संसदीय समितिको सभापति चयन आज

उद्योग समिति सभापतिका लागि खान र पराजुलीबीच प्रतिस्पर्धा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको निर्वाचन आज हुँदैछ । १० वटा समितिको सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ ।

संघीय संसद् सचिवालयका अनुसार ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको हो ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसले तीन, एमालेले दुई, माओवादी, राप्रपा, नेकपा एस, जसपा र जनमत पार्टीबाट एकएक समिति सभापतिमा उम्मेदवारी परेको छ ।

कांग्रेसका सांसद आरजु राणा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र रामहरि खतिवडाले सुशासन समितिको र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यस्तै एमालेका सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको सभापति र किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिमा उम्मेदवारी दिनुभएको छ ।

सत्तारूढ दल माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार र जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यसैगरी एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, राप्रपाका दिपक सिंहले पूर्वाधार विकास र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ ।

संसदीय समितिमा भाग नपाएपछि संसदको चौथो ठूलो दल रास्वपाबाट गणेश पराजुलीलाई उद्योग समितिमा उम्मेदवार बनाइएको छ ।

उक्त समितिमा सत्ता साँझेदार र प्रमुख प्रतिपक्षी दलका साझा उम्मेदवार जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

उद्योग तथा वाणिज्य समितिमा प्रस्तावकहरूले प्रस्तुत गर्ने र समर्थकहरूले प्रस्तावमा समर्थन जनाएपछि मतदान हुने छ। संसदीय समितिहरूले कानून निर्माणका साथसाथै सरकारका काम कारबाहीको निगरानी गर्ने गर्छन् ।

प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई डाकेर समितिहरूले प्रष्टीकरण लिन पाउँछन् भने सरकारको कामको निगरानी गर्ने गर्छन् । प्रतिनिधिसभाको चुनाव भएको नौ महिनापछि संसदीय समितिले पूर्णता पाउन लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?