सडकले नास्यो गाउँकाे सौन्दर्य : सुविधा भन्दा सास्ती धेरै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । असार सुरु भएको छ । मनसुन सक्रिय नभएकोले पानी परेको छैन । कतै बाढी आउने र पहिरो जाने गरेको पनि छैन । तर,यहाँका ग्रामीण सडकहरुमा अहिलेदेखि नै राम्रोसँग यातायातका साधनहरु संचालन हुन सकेका छैनन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही गाउँपालिकाको वडा नं ५ मा पर्ने देविस्थान गाउँमा जाने सडकमा यातायातका साधन नगुडेको डेढ महिना भयो । सामान्य वर्षा हुँदा समेत बाटो विग्रिए पछि दरवाङबाट चारघण्टा पैदल हिंडेर स्थानीय जाउआउ गर्न वाध्य भएका देविस्थानका प्रेम सिउथानी मगरले बताउनुभयो ।

गाउँपालिका तथा नगरपालिकाबाट बजेट पारेर निर्माण भएका धेरै सडकको अवस्थ यस्तै रहेको दरवाङकाा व्यवसायी अमृत सापकोटाको भनाइ छ । उहाँले गाउँपालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी भने नचल्दा आफूहरुले सास्ती खेप्नु परेको बताउनुभयो । उपभोत्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएको हुँदा गाडी गुड्ने खालको नभएको सापकोटाको भनाइ छ ।

डेढ दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो । वस्तीहरु मोटरबाटोले जोडिएका थिएनन् । सदरमुकाम बेनी बजारबाट गाउँ उक्लिन घोडा चढ्नु पथ्र्यो वा पैदलै हिड्नु पथ्र्यो । भारी बोक्ने भरिया र घोडा खच्चडको बथानले बाटो नै गुलजार हुन्थे ।
तर अहिले जिल्लाका ६ स्थानीय तहका ४५ वडामध्ये ४४ वटा वडाका प्रत्येक टोलटोलमा सडक पुगेको छ । जिल्लाको धवलागिरि गाउँपालिका १ गुर्जा वाहेक जिल्लाका सबै वडाका वस्ती वस्तीमा सडक पुगेको छ । स्थानीय स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा परेको सडक अहिले नपुगेको गाउँनै छैन ।

विगत पाँच वर्षको अवधीमा संघ,प्रदेश र स्थानीय तहको बजेटबाट जिल्लाका ६ वटा स्थानीय तहमा ७४ वटा ग्रामीण सडक निर्माण भएका पूर्वाधार कार्यालय एवम् स्थानीय तहहरुको तथ्याङक छ । ती सडकहरुमा करोडौं रुपैयाँ खर्च भएको छ । सडकले ग्रामीण जनजीवनमा विकास र परिवर्तन त ल्याएको छ, त्योसँगै पाकृतिक श्रोतहरुको बिनास पनि उत्तिकै गरेको छ ।

ग्रामीण सडकका कारण ऐतिहासिक र पुरातात्विक सम्पदाहरु नासिँदा बर्खाको समय ति सडकमा ठूला–ठूला पहिरो जाँदा मानवीयसँगै भौतिक सम्पत्तिको ठूलो क्षति भइरहेको छ । बिना इन्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकरात्मक असर पु¥याइरहेको छ । सडकका कारण पछिल्लो समय पानीका मुहान सुक्ने, मौलिक सम्पदा मासिनुका साथै कतिपयलाई घरबारविहीन समेत बनाइ दिएको छ ।

जिल्लाका ६ वटै पालिकामा हरेक वर्ष सडक निर्माणमा करोडौँ बजेट खर्च हुन्छन् तर सडक गुणस्तरीय हुँदा यातायातका साधान चल्दैनन् । ग्रामीण क्षेत्रका धेरैजसो सडकमा हिउँदमा गाडी गुडे पनि वर्षा सुरु भए पछि गाडी चल्न सक्दैनन् । गाडी नगुड्दा स्थानीय पहिलेकै जस्तै पैदल यात्रा गर्नु पर्छ भने दैनिक उपभोग्य सामान पनि बोकेरै ल्याउनु पर्ने बाध्यता छ ।

“जिल्ला सदरमुकाम बेनी बजार र नगरपालिका क्षेत्रमा मात्रै होइन,पाँच वर्ष अघिसम्म निकै दुर्गम र अनकण्टार मानिने ठाउँहरुमा समेत अहिले सडक पुगेको छ” बेनी बजारका नैनकुमार श्रेष्ठले भन्नुभयो “सडकले गाउँका जनतालाई सुविधा पनि दिएको छ र सास्ती पनि । वर्खाको समयमा सडककै कारण बाढी पहिरोको जोखिम बढेको छ भने गाडी नचल्दा जोखिम मोलेर पैदल यात्रा गर्नु पर्ने वाध्यतामा जनता छन् ।”

त्यसैगरी मालिका गाउँपालिका ६ का ५१ वर्षिय टेकबहादुर विकले सडकले सुविधा भन्दा पनि प्राकृतिक श्रोतहरुको विनास र बढि सास्ती दिएको बताउनुभयो “गाउँमा खनिएका सडको अवस्था निकै कमजोर छ । साँघुरा र जोखिमयुक्त हुँदा गाडी चल्दैनन्, गाउँको तल्लो क्षेत्रसम्म गाडी आए पनि माथिल्लो क्षेत्रमा वर्खामास गाडी पुग्न सक्दैनन्” उहाँले भन्नुभयो “चाहिएको बेलमा गाडी चढ्न पाइँदैन तर सडककै कारण कैयौंले खेतबारी र घर समेत गुमाउनु परेको छ ।”

रघुगंगा गाउँपालिका ६ का डेकबहादुर शेरपुंजाले सडकले गाउँलेलाई धेरै सुविधा दिएको बताउँदै गाउँका खेतबारी,मठ मन्दिर र चौतारी पोखरीहरुको भने नास भएकोमा आफूलाई चिन्ता लागेको बताउनुभयो ।

“सडकका कारण बजारको सेवा सुविधा गाउँमा त आएको छ । तर, सडकले विकाससँगै गाउँमा ठूलो विनास पनि निम्त्याएको छ । अव्यवस्थित रुपमा निर्माण भएका सडकमा हिउँदमा गाडी गुडे पनि बर्खाको समय ठप्प हुने र पहिरोले बस्ती नै बगाउँदा भने गाउँमा सडक किन खनिएछ जस्तो लाग्छ” शेरपुंजाले भन्नुभयो ।

आवश्यकताभन्दा बढी गाउँमा सडक खनिए पछि सडकभन्दा तल पट्टीका धेरै बस्ती बाढी र पहिरोका जोखिममा परेका स्थानीयको भनाइ छ । “सडक खनिनुभन्दा पहिला गाउँ निकै रमाइला र हराभरा थिए, अहिले सडकले गर्दा उराठिलो बनेका छन्” बेनी नगरपालिका २ का नारायण शर्माले बताउनुभयो ।

म्याग्दीमा बेनी–जोमसोम–कोरला,बेनी–दरवाङ,बेनी–मालढुङ्गा र बेनी–बागलुङ सडक खण्डको स्तरोन्नतिको काम भइरहेको छ । त्यसैगरी बेनी–बगरफाँट–सुर्केमेला–बरंजा,बेनी–अर्थुङ्गे–घतान लगाएतका ग्रामीण सडकको स्तरोन्नति र कालोपत्रेको काम पनि हुँदै छ । तर,अधिकांश ग्रामीण सडकहरु भने जीर्ण वन्दै गइरहेका स्थानीयको गुनासो छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजकुमार थापाले अव्यवस्थित रुपमा निर्माण भएका सडकले गाउँको सुन्दरता नासिदै गएकोले अब ग्रामीण सडक निर्माणमा निश्चित मापदण्ड पुरा गरेर मात्र काम गर्न दिइने बताउनुभयो । अहिले सबै पालिकालाई सडक निर्माण गर्दा इन्जिनियरिङ गरेर मात्रै निर्माण गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?