बोरिस र शिभालीलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु-१४ सिंगल्समा शुक्रबार स्वर्ण जित्नुभएको छ । बोरिस ब्वइज तथा शिभाली गल्र्समा पहिलो हुनुभयो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा बोरिसले वृजेश अर्याललाई ६-२ र ७-६ को सोझो सेटमा पराजित गर्नुभयो । गल्र्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई सिधा सेटमा ६-० र ६-१ ले सहजै हराउनुभयो ।

राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको सर्वाधिक पुरस्कार राशीको टेनिस प्रतियोगिताअन्तर्गत यु-१६ सिंगल्सको ब्वाइजमा शंकर हैस्नान र गल्र्समा सुनिरा थापा पहिलो हुनुभयो । फाइनलमा शंकरले राजवीर प्रधानलाई ४-६, ६-४ र ६-१को सेटमा पाखा लगाउनुभयो । सुनिराले शिभालीलाई दोहोरो स्वर्ण जित्नबाट रोक्न ६-२, ५-७ र ६-१ को नतिजामा विजयी हुनुभयो ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष डबल्समा अकी जुवेन रावत र आरभसम्राट हाडाको जोडी पहिलो बन्नुभयो । उक्त जोडीले फाइनलमा प्रणव खनाल र अभिनव आचार्यको जोडीलाई ६-३ र ६-४ को सोझो सेटमा पन्छाउनुभयो ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा मोहम्मद युनुसले रोहित सुनुवारलाई ६-४ र ६-२ले निराश पार्दै स्वर्ण जित्नुभयो । ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले राजु श्रेष्ठमाथि ६-० र ६-२ को सहज जित दर्ता गर्दै शीर्षस्थान हात पार्नुभयो ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्रीले कमलबहादुर भण्डारीलाई ६-७, ७-५ र १०-५ तथा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दावा सोनाम शेर्पालाई ६-२ र ६-०ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गर्नुभयो । प्रतियोगिताको अन्तिम दिन शनिबार उक्त स्पर्धाको फाइनलसँगै पुरुष/महिला सिंगल्सको पनि फाइनल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?