रूपन्देही । नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गरी श्रीलंकन नागरिकलाई नेपाल भ्रमणको निम्तो दिने उद्देश्यले सिद्धार्थ होटल संघ नेपाल (सान)को टोली नेपाल–श्रीलंका सेल्स मिसन २०२३ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको छ । यही असार १२ देखि १७ सम्म संघको आयोजनामा श्रीलंकामा हुने कार्यक्रममा नेपाल पर्यटन बोर्ड प्रवद्र्धकका रूपमा रहेको छ । पर्यटन प्रवद्र्धनका लागि श्रीलंकाको क्यान्डी र कोलम्बोमा हुने कार्यक्रममा सहभागी हुन नेपाली टोली श्रीलंका प्रस्थान गरेको आयोजक सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।
श्रीलंकाका दुई शहरमा हुने कार्यक्रममा त्यहाँका ट्राभल एजेन्सीहरूसँग बिजनेस टु बिजनेस (बिटुबी) हुनेछ । सुरुमा असार १३ गते क्यान्डीमा कार्यक्रम र बिटुबी हुनेछ । जहाँ श्रीलंकाका ५० बढी ट्राभल एजेन्सी, टुर अपरेटर र नेपाली पर्यटन व्यवसायीको सहभागिता रहनेछ । बिटुबीमा नेपाली व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीसहित मुलुकका पर्यटकीयस्थलको प्रचारप्रसार, टुर प्याकेज बनाउन आग्रह गर्नुका साथै टुर अपरेटरमार्फत् श्रीलंकाका नागरिकलाई नेपाल भ्रमणको निम्ता दिनेछन् । त्यहाँ नेपाली टोलीले विशेष समारोहमा सम्बोधन गर्नेछन् भने भिडियोमार्फत् नेपालको पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
असार १६ गते कोलम्बोमा हुने कार्यक्रममा त्यस क्षेत्रका पर्यटन व्यवसायी, टुर अपरेटर, श्रीलंकाका पर्यटनमन्त्री, सरकारी उच्च अधिकारी, श्रीलंकाका लागि नेपाली राजदूत, नेपाली पर्यटन व्यवसायीबीच अन्तरक्रिया हुनेछ । त्यहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, संघका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष किशोर जोशी, श्रीलंकाका पर्यटनमन्त्री, पर्यटन व्यवसायीले आ-आफ्नो देशको पर्यटकीय क्षेत्रको प्रवद्र्धनात्मक सम्बोधन गर्नेछन् । विशेष कार्यक्रममा बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, कुदानलगायत बुद्धिष्ट क्षेत्रसँग सम्बन्धित र मुलुकभरका पर्यटकीयस्थलबारे तयार पारिएको भिडियो डकुमेन्ट्री देखाइने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । साथै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय र लुम्बिनीस्थित श्रीलंकन बिहारका भन्ते भिक्षु नन्द श्रीले लुम्बिनी र नेपालको पर्यटकीयस्थलबारे भिडियो सन्देश दिनुहुनेछ ।
श्रीलंकाका प्रधानमन्त्री दिनेश गुनावरदेना, पर्यटनमन्त्री, उच्च सरकारी अधिकारीलाई भेटेर नेपाली टोली त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, पर्यटनमन्त्रीलगायतलाई नेपाल भ्रमणको निम्ता दिनुका साथै प्रधानमन्त्रीलाई बुद्धमूर्ति मायाको चिनोस्वरूप प्रदान गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकाबाट दैनिक उडान गर्न आग्रह गर्ने कार्यक्रम रहेको छ ।
संघका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘पर्यटनका लागि कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण मानिन्छ, यदि श्रीलंका-भैरहवा दैनिक उडान हुने हो भने लुम्बिनीमा मात्रै वार्षिक १० लाख श्रीलंकन आउँछन्, लुम्बिनीसहित मुलुकका पर्यटकीयस्थलको प्रचारप्रसारसँगै गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि पहल गर्नु पनि यो सेल्स मिसनको उद्देश्य हो ।’
संघका उपाध्यक्ष जोशीले अन्तर्राष्ट्रिय जगत्मा जति प्रचारप्रसार गर्न सकियो, त्यति नै लुम्बिनीलगायत गन्तव्यमा पर्यटक भित्र्याउन सकिने बताउनुभएको छ । जोशीका अनुसार कोरोनाअघि नेपालमा वार्षिक एक लाखभन्दा बढी श्रीलंकन पर्यटक आउँथे । लुम्बिनीमा मात्रै कोरोनाअघि वार्षिक ३० हजार श्रीलंकन पर्यटक आउँथे तर कोरोनापछि घटेका छन् । टोलीमा १८ जना सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच