बजारमा माग बढेपछि जुनेलो र फापरको खेती गर्दै किसान

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् ।

जिल्लाको मंगला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन् ।

पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्तै बढेको छ । विशेषगरी सहरिया उपभोक्ताको दैनिक उपभोग्य वस्तुको रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ । त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन् । दुई/चार वर्ष अघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुको रूपमा हेरिन्थ्यो, त्यसले खेती पनि क्रमशः कम हुँदै गएको थियो । तर, पछिल्लो समय माग बढ्दै गएपछि खेती बढाएको मालिका गाउँपालिका वडा नं २ का किसान टेकबहादुर विकले बताउनुभयो ।

पश्चिम म्याग्दीका प्रायः सबै गाउँहरुमा जुनेलो र फापर खेती हुने भए पनि पछिल्लो समय किसानहरुले खेती गर्न छोडेका थिए । तर विगत पाँच वर्षयता बजारमा जुनेलो, फापर, भाँगो र रातो सिमीको माग बढ्दै गएपछि किसानहरुले अरु बाली छोडेर बजारमा विक्रीहुने र राम्रो मूल्य पाइने भाँगो,जुनेलो र फापरको खेती विस्तार गरेका विकले जानकारी दिनुभयो ।

“केही वर्ष अघिसम्म जुनेलो खासै बिक्री हुँदैन थियो, त्यसैले खेती गर्न छोडेका थियौं, तर अहिले घरमै खरिद गर्ने व्यापारी आउने गरेका छन्” विकले भन्नुभयो । विकलगायत रुमका प्रायः सबैले भाँगो, जुनेलो र फापर खेती गरेका छन् । जुनेलो बजारमा प्रतिपाथी रु चार सयका दरले विक्री हुने उहाँले बताउनुभयो ।

त्यसैगरी फापरको पनि बजारमा माग बढेको छ । विशेषगरी उपभोक्ताले तिते फापर खोज्ने भएकोले किसानले पनि तिते फापरकै खेती बढाएका छन् । पहिले पहिले गाउँघरमा सागको लागि तिते फापर खेती गर्ने गरेको किसान बताउँछन् । तर, पछिल्लो समय बाली लिनकै लागि खेती सुरु गरिएको मंगला गाउँपालिका ५ की गोमा रोकाले बताउनुभयो । “हाम्रो बारीमा पहिले तिते फापर फल्दैन थियो,” रोकाले भन्नुभयो “आफैंले खाजामा रोटी खानका लागि मिठे फापर लगाइन्थ्यो ।”

दुई वर्षयता मिठेको साटो तिते फापरको खेती गर्न थालेको उहाँले बताउनुभयो । “घट्टा वा मिलमा पिँधेको फापरको मिठोसंँग चामल साटिन्छ,” उहाँले भन्नुभयो “बजारमा पनि फापरको उच्च माग रहेको छ ।”

गाँउमा उत्पादन भएको फापर एक पाथीको दुईसय देखि तीनसय रुपैयाँ सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?