदोरहेछ ।
अर्घाकोट झैँ खाँचीकोट पनि बडादशैँका अवसरमा गोलो घेरा बनाएर हातहतियार नचाई खेलिने ‘सराय’का लागि प्रसिद्ध रहेछ । मन्दिर तथा हातहतियारको सुरक्षाका निम्ति चाहिँ खासै प्रबन्ध देखिएन । ऐतिहासिक एवं सांस्कृतिक दृष्टिले मूल्यवान् सम्पदाको सुरक्षाका निम्ति सरोकारीको घैँटामा जोडदार घन्ट बज्नैपर्छ ।
खाँचीकोटतिर लाग्दा तिजुका बर्गेल्ती बोट देखिए, काफल पनि उत्तिकै । ‘खूब खाइयो होला नि !’ चाहिँ नठान्नुहोला, यता बेलै नभएको रहेछ कि सिनित्तिएका हुन् ?, भेउ पाइएन । काफल गेडी कुटुक्क गर्न नपाइए पनि बुटोसँग नारिएर तस्बिर चाहिँ खिचाइयो । नजिकै रहेका गुराँसका बोटले लठ्याए । भीर, पाखाका अमूल्य जडीबुटीले खूब गिज्याए ।
खाँचीकोट भगवती र दरबार
खाँचीकोटका राजाले कर उठाउने थलो माथ्लो जगात र तल्लो जगात नामले चिनिँदोरहेछ । खाँचीकोटतिर लम्कंदै वरपर नियाल्दै हिँडेका हामीलाई दायाँतर्फ तलतिर देखिने सन्धिखर्कको दृश्यले मोहित तुल्यायो । अलिबेरपछि खुड्किला उक्लन थालियो । दुवैतिर स्टिले बारको बीचमा ढलाने सिँढी थियो, यसको ठाउँमा ढुंगा बिछाइएको भए उत्तम हुन्थ्यो कि ! खाँचीकोटको हाताभित्र प्रवेशद्वारबाट पस्नासाथ मन्दिर देखियो, नजिकै जीर्ण दरबार अनि पछिल्तिर पानी राख्ने खाल्डो (सानो इनार) देखियो । मन्दिरभित्र रहेका मूर्ति, चमर, तोप, तरवार, खुँडा, खुकुरी आदिले प्राचीनता दर्शाए ।
अर्घाकोट झैँ खाँचीकोट पनि बडादशैँका अवसरमा गोलो घेरा बनाएर हातहतियार नचाई खेलिने ‘सराय’ का लागि प्रसिद्ध रहेछ । मन्दिर तथा हातहतियारको सुरक्षाका निम्ति चाहिँ खासै प्रबन्ध देखिएन । ऐतिहासिक एवं सांस्कृतिक दृष्टिले मूल्यवान् सम्पदाको सुरक्षाका निम्ति सरोकारीको घैंटामा जोडदार घन्ट बज्नैपर्छ । खाँचीकोट कालिका भगवती मन्दिरका अध्यक्ष धन केसीका अनुसार यस्तो महŒवपूर्ण स्थानमा सरकारी, गैरसरकारी कुनै क्षेत्रबाट ठोस काम भएको छैन ।
खाँचीकोटबाट ओर्लिई केही पश्चिम गई दक्षिणतर्फ लाग्ने मोडमा पश्चिमतिरको बाटोले ध्यान खिच्यो । प्युठानको दाङबाङ तथा झिमरुक जाने बाटो रहेछ त्यो । दुई, तीन घण्टा लाग्छ रे त्यहाँ पुग्न । बाटोको मुखैमा आदर्श माध्यमिक विद्यालय छ । ओर्लंदै जाँदा खाँचीकोटका राजारानीले पानी खाने पोखरी भन्ने ठाउँमा पुगियो तर त्यहाँ पोखरी थिएन । ‘राजाले पानी खाने पोखरी यही हो’ त भने तर त्यसको छेकछन्द थिएन । पुरिएको पनि धेरै भएको रहेनछ, नेतासामु निमुखा जनताले मुख खोल्न नसकेको कुरो अलिबेरमै खुलस्त हुनपुग्यो ।
बाटामा हात्ती उक्लेको छेडो पनि देखियो । संस्कृतिविद् राजेन्द्रकुमार आचार्यका अनुसार उतिबेला खाँचीकोटमा हात्ती लैजान खोज्दा यहाँ सकस परेछ, ठूलो प्रयासपछि खाँचीकोट पुर्याइएको थियो रे ! तराईको हात्ती बाँच्ला, नबाँच्ला ठेगान थिएन तर उसबखतको सोचाइ, के भनिएछ भने हात्ती बाँचे पनि मरे पनि नाम त खाँचीकोटका राजाकै हुनेछ । बाँचे खाँचीकोटका राजाको हात्ती भन्न पाइने र मरेमा खाँचीकोटका राजाले हात्ती ल्याएको कीर्ति त रहने भो नि ! क्रमशः acharya.nik@gmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच