काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ । बिहीबार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय संगठनहरू सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताउनुभयो । उहाँले छलफलमा द्विपक्षीय सम्बन्धहरूको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसनका बारेमा छलफल भएको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि उल्लेख गर्नुभयो । ‘यो हाम्रो ज्वाइन्ट कमिसनको बैठक भएको हुनाले यसमा द्विपक्षीय सम्बन्धहरूको पुनरावलोकन, व्यापार र लगानीका बारेमा कुराकानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसन जस्ता द्विपक्षीय विषयहरूमा गम्भीर र सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ । क्षेत्रीय संगठनहरू, विशेष गरेर सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रका बीचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको छ ।’ संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।
दुवै देशको आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा छलफल भएको छ । परराष्ट्रमन्त्री साउदले भन्नुभयो, ‘परम्परागत रूपमा श्रीलंका र नेपाल दुवै मित्रराष्ट्रका रूपमा अत्यन्त घनिष्ठ सम्बन्ध भएका मित्रराष्ट्रका रुपमा रही आएका छन् । हाम्रो बीचमा धेरै पक्षमा सहयोगको आदानप्रदान हुँदै आएको छ र नेपालले श्रीलंकासँगको सम्बन्धलाई ठूलो महत्व दिँदै आएको छ ।’
पत्रकार सम्मेलनमा श्रीलंकाका विदेशमन्त्री अली साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य गरेर जाने बारेमा छलफल भएको जानकारी दिनुभयो । उहाँले सार्क र बिमस्टेक लगायतका क्षेत्रीय कार्यक्रमहरूमा विशेष जोड दिई अघि बढ्ने बारेमा पनि छलफल भएको बताउनुभयो । ‘नेपाल र श्रीलंका धेरै नजिकका मित्र हुन् । लामो समयदेखिका साथी हुन् । हामीले धेरै कुराहरूमा एकापसमा समझदारी सहकार्य गर्दै आइरहेका छन् । अब झनै सम्बन्ध विस्तारका लागि हामी आफ्ना सहकार्य अघि बढाइरहेका छौँ । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका धेरै क्षेत्रमा हामीले सहकार्य गर्नेछौँ । सार्क र बिमस्टेक लगायतका क्षेत्रीय कार्यक्रमहरूमा हामीले विशेष जोड दिँदै आइरहेका छौँ । हामी नेपालमा घुम्न आउनका लागि श्रीलंकाली नागरिकहरूसँग विशेष पहल र अपिल गर्नेछौँ, आशा छ, नेपालले पनि श्रीलंका जानका लागि सोही पहल गर्नेछ । आजको छलफल धेरै नै राम्रो भयो । दुई देशबीचको सम्बन्ध विस्तारका बारेमा हामीले आज धेरै नै महत्वपूर्ण छलफल गरेका छौँ,’ श्रीलंकाली विदेशमन्त्री साब्रीले भन्नुभयो ।
पर्यटन प्रवद्र्धनका लागि नेपाल र श्रीलंकाबीच थप सहकार्य गर्नेबारेमा पनि छलफल भएको उहाँले बताउनुभयो । दुई देशबीचको सम्बन्ध विस्तारका बारेमा पनि छलफल भएको छ ।
श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस साब्री चारदिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुग्नु भएको हो । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आउनुभएको हो । श्रीलंकाका पूर्व-अर्थमन्त्रीसमेत रहनुभएका साब्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई शिष्टाचार भेट पनि गर्ने कार्यक्रम छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेट गरिसक्नु भएको छ । उहाँ शनिबार स्वदेश फर्किनु हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच