पुस्तक : ‘असमान पहाडहरू’ ओझाको कवितासङ्ग्रह

सुशीला घिमिरे
Read Time = 7 mins

‘असमान पहाडहरू’ कविताको किताब हो र यसका कविको नाम हो घनेन्द्र ओझा । पुस्तक सानो आकारमा छ । यस्तो आकार वा साइजलाई स्ट्यान्डर साइज वा पकेट साइज भन्ने गरिएको छ । वास्तवमा कविताका किताबहरू यस्तै साना साइजमा भए भने छिटो छरितो किसिमले पढ्न सकिन्छ । यो पुस्तक पनि यस्तै एकै बसाइमा पढिसकिने खालको छ । प्रकाशक पनि कवि ओझा आफैँ भएको यस पुस्तकको वितरक कन्दरा पब्लिकेसन काठमाडौं रहको छ । २०७८ साल मंसिरमा प्रकाशित भएको यस पुस्तकको पहिलो संस्करणमा १ हजारप्रति छापिएको छ । भूमिका खण्डमा २४ र पाठ्य खण्डका समेत गरी पुस्तक ९६ पृष्ठको छ । यसको मूल्य व्यक्तिगत रूपमा १५० रुपैयाँ र संस्थागत रूपमा ३०० रुपैयाँ छ ।

एनी टाइम प्रेस बुद्धनगर काठमाडौंमा मुद्रण भएको यस पुस्तकको छपाइ स्तरीय छ । अशुद्धिहरू भने कतै कतै भेटिन्छन् । पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । पुस्तकको आवरण प्रसिद्ध कलाकार रमेश पौडेलले तयार पार्नुभएको छ । आवरणमा नीलो पृष्ठभूमिमा आकाश, हिमाल पहाड र तराई जस्तो देखिने अमूर्त कला प्रयोग भएको छ । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक राखिएको छ जसमा ‘असमान’ जति नीला र सेता मिश्रित पानी रङमा छ भने ‘पहाडहरू’ जति पहेंला रङमा छन् । तल मझौला आकारमा पँहेलो रङमा कविको नाम ‘घनेन्द्र ओझा’ भनेर राखिएको छ ।

यस सङ्ग्रहका अधिकांश कविताहरू समसामयिक राजनीतिप्रति लक्षित छन् । राजनीतिक विद्रुपताको चित्रण, व्यंग्य, विद्रोहको भावना, कतै कतै क्षीण आशा र थोरै मायाप्रेममा आधारित कविताहरू पनि रहेका छन् । ओझाका कवितामा संवेदना, विरह, वेदना, करुणा, प्रेमलगायत भावना छन् ।

पृष्ठआवरणमा फोटोसहित कविको परिचय दिइएको छ । जसअनुसार कवि २०३७ सालमा सुभाङ पाँचथरमा बद्रीप्रसाद ओझा र गीता ओझाका सुपुत्रका रूपमा जन्मिनुभएको जानकारी पाइन्छ । स्नातकोत्तर गरी प्राध्यापन र पत्रकारिता पेशामा संलग्न रहनुभएको पनि यहीँबाट थाहा हुन्छ । ओझाका एकल र सहलेखन गरी मौलिक एक दर्जन जति र केही सम्पादित कृतिहरू प्रकाशित भएको पाइन्छ । उहाँका गजलका पुस्तकहरूका साथै कवितासङ्ग्रह प्रकाशित छन् र उहाँले केही संयुक्त लेखन पनि गर्नुभएको जानकारीसमेत यही पृष्ठबाट पाउन सकिन्छ ।

उहाँको अङ्ग्रेजीमा पनि कलम चल्छ भन्ने कुरा उहाँको एउटा पुस्तक अङ्ग्रेजीमा पनि प्रकाशित रहेको जानकारी दिइएबाट पुष्टि हुन्छ । मौलिक रचनाका साथै गजल सिद्धान्त पनि उहाँले लेख्नुभएको छ । उहाँबाट सम्पादन भएका पुस्तकहरूमा पनि धेरैजसो गजलसम्बन्धी पुस्तक नै रहेका छन् । उहाँको संलग्नता रहेका संस्थाहरूको नाम पनि यहाँ दिइएको छ । यस पृष्ठको तल वितरक संस्थाको कन्दरा पब्लिकेसनको लोगोसहित नाम दिइएको छ ।

पुस्तकको भूमिका खण्डमा महेश पौड्यालको ‘असमान पहाडहरू’ माथि हृदयको आरोहण’, भोजराज घिमिरेको ‘असमान पहाडहरू’ को पहिलो पाठकको शुभकामना’, कवि ओझाको ‘केही गनगन आफ्नै लेखनीबारे’ र कन्दरा पब्लिकेसनको तर्फबाट बद्रीप्रसाद ओझाको ‘शुभकामना’ रहेका छन् । त्यसपछि समर्पण रहेको छ र यहाँ ‘जीवनसाथी राधा तथा आँखाका दुई नानीहरू दीक्षान्त र शुभुमा’ भनिएको छ । त्यसपछि विषयसूची रहेको छ ‘कविताक्रम’ भनेर । पुस्तकमा २१ वटा कविता समावेश भएका छन् ।

कविताको बाहृय पक्ष हेर्ने हो भने कविताका शीर्षक एक शब्ददेखि पाँच शब्दसम्मका छन् । एक शब्दको पाँचवटा, दुई शब्दका ११ वटा, तीन शब्दका ४ वटा र पाँच शब्दको एउटा कविता छन् । यस सङ्ग्रहमा समावेश गरिएका कविताहरू मझौला आयामका छन् । दुई पृष्ठदेखि पाँच पृष्ठसम्मको आयामका कविताहरू यस सङ्ग्रहमा समावेश गरिएका छन् । पुस्तकको अन्तिम पृष्ठमा ‘हार्दिक आभार मेरा रचनाहरू पढिदिनु भएकोमा । अब आपूmलाई लागेका कुराहरू पनि भनिदिनुभए कृतज्ञ हुनेछु । तपाईको घनेन्द्र ओझा’ भनिएको छ ।

यस सङ्ग्रहका अधिकांश कविताहरू समसामयिक राजनीतिप्रति लक्षित छन् । राजनीतिक विद्रुपताको चित्रण, व्यंग्य, विद्रोहको भावना, कतै कतै क्षीण आशा र थोरै मायाप्रेममा आधारित कविताहरू पनि छन् । ओझाका कवितामा संवेदना, विरह, वेदना, करुणा, प्रेमलगायत भावना छन् । वर्तमान पुस्ताका मानिसहरूमा रहेको डाहा, इष्र्या र मानिसले मानिसप्रति गर्ने ठगी, छलकपट आदिको सग्लो चित्र पुस्तकमा समावेश कवितामा रहेको पाइन्छ ।

उहाँको ‘अभागी नेपाली’ शीर्षकको कविताको सानो अंश प्रस्तुत गर्दै यो छोटो आलेखको बिट मार्छु ।
ऋणैऋणले थला परेका बाआमा
ऋणै ऋणले जीर्ण बनेको झुप्रो
ऋणै ऋणले कुच्चिएका भाँडा वर्तन
ऋण बोक्न नै भित्रिएकी वधू
ओहो सम्झिँदा यी सबै
अवाक् बन्छ परदेशी ।
कवि ओझाबाट यस प्रकारका अन्य पुस्तकहरू पनि आउने नै छन् । उहाँलाई अग्रीम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?