गुल्मीका ३२ वडामा कृषिको क्षेत्र विस्तार

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीमा कृषिको लागि जोन/सुपरजोन क्षेत्र विस्तार गर्न लागिएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी बाह्र स्थानीय तह रहेको यस जिल्लाका ९३ वडामध्ये ३२ वडामा कृषिको लागि थप क्षेत्र विस्तार गर्न सिफारिस गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सम्पन्न जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले यहाँ सञ्चालित जोन तथा सुपरजोन कार्यक्रम अन्तर्गत कफी, सुन्तला, बाख्रा र मकैलगायतको क्षेत्र विस्तारका लागि परियोजना व्यवस्थापन एकाइ खुमलटारमा सिफारिस गरिएको कार्यालय प्रमुख गंगाकुमारी पोख्रलले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख पोख्रेलका अनुसार मकै जोनका लागि यस जिल्लाका आठ वडामा थप क्षेत्र विस्तार गर्न लागिएको छ । जसमा मुसिकोट नगरपालिका-२, ३ र ४, चन्द्रकोट गाउँपालिका-४, छत्रकोट गाउँपालिका-३ र ५, गुल्मीदरबार गाउँपालिका- ३ र ४ मा थप क्षेत्र विस्तार गर्नका लागि सिफारिस गरिएको छ । विगतमा १८ वडामा मकै जोन लागु भएको थियो ।

सुन्तलाजात फलफुल जोनका लागि १२ वडामा थप क्षेत्र विस्तारका लागि सिफारिस गरिएको छ । जसमा चन्द्रकोट गाउँपालिका-२, ३ र ४ कालीगण्डकी गाउँपालिका-१, ४ र ७, सत्यवती गाउँपालिका-८, छत्रकोट गाउँपालिका-१ र २, रुरुक्षेत्र गाउँपालिका-४, गुल्मीदरबार गाउँपालिका-१ र रेसुङ्गा नगरपालिका-१४ मा क्षेत्र विस्तार गर्न लागिएको छ । सुन्तलाजात फलफुल जोन क्षेत्र विगतमा २४ वडामा लागु भएको थियो ।

त्यसै, कफी सुपरजोनका लागि तीन वडामा थप क्षेत्र विस्तारका लागि सिफारिस गरिएको छ । कालीगण्डकी गाउँपालिका-३ र ४, चन्द्रकोट गाउँपालिका-६ मा कफीको क्षेत्र विस्तार गरिने भएको छ । कफी सुपर जोन विगतमा ४२ वडामा लागु भएको थियो ।

बाख्रा जोनका लागि नौ वडामा थप क्षेत्र विस्तार गर्नका लागि सिफारिस गरिएको छ । जसमा मालिका गाउँपालिका-५ र ८, मदाने गाउँपालिका-४ र ७, इस्मा गाउँपालिका-१, २ र ३ तथा धुर्कोट गाउँपालिका-४ र ५ मा क्षेत्र विस्तार गर्न लागिएको छ । विगतमा बाख्रा जोन १० वडामा लागु भएको कार्यालय प्रमुख पोख्रेलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?