‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री दाहालको बुझाई संसदीय मान्यता विपरित छ : सुवाष नेम्वाङ

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवाष नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गर्नु भएको छ ।

प्रचलनमा ल्याएको बेलायती मोडलको संसदीय मान्यता र परिपार्टी भित्र सरकारको बजेट, नीति तथा कार्यक्रम संशोधन गर्न नमिल्ने भएकाले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति ठिक नभएको उहाँको भनाई थियो ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उपनेता नेम्वाङले बजेट संशोधन गर्ने मान्यता नभएकै कारण संसदमा सांसदहरुले खर्च कटौतिको प्रस्ताव राख्ने प्रावधान राखिएको र सो प्रस्ताव पारित भए सरकार ढल्ने मान्यता रहेको स्पष्ट पार्नु भयो । तर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट संसदमा संशोधन हुन नसक्ने उपनेता नेम्वाङले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘संशोधन हुँदैन भन्ने छ । अव त्यसबारेमा फरक फरक कुराहरु आईराखेको अवस्था छ । तर भर्खरै होला । यहाँहरुले नै सूचना प्रवाह गर्नु भएको प्रधानमन्त्रीज्यूले बालुवाटारमा बैठक नै राखेर संशोधन गरेर बजेटमा म सबैको चित्त बुझाउँछु भनेर गठबन्धनमा साथीहरुले यो बजेट जस्ताको तस्तै पास हुँदैन भनेर भन्नु भएको छ । यो परिप्रेक्ष्यमा यसबारेमा गम्भिर छलफल चल्नु राम्रै हो । तर जहाँसम्म मान्यता, परिपार्टीको कुरा छ । हामीले संसदीय प्रणाली वेष्ट मिनिष्टर प्रणालीलाई नै पछयाएका छौं । त्योसँग नजिक रहेका सबैजसो देशहरुमा यो बजेटहरु, नीति तथा कार्यक्रमहरु संंशोधन गर्दैनन् । त्यही भारतमा पनि छ । कतिसम्म भन्दा अर्थ विधेयकहरुमा तपाईले ती भारतमा हेर्नु भयो भने पाउनु हुन्छ अहिले पनि अर्थ विधेयकमा संशोधन हाल्नु प¥यो भने राष्ट्रपतिको पूर्व स्विकृति चाहिन्छ । तपाईहरुलाई म सम्झना दिलाऊ–नेपालमा पनि त्यही प्रक्रिया छिरेको हो । २०४७ को संविधान हुँदा अर्थ विधेयकमा संशोधन हाल्नु प¥यो भने राजाबाट पूर्व स्विकृति चाहिन्थ्यो । त्यसैले यो बजेटलाई संशोधन गर्ने प्रक्रिया छैन । तपाईलाई म अझै बताई दिऊ । हाम्रो बजेटमा नियम बमोजिम बजेट विनियोजन विधेयककै रुपमा आउँछ । विनियोजन विधेयकले बजेटलाई बोक्छ । तर, त्यो विनियोजन विधेयकमा संशोधन हैन । सांसदहरुले त्यसप्रति असहमती व्यक्त गर्न खर्च कटौतिको प्रस्ताव राख्छन । हामीले देखिराखेका छौं–अहिले खर्च कटौतिको प्रस्तावलाई लिएर छलफल भईरहेको छ । र, हामी कुन मान्यतामा छौं त भन्दा खर्च कटौतिको प्रस्ताव पास भयो भने सरकारको बजेट फेल भयो । र, सरकार ढल्छ भन्ने मान्यतामा हामी चलिराखेका छौं । त्यसैले बजेटमा परिवर्तन हुँदैन भनेर भनिन्छ । र, हामी छलफल गरिरहेका छौं । र, प्रधानमन्त्रीजीले त बालुवाटारमा बैठक गरेरै सांसदहरुलाई, देशलाई आश्वस्त तुल्याउनु भएको छ । अव प्रधानमन्त्रीजीले नै म संशोधन गर्छु भन्नु हुन्छ भने त हामी प्रतिपक्षले त नाई भन्ने कुरै भएन । हामी त यो बजेटनै ठिक छैन भनिराखेको । साह्रै भेदभावपूर्ण छ । साह्रै असन्तुलित छ । हिजो आफैंले राखेका जुन नीति, कार्यक्रम छन । त्यो नीति, कार्यक्रम बोक्ने बजेट भएन भनेर भनिराखेकाहरु यो बजेटमा आमूल परिवर्तन गर्नु पर्छ त हामी भनिराखेकै छौं । तर मान्यताको कुरा गर्नु हुन्छ भने नीति, कार्यक्रम र बजेट सरकारले जे ल्यायो नि । त्यसमा संशोधन गरिदैन ।’

उपनेता नेम्वाङले बजेट परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा आफ्नो पार्टी रहेपनि त्यसलाई संशोधन गर्न भने मिल्ने परिपार्टी नभएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?