‘सामाजिक सञ्जालमा सीमित असार १५ र भावी पुस्ता’

Read Time = 8 mins

✍️ गोविन्द मरासिनी

‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा असारलाई लिइन्छ । आज किसानका लागि अझ विशेष दिन असार १५ । आजको दिन किसानका लागि महत्वपूर्ण छ । हुन त किसान असार १५ भन्दा अगाडि-पछाडि धान रोप्छन् तर, यस दिनलाई किसानले विशेष मान्ने गरेका छन् । आजको दिन रोपाइँसँगै दही-चिउरा खाने चलन रहेकाले दही-चिउरा खाने दिनसमेत भन्ने गरिन्छ । खेतीपातीको हिलोमैलोले शरीर थाक्ने हुँदा ऊर्जा प्राप्त गर्न दही र चिउरा खाँदा शक्ति प्रदान हुने भएकाले बाँकी खेतीपाती पनि सजिलै सम्पन्न हुने विश्वाससमेत गरिन्छ ।

नेपालले विसं २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउन थालेपछि यस दिनको चर्चा थप चुलिएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । गाउँघरमा धान रोप्ने चटारो छ, झमझमी पानीको कुनै प्रवाह नगरी किसान पेशामा तल्लीन छन् । अहिले कृषि पेशा नआग्लेका र अन्य पेशामा विभिन्न शहरमा बस्ने युवामा पनि वालापन वा युवा अवस्थामा खेतमा हिलोसँग खेल्दै रोपाइँमा झुमेका याद ताजै छन् । गाउँघरमा रोपाइँमा रमाउँदै असारे भाका गुञ्जने गर्दथ्ये परिवर्तित समाज र कृषि पेशा अगाल्नेहरूको अन्य पेशामा मोह हुँदा यो पेशा नै कताकता हराउँदै जाने खतरा पैदा भएको छ ।

नेपालमा कृषि पेशा अगाल्नेहरूको संख्या धेरै भए तापनि खेत रोप्ने र अर्मपर्म गर्नेमा युवाको संख्या कम छ । युवाहरुको विदेश पलायन, खेतीपाती र कृषिप्रतिको अरुचिकै कारण भविष्यमा यो पेशा संकटमा पर्ने खतरासमेत नहोला भन्न सकिन्न । समयमा वर्षा नहुनु, वर्षा हुँदा अत्याधिक वर्षा भएर बाढीपहिरोका कारण किसानले धेरै हैरानी सहनु पर्ने, समयमा बीउबिजन नपाइनु, समयमा मलखाद नपाउनु र गाउँघरमा युवाशक्ति नहुने, श्रम समस्याका कारण हाम्रो कृषि क्षेत्र दिनप्रतिदिन ओरालो लाग्दै छ । सरकारले असार १५ लाई धान दिवसको रूपमा घोषणा गरे किसानलाई हौसला प्रदान गर्न खोजेको भए तापनि वर्षेनी किसानले धान रोप्ने समयमा समेत मल नपाउनु अर्को प्रमुख समस्या बनिरहेको छ । जनसंख्याको अनुपात बढ्नु तर उत्पादनमा भने खानाको मुख्य बाली धान, मकै, गहुँ, जौ, कोदो, भटमास उत्पादनको मात्रा बढ्न नसक्नुले कृषि प्रधान देश नेपालले केही दशकयता नेपालको मुख्य खाद्यबाली मानिएको धान र चामल विदेशी मुलुकबाट आयात गर्ने गरिरहेको छ । देशमा कृषि पेशामा युवाको सहभागिता नहुनु र राज्यले यस पेशाप्रति युवालाई आकर्षण गर्न नसक्दा भावी दिनमा युवाहरुले धान दिवस र असार १५ को महत्वप्रति नै गम्भीर संकट पैदा नहोला भन्न सकिन्न ।

शहरमा भने असार १५ हिलो खेल्ने र सामाजिक सञ्जालमा तस्वीरहरु राख्ने कल्चरको रूपमा विकसित हुँदैछ । आजकै दिन सरकारी अधिकारी र उच्च पदस्थ व्यक्तिदेखि शहरी क्षेत्रमा बसोवास गर्नेहरू पनि ‘हिलो छुन’ भन्दै खेतमा खुट्टो हाल्न पुग्छन् । यसअघिका असार १५ मा सरकारी कार्यक्रममा उच्च पदस्थ व्यक्तिले गरेका हर्कतसमेत समाजमा नकारात्मक सन्देश छरेको प्रष्ट छ । आजको दिनमा पनि खाली समाजमा देखाउन र कृषि पेशाप्रति राज्यको देखावटी तदारुकता देखाउन, सामाजिक सञ्जाल, युट्युब र मिडियाहरूमा देखिनकै लागि भए पनि हिलोमा पुग्ने, किसानसँग दही-चिउरा खाने परम्परा व्याप्त छ । वर्षभरिका किसानका दुःख सुन्नुको सट्टा एकदिन फोटो खिचाएर सामाजिक सञ्जालमा पोष्टाउने जमातले किसानका वास्तविक समस्या र उनीहरूका गुनासालाई सुनिदिने हो भने, धान दिवस मनाउने नाममा असार १५ मा खेतसम्म पुग्नु पर्दैनथ्यो ।

पछिल्लो समय समाजमा सामाजिक सञ्जालको प्रभाव बढ्दो छ । आजभोलि हामी सबै स्मार्ट छौं । सबैको हात-हातमा स्मार्ट फोन छन् । असार १५ को दिन खेतमा जाने दही-चिउरा खाने र हिलो छ्याप्नेमात्र असार १५ को परम्परा हो कि भन्ने भ्रम नै नयाँ पुस्तामा परिसकेको छ । हामी र हाम्रो पुस्तासम्मलाई असार १५ को वास्तविक महत्व थाहा छ । भोलिका नयाँपिढीले यसको महत्व र संस्कृतिलाई कसरी बुझ्लान् ? प्रश्न उब्जिएको छ । ‘दूध के ले दिन्छ ? भन्दा डेरीले’ भन्ने आजको नयाँ पुस्ताले भोलि आउने अझ नयाँ पुस्ताले ‘असार १५ को के महत्व छ ? भनेर सोध्यो भने, हिलो खेल्ने र सामाजिक सञ्जालमा राख्ने’ भनेर नबुझ्लान् भन्न सकिन्न ।

त्यसो त असार १५ का नाममा गरिँदै आएका सबै क्रियाकलाप युवा र नयाँपुस्तालाई नकारात्मक सन्देश व्यक्त गर्ने खालका मात्र छन् भन्न खोजेको होइन । पछिल्लो समय विदेशी पर्यटकहरूलाई समेत असार १५ को महत्व दर्शाउन पर्यटकलाई नै यस कार्यक्रममा सहभागी गराउनेहो भने निकै सकारात्मक छ । यसले नेपालको संस्कृतिलाई देश तथा विदेशमा समेत सघाउ पुर्‍याउँछ । तर, असार १५ को नाममा खेतमा पुगेर छोटा लुगा लगाएर अंग प्रदर्शन गर्ने, अस्वभाविक हिलो खेल्ने र समाजमा अपाच्य हुने खालका गतिविधिले भने असार १५ को महत्व र मर्मको धज्जी उडाइरहेको छ । (लेखक युवा पत्रकार हुन्)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?