असारे तथा दाइँ गीत विषयक संगोष्ठी सम्पन्न

Read Time = 3 mins

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोकसंगीत विभागद्वारा लोपोन्मुख असारे तथा दाइँ गीत विषयक संगोष्ठी आयोजना गरिएको छ । प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको अध्यक्षता तथा वरिष्ठ लोकगायक बमबहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय सांस्कृतिक संस्थानमा संगोष्ठी सम्पन्न भएको हो ।

लुगुम्याल चेलीबेटी आमा समूहको पञ्चेबाजासँगै पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा असारे तथा दाइँ गीत विषयक कार्यपत्र तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । लोकसंगीत विभाग प्रमुख एवं कार्यक्रम संयोजक प्राज्ञ टीका पुनले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा गायक किरणबाबु पुनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्रमाथि पूर्वसांसद एवं संस्कृतिकर्मी बमकुमारी बुढा र डा. ध्रुवप्रसाद भट्टराईले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपकुलपति शम्भु राईले मौलिक कला संरक्षणमा राज्यको मात्र मुख ताक्न नहुने बताउँदै पश्चिमका देउडा गाउने कलाकारले पूर्वको हाकपारे, हिमालका शेर्पाले मैथिली र भोजपुरी गीत र यस्तै प्रकारले एक समुदायले अर्को समुदायको गीत गाउन सक्ने वातावरण बनाउन सके सबै जातजातिका गीतसंगीत संरक्षण हुने बताउनुभयो ।

यस्तै, कार्यक्रममा वरिष्ठ गायक बमबहादुर कार्कीले कला र संस्कृतिको अध्ययन र अनुसन्धानका लागि सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको स्थापना गरेर अघि बढेको बताउनुभयो । सांगीतिक प्रस्तुति दिनेक्रममा शिवनारायण जोशी र समूहले घाँसे गीत, अथार मगरात कलाकार संघका कलाकारहरूले दाइँ गीत, पञ्चरंग भजन समूह भक्तपुरका कलाकारले उपत्यकाका नेवार समुदायमा प्रचलित असारे गीत तथा विपिन घिमिरे र शिला विष्टद्वारा गड्वाली गीत प्रस्तुत गरिएको थियो । हरि पुनमगरले सहजीकरण गरेको कार्यक्रममा खबपु चञ्चलले समसामयिक विषयमा हास्यव्यंग्य प्रस्तुति दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?