ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले नै स्पष्टिकरण लिनुपर्छः प्रेम सुवाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टिकरण लिनुपर्ने माग गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले सो माग गर्नु भएको हो । त्यसैगरी उहाँले सो प्रकरणमा मुछिएका मन्त्रीहरु र अन्य कर्मचारीहरुलाई पनि संसदको सार्वजनिक लेखा समितिले स्पष्टिकरण लिन उपयुक्त हुने बताउनु भयो । सांसद सुवालले सरकारी जग्गा बेचविखनमा संलग्नहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा १४३ रोपनी ६ आना अर्थात १३ अर्व ७६ करोड रुपैयाँ बराबरको हिनामिनामा केही पूर्व अधिकारीहरु पक्राउ परेका छन । २०७८ पुस ६ गते जग्गा हिनामिनाको आरोपी २२० जना विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जि जारी भएकोमा सरकारी वकीलको कार्यालयले ४ दिन पछि अनुसन्धान नटुंगिएको भनि फिर्ता पठाइएको थियो । गिरोहले २०४९ सालदेखि २०६७ सालसम्ममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिगराई बेचविखन गरेको, यसमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु समेत संलग्न भएको सार्वजनिक भयो । यस विषयमा संसदले पूर्व प्रधानमन्त्रीहरुलाई संसदमै स्पष्ट गर्न लगाउन जरुरी छ । र अन्य पूर्व प्रधानमन्त्री, मन्त्रीहरुलाई सार्वजनिक लेखा समितिले समेत ध्यानाकर्षण गर्न जरुरी छ । ’

सांसद सुवालले सो जग्गा प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने काममा सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?