गणतन्त्र नमान्नेहरुलाई पनि गणतन्त्रको उपभोग गर्ने अधिकार छः राप्रपा प्रवक्ता श्रेष्ठ

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गणतन्त्रको उपभोग गर्ने अधिकार गणतन्त्र नमान्नेहरुलाई पनि रहेको बताउनु भएकाे छ ।  सोमबार सामाजिक सञ्जालमार्फत उहाँले भन्कानुभएकाे छ, ‘गणतन्त्रको निर्वाध उपभोग गर्ने अधिकार गणतन्त्रवादीलाई मात्रै होइन, गणतन्त्र नमान्नेहरुलाई पनि त्यत्तिकै छ ।’

संसदमा आफ्ना सांसदहरुले उठाएका विषयलाई अन्य दलका सांसदहरुले आपत्ति प्रकट गर्नु आपत्तिजनक र संविधानविपरीत रहेको भन्दै प्रवक्ता श्रेष्ठले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र नेपालीको हकहितको रक्षाबाहेक अन्य कुनै पनि धारा अपरिवर्तनीय नरहेको संविधानसमेत संशोधन गर्न सकिने संवैधानिक प्रावधान रहेको स्मरण गराउनु भएकाे छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा ‘युद्ध अपराध’को मुद्दा चलाउनुपर्ने माग गर्दै रिट दर्ता भएको र जवाफका लागि प्रचण्डलाई बोलाएकाले प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभएकाे थियाे । यसपछि माओवादी केन्द्रका सांसदहरुले नियमापत्ति जनाउँदै शाहीको भनाइ रेकर्डबाट हटाउन माग गर्नुभएकाे थियाे  । बैठक समापनपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग माओवादीका माधव सापकोटा र लेखनाथ दाहालले शाहीको भनाइमा आपत्ति जनाउनुभएकाे थियाे । सांसद शाहीलाई संसदमा बोल्न माइक दिनु नहुनेसम्म अभिव्यक्तिपछि राप्रपा प्रवक्ता श्रेष्ठले गणतन्त्रको उपभोग गर्ने अधिकार गणतन्त्र नमान्नेहरुलाई पनि रहेको जवाफ दिनुभएकाे हाे ।

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र नेपालीको हकहितको रक्षा बाहेक अन्य कुनै पनि धारा अपरिवर्तनीय नरहेको ’संविधान’ समेत संशोधन गर्न सकिने संवैधानिक प्रावधान भुलेर केही दलका केही सांसदले राप्रपा र राप्रपाका सांसदहरुले संसदमा उठाएका राजनीतिक, सामाजिक र जनजीविकासंग सम्बन्धित विषयहरुमा आपत्ति प्रकट गर्नु आपत्तिजनक र संविधानविपरीत छ । आन्दोलन र संघर्ष मार्फत परिवर्तन गरिएको दाबी गर्नेहरूले नभुलुन्- गणतन्त्रको निर्वाध उपभोग गर्ने अधिकार गणतन्त्रवादीलाई मात्रै होइन, गणतन्त्र नमान्नेहरुलाई पनि त्यत्तिकै छ ।’ प्रवक्ता श्रेष्ठले फेसबुकमा लेख्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?