कोरियामा भीषण बाढी, पचास जनाको मृत्यु

Read Time = 3 mins

सोल । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य सातजना बेपत्ता भएका छन् । मंगलबार बिहान डुबेको बसबाट त्यसका चालकसहित चारजनाको शव निकालिएको थियो । सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो ।

ग्याङसङ प्रान्तमा चौतीस जना घाइते भएका छन् । देशभरका बाढीपहिरामा परी देशभर ५० जनाले ज्यान गुमाएका योनहाप समाचार समितिले जनाएको छ ।

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू-भाग डुबानमा परेका छन् । आपत्कालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य सातजनाले ज्यान गुमाएका बताएका छन् । गत साता पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

जुलाई ९ देखि मध्य र तल्लो क्षेत्रमा पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । गोञ्जु र दक्षिण चुङचेओङ प्रान्तमा छ सय २६ मिलिमिटर, छेउङयाङ नजिकैको काउण्टीमा ६१४ मिलिमिटर, सेजोङको मध्य शहरमा ५८० मिलिमिटर र उत्तरको मुङयोङ र ग्योङसाङ प्रान्तमा ५२२ मिलीमिटर वर्षा भएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा सातजना बेपत्ता छन् । बाढीका कारण घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको संख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट आइतबार राति सातवटा शव निकालिएको थियो ।

अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका दश हजार ५७० जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको संख्या ७८९ पुगेको छ भने निजी सम्पत्तिको पनि व्यापक नोक्सानी भएको छ । ३५२ वटा निजी सम्पत्तिमा बाढीले क्षति भएको, १४६ वटा सडक भत्किएका तथा १३९ घर बगेका योनहाप समाचार समितिले जनाएको छ । एघार हजारभन्दा बढी बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?