घोराही सिमेन्ट आइपिओ प्रकरण : सेटिङमा सञ्चालक, दबाबमा बोर्ड

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओे) माथि अहिले सबैको आँखा परेको छ । सर्वसाधारणको ठूलो रकम यसमा फसिसकेको छ । नेपाल धितोपत्र बोर्डले (सेवोन) ले कम्पनीको काम कारबाही रोक्का गरेसँगै अहिले यसलाई खुलाउन कम्पनीका सञ्चालकहरू भित्रभित्रै चलखेलमै लागिरहेका छन् । आइपिओ विवादमा तानिएको कम्पनीको पछिल्लो समय बिभिन्न गैरकानुनी गतिविधिहरू पनि सार्वजनिक भइरहेका छन् । कम्पनीले विदेशी कम्पनीसँग नक्कली बिलमार्फत करोडौँ रुपैयाँको कारोबार गर्ने गरेको तथ्य पनि सार्वजनिक भइरहेका छन् । तर, पनि यसलाई कारबाही गर्ने निकायहरू भने अनुसन्धानमै रहेका छन् । जसले गर्दा कम्पनीका सञ्चालकहरूको मनोबल बढ्दै गएको छ भने लगानीकर्तामा निराशा बढ्दै गएको छ ।

आइपिओ विवाद टुंग्याएर कम्पनीलाई चोख्याउन सञ्चालकहरू नेपालदेखि भारतसम्म धाइरहेको स्रोतले जनाएको छ । किनभने कम्पनीलाई आइपिओ निकाल्न स्वीकृत दिने केयर रेटिङ नेपाल लिमिटेडको माउ कम्पनी केयर रेटिङ इण्डिया हो । जसबाट पनि कम्पनी सुरुबाटै सेटिङमा चलेको र सेटिङमै आइपिओ निष्कासन गरिएको प्रष्ट देखिन्छ । केयर रेटिङ नेपालको सञ्चालकहरूमा मेहुल पाण्डेय, डा. विनोद आत्रेय, नेहुल शाह र भरतप्रसाद रहनुभएको छ भने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अचिन निरवानी हुनुहुन्छ । निरवानीले लामो समयसम्म केयर रेटिङ इण्डियामा काम गर्नुभएको थियो । त्यहाँ काम गर्दा निरवानीको सम्बन्ध त्रिवेणी ग्रुपका सञ्चालक पुरुषोत्तमलाल संघाईसँग भएको थियो । उहाँहरूबीचको त्यो सम्बन्ध अहिले पनि कायम छ । त्रिवेणी ग्रुपका अन्य सञ्चालकहरूले नेपालमा नै बसेर कम्पनीको विभिन्न कारोबारहरू हेर्ने गर्छन् । पुरुषोत्तमलाल संघाईले भने भारतमा बसेर नेपालको व्यापार हेर्दै आउनुभएको छ । यसअर्थमा घोराही सिमेन्टको आइपिओ प्रकरणमा संघाईले दिल्लीमा नै बसेर केयर रेटिङ इण्डिया समेतको सेटिङमा बदनियतपूर्ण रेटिङ दिएको प्रष्ट हुन्छ । हुन पनि कम्पनीका अध्यक्ष पुरुषोत्तमलाल संघाई र कम्पनीका निर्देशक आदित्य संघाईले सार्वजनिक रूपमै आइपिओबाट उठेको रकमले बैंकको कर्जा भुक्तानी गरेर कम्पनीको ऋण र ब्याजको भार कम गर्ने र त्यसपछि कम्पनीले कमाएको सबै आम्दानी सेयरधनीलाई वितरण गर्ने बताउनुभएको थियो ।

फर्जी बिलमार्फत करोडौँ रकम भारत पठाइँदै
यस इण्डष्ट्रीका सञ्चालकहरूले भारतमा बसेर नेपालमा कारोबार गर्ने मात्र नभई नेपालबाट करोडौँ रकम नक्कली बिलमार्फत भारत लगिरहेको पनि खुल्न आएको छ । कम्पनीले भारतका आशिष ट्रान्सपोर्ट र अमित ट्रेडिङमार्फत करोडौँ रुपैयाँको कारोबार गरिरहेको खुलासा भएको हो । हिमालय टाइम्सलाई प्राप्त विवरणअनुसार घोराही सिमेन्टले लामो समयदेखि यी दुई भारतीय कम्पनीसँग कारोबार गरिरहेका छन् । जसमा यसले करोडौँको राजस्व पनि छली गरेर सरकारको आँखा छलिरहेको छ ।

यी दुई कम्पनीले भारतमा ट्रान्सपोर्टको काम गरिरहेका छन् । तर, भन्नुपर्दा दुवै कम्पनी घोराही सिमेन्टको भगिनी कम्पनी हो । यी दुई कम्पनीमा यसले नेपालबाट भारतमा सहज तरिकाबाट पैसा पठाइरहेको छ । तर, रोचक कुरा के छ भने यी कम्पनीमा रकम पठाउँदा घोराही सिमेन्टले प्यान र भ्याटको प्रयोग गरेको छैन । यसले साधारण कम्युटर प्रिन्टका भरमा कारोबार गरिरहेको छ । जुन अवैध हो । कम्पनीले जारी गरेको बिलमा कम्पनीको दर्ता नम्बरसम्म उल्लेख गरिएको छैन ।

छानविन जारी छ, समितिको प्रतिवेदन केही दिनमै आउँछ : बोर्ड
यता, धितोपत्र बोर्डले भने छानविन समितिले द्रुत गतिमा काम गरिरहेको जनाएको छ । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाका अनुसार घोराही सिमेन्टको आइपिओ विवादका कारण दाबब बढेकाले चाँडैभन्दा चाँडै प्रतिवेदन सार्वजनिक गर्ने गरी काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘घोराहीको कारण अन्य नयाँ आउने सेयरहरूसमेत प्रभावित पर्ने हुँदा बोर्डले विशेष निगरानीका साथ काम गरिरहेको छ । छानविन समितिले एक/दुई दिनभित्र प्रतिवेदन सार्वजनिक गर्छ ।’

यस्तै, उहाँले यो एउटा विकृति भएको भन्दै प्रमाणित भए अन्यलाई समेत सबक हुने गरी कारबाही गर्ने बताउनुभयो । प्रमाणित भएर पनि यसलाई उन्मुक्ति दिइयो भने यस्ता घटना फेरि पनि बढ्ने देवकोटाले बताउनुभयो । यस्तै, स्रोतका अनुसार अहिले घटना मिलाउन अर्थ मन्त्रालयमार्फत बोर्डलाई दबाब आइरहेको छ ।

घोराही सिमेन्ट इण्डष्ट्रीले यही जेठ ३२ गते सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको थियो । कम्पनीले हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमार्फत ६९ लाख ११ हजार ६७० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा प्रिमियमबापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँ अन्तिम मूल्यमा उक्त परिमाणमा साधारण सेयरको बिक्री खुला गरेको थियो । कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही असार ४ गते र ढिलोमा असार १४ गते बन्द हुने पूर्वनिर्धारित कार्यतालिका थियो । तर, नेपाल धितोपत्र बोर्डले सेयरको बिक्री निष्कासनमा अनियमितता भएको आशंकामा तत्कालको लागि स्थगन गरेपछि घोराहीको विवाद उत्कर्षमा पुगेको हो ।

घोराही सिमेन्टको विवाद यसको उद्योग स्थापनादेखि नै हुँदै आएको छ । जुन विवाद अझै टुंगिएको छैन । यसको उद्योग दाङ उपमहानगरपालिका-४ मा रहेको बस्ती बीचमा स्थापना गरिएको छ । जसले गर्दा मानवीय स्वास्थ्यमा असर परिरहेको गुनासो यहाँका स्थानीयले लामो समयदेखि गर्दै आएका छन् । अर्कोतर्फ वातावरण प्रतिकूल बन्दा यहाँका पानीका मुहान सुक्न थालेका छन् भने अन्नबालीसमेत उब्जाउ कम हुन थालेको गुनासो स्थानीयले गरिरहेका छन् । वातावरण प्रदूषणसम्बन्धी स्थानीयवासीसँगको विवाद अदालतसम्म पुगेको थियो । उच्च अदालत दाङले समेत उद्योगलाई वातावरण प्रदूषण हटाउन र वातावरण विभागले तय गरेका मापदण्ड पालना गर्दै तोकिएका उपकरणहरू जडान गर्न आदेश दिएको थियो । तर, उद्योगले अहिले पनि कुनै मापदण्ड पालना नगरेको स्थानीयहरूले बताउँदै आएका छन् । स्थानीयले उद्योग स्थानान्तरणको माग गर्दै आए पनि उनीहरूको मागको सुनुवाइ हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?