सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ खनियाखर्कको जुनार बगैंचामा किरा नियन्त्रणको लागि स्प्रे गर्दै स्प्रेकर्ता । 

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । सिन्धुलीको जुनार बगैंचामा प्रोटिन-वेट छिट्न सुरु गरिएको छ । जुनारमा लाग्ने औंसा कीरा व्यवस्थापनका लागि प्रोटिन-वेट छिट्न सुरु गरिएको हो ।

यसले जुनार तथा सुन्तलाजातका फलफूलमा लाग्ने औंसा कीरा व्यवस्थापन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख यम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रोटिन वेट विषादीयुक्त हुन्छ । जुनारको फल कुहाउने औंसा नियन्त्रणको लागि छरिएको हो । प्रोटिन वेटमा किरा आकर्षण हुन्छ, यसले प्रोटिन वेट सँगसँगै विषादी पनि खान्छ र किरा मर्छ । त्यसैले जुनारको फलमा अण्डा पार्न सक्नैन, जसले गर्दा किराको औंसा विकास हुँदैन र फल जोगाउन सक्छौँ ।”

यतिबेला बोटमा जुनारको फल गुच्चा आकारको भएको छ । प्रोटिन-वेट बगैंचाको प्रत्येक तीन बोट बराबर एक बोटको कुनै एक छेउमा छर्कने गरिएको छ । जुनार बगैंचामा प्रोटिन-वेट छिट्न स्प्रेकर्तालाई तालिम दिएर बगैंचामा खटाइएको छ । यतिबेला स्प्रेकर्ता आफ्नो स्वास्थ्य सुरक्षाको लागि सावधानी अपनाउँदै जुनार बगैंचामा प्रोटिन-वेट छरिरहेको देख्न सकिन्छ ।

फलेका तीन बोट मध्ये एक बोट जुनारको निश्चित ठाउँमा चिन्ह लगाई एक भाग प्रोटिन वेटमा दुई भाग पानी मिसाएर तयारी प्रोटिन-वेटको घोल साताको एकपटक १० सातासम्म स्प्रे गर्नुपर्ने हुन्छ ।

सात वर्ष अघिदेखि जुनार फल कुहाउने कीराको प्रकोप नियन्त्रणका लागि विषादी छिट्ने गरिएको छ । प्रोटिन-वेट विषादी छिटेपछि जुनारको दाना कुहाउने तथा औंसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स नियन्त्रणमा आएको जुनार कृषक नारायण सापकोटाको भनाई छ ।

उहाँले अघिल्लो वर्ष दुई सय बोटको जुनार बिक्री गरेर पाँच लाख आम्दानी गर्नु भएको थियो । कृषक सोपकोटाको बगैँचामा अहिले तीन सय ५० वटा जुनारका बोट छन् । जुनार बगैँचाभित्र लसुन, प्याजलगायत तरकारीजन्य खेति पनि गर्नुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनको तथ्यांकलाई आधार मान्दा सिन्धुलीमा हाल एक हजार ५० हेक्टरमा जुनारको व्यावसायिक खेति भइरहेको छ । जिल्लाको गोलन्जोर, सुनकोशी, फिक्कल, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाको वडा नम्बर-३ जुनारको पकेट क्षेत्र हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?