संवैधानिक प्रक्रिया बाहिरबाट कोशीको नाम परिवर्तन हुँदैन : ओली

‘प्रदेशको बजेट पैतृक सम्पत्ति जसरी विनियोजन गरियो, प्रतिवाद हुन्छ’

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढंगले कोशी प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको छ । आइतबार सातै प्रदेशमा पार्टीका तर्फबाट निर्वाचित प्रदेश सांसदहरूसँग भर्चुअल बैठकमा उहाँले कोशी प्रदेशमा साम्प्रदायिक र हिंसात्मक गतिविधि भएको बताउँदै एमालेले नस्वीकार्ने बताउनुभएको हो । ‘संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढंगले नाम परिवर्तन नहुने र साम्प्रदायिक, हिंसात्मक र अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने बताउनुभयो, ‘प्रचार विभागले विज्ञप्तिमार्फत भनेको छ, ‘उहाँले कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधान गरिने र नेकपा (एमाले) नेतृत्वको सरकार कायम रहने कुरामा जोड दिनुभयो ।’

अध्यक्ष ओलीले देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्नेमा स्वार्थ प्रेरित भएको टिप्पणी गर्नुभएको थियो । ‘बजेट विनियोजन पैतृक सम्पत्ति जस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको छ । यसरी बजेटको दुरुपयोग गर्नु आपत्तिजनक कुरा हो,’ ओलीले भन्नुभएको थियो ।

अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन दिनुभएको छ । बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन आग्रह गरेको गगन विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । ‘हाम्रो पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले सातै प्रदेशको प्रस्तुति सुन्दा कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको देखिन्छ भन्नुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा बताइएको छ ।

बैठकमा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेल, लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरी, गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटका बारेमा जानकारी गराउनुभएको थियो ।

वामदेव एमालेमा फर्कन तयार
पूर्वउपप्रधान तथा गृहमन्त्री एंव नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेमा समाहित हुन तयार हुनुभएको छ । समाजवादी मोर्चामा सहभागी हुने चर्चा भइरहँदा नेता गौतम भने एमालेमा समाहित हुन तयार हुनुभएको हो । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको जानकारी दिँदै राष्ट्रियसभाका सांसदसमेत रहनुभएका गौतमले भन्नुभयो, ‘एमाले अध्यक्ष ओली र मबीच पहिलो चरणको छलफल भयो । आफ्नो पार्टीका नेता कार्यकर्ता कसरी व्यवस्थापन गर्नुहुन्छ ? पहिला त्यसबारे मोडल तय गरौँ त्यसो भएपछि हामी आउँछौँ भनेर भनेँ ।’ गौतमले नेकपा एकता राष्ट्रिय अभियानमार्फत आफ्ना राजनीतिक गतिविधि गर्दै आउनुभएको छ । नेकपा विभाजनसँगै गौतम नेकपा एकता अभियान नामक पार्टी गठन गर्नुभएको थियो । पार्टी र अभियान प्रभावकारी नभएपछि एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीसँग निरन्तर संवादमा रहनुभएका गौतम सत्ता पक्षले समाजवादी मोर्चा बनाउने निश्चित भएपछि एमालेमा समाहित हुन तयार हुनुभएको हो । एमालेले ७० वर्षे उमेरहदको प्रावधान निलम्बन गरेसँगै गौतम एमाले प्रवेश गर्न उत्साही हुनुभएको हो ।

‘म पहिल्यै आउन खोजेको थिएँ’
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुग्नुभएका वामदेव गौतमले एक घण्टा लामो छलफल गर्नुभएको छ । आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको दाबी गर्दै गौतमले भन्नुभयो, ‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरूको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको छैन । आगामी चुनावमा ६० लाख भोट कटाउने गरी काम गर्नुपर्छ ।’ अध्यक्ष ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गर्नुभएको छ ।

एमालेको जेठ १९ गते बसेको सचिवालय बैठकले विधानको धारा ८९ मा रहेको ७० वर्षे उमेरहद निलम्बन गर्ने निर्णय गरेको छ । दुनियाँका उमेर हदको व्यवस्था कतै नभएको र प्रगतिलाई रोक्ने भएकाले हटाइएको अध्यक्ष ओलीले बताउनभुएको छ । एमालेले उमेरहद फुकुवा गरेपछि पार्टीमा फर्कन वामदेव उत्साहित भएको नेताहरूले बताएका छन् । यसअघि ओली र गौतमबीच दुईपटक भेटवार्ता भएको थियो । कुराकानीमा राष्ट्रियसभाका सदस्यसमेत रहनुभएका गौतमले उमेरहद हटाउन भन्दै आउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?