शिक्षकलाई आधुनिक शिक्षण विधि सिकाउँदै जिसन

Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको परासी क्षेत्रका निजी विद्यालयमा अध्यापनरत पूर्वप्राथमिक तहका शिक्षकका लागि तालिम सञ्चालन गरिएको छ । संस्थागत विद्यालयको संगठन जिसन नवलपरासीले आफ्ना सदस्य विद्यालयका पूर्वप्रावि तहका शिक्षकलाई तालिम दिएको हो । उक्त दुर्ईदिने तालिम उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले शिक्षकले दिने सही शिक्षा र सिकाइ विधिले बालबालिकाको भविष्य निर्धारण हुने बताउनुभयो ।

उहाँले बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्न तालिमहरू उपलब्धिमूलक हुने भन्दै तालिममा सिकेको कुरा बालकेन्द्रित विधिबाट शिक्षण सिकाइ क्रियाकलाप गर्न आग्रह गर्नुभयो ।

जिसन नवलपरासीका अध्यक्ष डम्बर गुरुङले शिक्षा विधिमा एकरूपता ल्याई बालबालिकाको बहुआयामिक विकासका लागि पूर्वप्राथमिक तहका शिक्षकलाई नयाँ र आधुनिक शिक्षण विधि थाहा हुन जरुरी रहेकाले तालिम आयोजना गरिएको बताउनुभयो ।

जिसनका सहसचिव एवं तालिम संयोजक बलिराम यादवले पूर्वप्राथमिक तहमा सिकेको कुराले जीवनमा प्रभाव पर्ने भएकाले बालबालिकालाई असल नागरिक बनाउन शिक्षकलाई तालिम दिइएको बताउनुभयो । कक्षा व्यवस्थापन कसरी गर्ने, शिक्षण विधि कुन अपनाउने, बालबालिकालाई कसरी शिक्षणतर्फ केन्द्रित गर्ने, परिमार्जित पाठ्यक्रमअनुसारको शिक्षण कार्य विधिजस्ता कुरा सिकाइने उहाँले जानकारी गराउनुभयोे ।

शिक्षकको पढाउने कलाको विकास गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न जिसनले यस किसिमका तालिम सञ्चालन गर्दै आएको जिसन नवलपरासीका उपाध्यक्ष सञ्जय ढुंगानाले बताउनुभयो । तालिममा रामग्राम, सुनवल नगरपालिका तथा पाल्हीनन्दन गाउँपालिकाका जिसनमा आबद्ध २० निजी विद्यालयका एक सय तीन शिक्षकको सहभागिता रहेको जिसनका सचिव यज्ञप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?