सिमा नाकामा कडाइ संगै आवतजावतमा कमी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयमा कडाइ गरेसंगै सर्वसाधारणको आवतजावतमा कमी आएको छ ।

असार ५ गते देखि भारतीय बजारबाट भित्र्याउने एक सय रुपैयाँको सामानमासमेत भन्सार उठाउन सुरु गरे पछि सिमा नाकामा सर्वसाधारणको आवतजावतमा कमी आएको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धि बहादुर चुडालले बताउनु भयो । उहाँले भन्नुभयाे- 'आज ५ दिन भो हामीले सिमा नाकामा कडाइ गरेको । अहिले कडाइ गरे पछि दैनिक आवतजावत गर्ने सर्वसाधारणको सख्यामा ७० प्रतिशतले कमी आएको छ ।'

नेपाल भारतको सिमाना भारतीय बजारबाट नेपाल आउने हरेक सामानमा भन्सार कडाइ गरिएको छ । भन्सार कार्यालयले सूचना नै निकालेर नेपाली एक सय रुपै‌या भन्दा बढिका सामानमा पनि भन्सार उठाइएको चुडालकाे भनाइ छ । भारतबाट बिना भन्सार नेपालमा सामान आउँदा राजस्व न्यून उठ्ने गर्दछ । अहिले सरकारले लिएको एक सय रुपैया मुल्य बराबरको सामानमा पनि भन्सार लिग्ने निर्णयले सीमावर्ती क्षेत्रमा हुने अबैध कारोबारलाई निरुत्साहित भएको छ ।

नेपाली उपभोक्ताहरुमा सिमा नाकामा रहेको भारतिय बजारमा सस्तो सामान पाइने भन्दै नेपाली उपभोक्ताहरु सिमा नाकामा जाने गरेको उद्योग वाणिज्य संघका केन्द्रिय सल्लाहकार गुणानिधी तिवारीले बताउनु भयो । उहाँले नेपाल भारतको सिमा नाकाको बजारमा भारतबाट दैनिक उपभोग्य सामानहरु नेपाल आउँदा नेपाली बजार सुकेको बताउनु भयो ।

त्यस्तै चेम्बर अफ कमर्स नवलपरासीका अध्यक्ष चन्द्र ज्योति बस्यालले भन्सार कार्यालयले लिएको अहिलेको निर्णय स्वागत योग्य रहेको बताउनु भयो । उहाँले भन्नुभयाे- 'भन्सार कार्यालयले अहिले गरेको निर्णय एकदमै स्वागत योग्य र साकारात्मक रहेको छ । जसले गर्दा नेपाली व्यवसायीहरुको व्यापारमा राम्रो हुन्छ ।' अहिले सिमावर्ती क्षेत्रमा रहेको भारतिय बजारमा नेपाली उपभोक्ताहरुले साइकल, मोटरसाइकल, इरिक्सा, अटोलगायत सवारी साधनहरु लिएर जाने क्रम रोकिएको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?