दीपेन्द्र र वर्षा उत्कृष्ट वर्ष खेलाडी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 8 mins

धनगढी । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’को वर्ष खेलाडी घोषित हुनुभएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना शुक्रबार धनगढीमा सम्पन्न अवार्डमा दुवैजनाले उक्त अवार्ड हात पार्नुभएको हो ।

दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड हात पार्नभएको हो । दीपेन्द्रले गतवर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्‍याउनुभएको थियो । साथै उहाँ गतवर्ष टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने र एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्ने खेलाडीसमेत बन्नुभएको थियो ।

यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा गतवर्ष नेपाललाई पहिलो पटक यु १५ साफ च्याम्पियनसिपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उहाँ उमेर समूह वा सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको उपाधि खडेरी तोड्दै हृयाटिकसहित ५ गोल गर्ने खेलाडीसमेत हुनुहुन्छ ।

गतवर्ष नेपाली यु १५ टोलीले साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्धको जित हात पार्दा उहाँले निर्णायक गोल गर्नुभएको थियो । उहाँले गतवर्ष यु १७ साफ च्याम्पियनसिपमा ३ गोलसमेत गर्नुभएको थियो । यस्तै उहाँ एफसी छनोटका सबै खेल खेल्दै गोल गर्ने नेपाली खेलाडीसमेत हुनुहुन्छ ।

यस्तै सुदूरपश्चिम वर्षको अवार्ड युवा खेलाडी क्रिकेटका हेमन्त धामीले जित्नुभयो । धामीले भारोत्तोलनका हेमन्त पाल र क्रिकेटकी अनु कडायतलाई पछि पार्नुभयो । हेमन्तले गतवर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पुराउन उत्कृष्ट प्रदर्शन गर्नुभयो ।

यस्तै वर्ष प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमटाले हात पार्नुभयो । टमटाले गतवर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पुर्याउनुभएको थियो । उहाँ ८ वर्षपछि नेपाललाई यु १९ विश्वकपमा कमब्याक गराउने प्रशिक्षक हुनुहुन्छ । उहाँले नेपाली महिला क्रिकेट टोलीलाई कतारविरुद्धको सिरिज जिताउनुभएको थियो । उहाँले कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतमलाई पछि पार्नुभयो ।

सुदूरपश्चिम आइकन पुरुषतर्फ फेन्सिङका जलेन्द्र शाही घोषित हुनुभयो । शाहीले ९औं राष्ट्रिय खेलकुदमा सुदुरपश्चिमका लागि स्वर्ण पदक दिलाउनुभयो । उहाँले फुटबलका जियारत सेख (फुटबल) र आनन्द कामी (कराते)लाई पछि पार्नुभएको हो ।

सुदुरपश्चिम आइकन महिला फुटबलकी दीपा रोकाया घोषित हुनुभयो । दीपाको कप्तानीमा नेपालले गतवर्ष पहिलो पटक यु १५ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । उहाँले कविता कुँवर (क्रिकेट) र मनिषा सिंह (कुस्ती)लाई पछि पार्दै उक्त अवार्ड जित्नुभयो ।

लाइफ टाइम एचिभमेन्ट विष्टलाई
भबिलबलका प्रशिक्षक सहदेव विष्टलाई लाइफ टाइम एचिभमेन्ट प्रदान गरियो । २०२२ सालमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा जन्मिएका विष्टले कलिलै उमेरदेखि भलिबल खेल्न थाल्नुभयो ।

स्कुलमा पढ्दा पढ्दै विरेन्द्र सिल्डको पहिलो सहभागितामै उत्कृष्ट खेलाडी बनेका विष्टले त्यही प्रतियोगिता हुँदै क्षेत्रीय टिममा परेर धनकुटामा राष्ट्रिय प्रतियोगिता खेल्नुभयो । जहाँ साविकको सुदूरपश्चिम विकास क्षेत्र तेस्रो भएको थियो ।

०४२ सालमा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएपछि उहाँको ढोका नेपाली राष्ट्रिय भलिबल टिमका लागि खुल्यो । त्यस क्रममा भएका मैत्रीपूर्ण प्रतियोगितामा २० वर्षे उमेरमै तहल्का मच्चाउनुभयो । काठमाडौं र उत्तर प्रदेशमा भएका मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेकै कारण उनी सन् १९८६ मा दक्षिण कोरियाको सोलमा हुने एसियाली खेलकुदका लागि छनोट हुनुभयो । नेपाली भलिबल टिमले त्यसयता एशियन गेमको अनुभव लिन पाएको छैन । एसियाली खेलकुदमा सहभागिता जनाउने उनी सुदूरपश्चिमका एकमात्रै खेलाडी हुनुभयो ।

स्पेशल अवार्ड : चन्द र कामीलाई
कुस्तीका राजेन्द्र चन्द करातेका आनन्द कामीलाई स्पेशल अवार्ड प्रदान गरियो । कुस्तीका चन्दको प्रशिक्षकत्वमा सुदूरपश्चिमले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र तीन कांस्य पदक जितेको थियो ।

यस्तै कैलालीको गोदावरी नगरपालिका-१२ ओलानीमा कपाल काट्ने सैलुनसमेत गरिरहेका करातेका आनन्द कामीले ०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत कराते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई स्वर्ण पदक दिलाउन सफल हुनुभएको थियो । पर्वतको कुश्मामा भएको राष्ट्रिय कराते प्रतियोगितामा कामीले ५० किलो ग्राम तौल समूहअन्तर्गत कुमुतेमा स्वर्ण पदक जित्न सफल भएका उहाँलाई स्पेशल अवार्ड प्रदान गरिएको खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले बताउनुभयो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?