निर्माण व्यवसायी महासंघको आपत्ति

Read Time = 3 mins

काठमाडौं । गिट्टी, बालुवा, ढुंगा, माटोलगायतका निर्माण सामग्री उत्खनन्, ओसारपसारलगायतमा पछिल्लो समयमा देखिएको समस्याप्रति नेपाल निर्माण व्यवसायी महासंघले चिन्ता प्रकट गरेको छ । विगतमा पनि पटक–पटक नदी तथा खानीजन्य निर्माण सामग्री उत्खनन्मा देखापर्ने समस्याले निर्माण उद्योग आक्रान्त रहेकोमा यसपटक पनि सोही समस्या दोहोरिएको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव रोशन दाहालद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न शक्ति केन्द्रको आडमा निश्चित समूहविशेषले मात्र यस्ता खानीहरू सञ्चालन गर्दै आइरहेकाले यी उद्योगको वैज्ञानिक तथा व्यावहारिक समस्या समाधान हुन सकेको छैन । यी उद्योगबाट उत्पादित निर्माण सामग्रीको कृत्रिम अभाव र कालोबजारी भई निर्माण व्यवसायी तथा आमउपभोक्ताले उच्च मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।’

नदी तथा खानीजन्य सामग्री उत्पादन, उत्खनन् र संकलन रोयल्टी निर्धारण विभिन्न स्थानीय निकायले बिनामापदण्ड अनुचितरूपले फरक-फरक गर्ने गरेको भन्दै महासंघले रोयल्टी मापदण्ड संघीय सरकारद्वारा नै निर्धारण गरिनुपर्ने जनाएको छ । साथै निर्माण सामग्रीको ‘क्यारी जोन’ राज्यबाटै तोक्न र उचित मूल्य निर्धारण गर्न पनि माग गरेको छ । इन्धनसहित निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण परियोजना अघि बढाउन समस्या भइरहेको वर्तमान अवस्थामा गृह मन्त्रालयबाट जारी निर्देशनले निर्माण उद्योगलगायत आमउपभोक्तामा गम्भीर असर परेको महासंघको भनाइ छ ।

गिट्टी, बालुवा, माटो, ढुंगालगायतका निर्माण सामग्री उत्खनन्मा समस्या देखिए चालु निर्माण परियोजनाको लागत र समय बढ्ने भन्दै महासंघले परियोजनास्थल र सोसँग सम्बद्ध क्षेत्रमा रहेको नदी तथा खानीजन्य निर्माण सामग्रीको परियोजनाले उपभोग गर्न प्रयोग गरिएका उपकरणसमेत सञ्चालन गर्न प्रतिबन्ध लगाइएकोप्रति पनि आपत्ति जनाउँदै निर्माण उद्योग प्रतिकूल रहेका सबैखाले समस्या तत्काल अन्त्य गरी निर्वाधरूपमा निर्माण व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?