कञ्चनरूप राइनोज र बजाज खडक वारियर्स फाइनलमा

हिमालय टाइम्स
Read Time = 5 mins

सप्तरी । कञ्चनरूप राइनोज सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको पाँचौँ संस्करणको फाइनलमा पुगेको छ । उपाधिका लागि उसले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको बजाज खडक वारियर्ससँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणका सम्पूर्ण खेलहरू समाप्त हुँदा बजाज खडक वारियर्स पाँच खेलमा चार जितपछि आठ अंकसहित शीर्षस्थानमा रहृयो । कञ्चनरूप राइनोज, छिन्नमस्ता लायन्स र रूपनी राइडर्सको समान ६ अंक रहे तापनि नेट रनरेटमा अघि रहँदै कञ्चनरूप फाइनल प्रवेश ग¥यो । छिन्नमस्ता तेस्रोे, रूपनी राइडर्स चौथो स्थानमा रहे । बलान बिहुल चार अंकसहित पाँचौँ स्थानमा रहँदा डिफेन्डिङ च्याम्पियन राजविराज द किङ जितविहीन रहँदै पुछारमा रहृयो ।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा आइतबार सम्पन्न जित्नैपर्ने खेलमा कञ्चनरूप राइनोजले बजाज खडक वारियर्सलाई ३ विकेटले पराजित गर्‍यो । लिगको अन्तिम खेलमा वारियर्सले दिएको ६३ रनको लक्ष्य राइनोजले ७ विकेट गुमाउँदै १२.१ ओभरमा पूरा गर्‍यो ।
कञ्चनरूपको ब्याटिङमा राशिद खानले सर्वाधिक ३२ रन योगदान दिनुभयो । जुन क्रममा उहाँले २५ बलमा १ चौका र ३ छक्का प्रहार गर्नुभयो । खराब सुरुवात गरेको राइनोजले २१ रन बनाउँदा ६ विकेट गुमाएको थियो । उक्त अवस्थामा आठौँ नम्बरमा ब्याटिङ गर्दै राशिदले टिमलाई जितसम्म पुर्‍याउनुभयो । वारियर्सका बलर दिनेश अधिकारीले ४ विकेट लिए तापनि जित्न पर्याप्त रहेन ।

यसअघि टस हारेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले १४.३ ओभरमा ६२ रनमा सबै विकेट गुमायो । वारियर्सका लागि विशाल सुस्लिङले सर्वाधिक २४ रन बनाउनुभयो । कञ्चनरूपको बलिङमा प्लेयर अफ द म्याच घोषित राशिद खानले ४ विकेट लिनुभयो । जुन क्रममा उहाँले ४ ओभरमा मात्र १२ रन खर्चिनुभयो । पप्पु यादवले २ तथा चित्र विष्ट, नारायण जोशी र सुमित श्रेष्ठले १/१ विकेट लिनुभयो ।

आइतबार नै सम्पन्न पहिलो खेलमा छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई २६ रनले पराजित गर्‍यो । १२५ रनको लक्ष्य पछ्याउने क्रममा बलान बिहुलले १६.४ ओभरमा ९८ रनमा सबै विकेट गुमायो । बलान बिहुलका लागि कप्तान पवन सर्राफले सर्वाधिक २५ रन योगदान दिनुभयो । छिन्नमस्ताका बलर नितेश यादवले सर्वाधिक ३ विकेट लिनुभयो । जुन क्रममा उहाँले ४ ओभरमा १९ रन खर्चिनुभयो । यादव प्लेयर अफ द म्याचसमेत घोषित हुनुभयो । यस्तै, रेवती रे र पप्पु यादवले २/२ तथा कमल खत्री र शरद भेसवाकरले १/१ विकेट लिनुभयो ।

यसअघि टस हारेर ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२४ रन बनायो । उसका लागि कप्तान शरद भेसवाकरले सर्वाधिक ४७ रन बनाउनुभयो । उहाँले अविजित रहँदै ४३ बलमा ५ चौका र १ छक्का प्रहार गर्नुभयो । शुभ कंसाकारले २० तथा राहुल मण्डलले १४ रन बनाउनुभयो । बलान बिहुलका बलर रूपेश सिंह र रोविन सिंहले २/२ तथा बसिर अहमद, पवन सर्राफ र विकास दासले १/१ विकेट लिनुभयो ।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ, उपविजेताले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, प्लेयर अफ द सिरिजले २५ हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र बलरले १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गर्ने संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?