भोजपुरका कृषकमा सुन्तला मोह, धान खेत मासेर खेती गर्दै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सुन्तला खेतीका लागि राम्रो सम्भाब्यता भएको जिल्ला हो । यहाँ अहिले धान खेत मासेर सुन्तला खेती गर्ने कृषकहरुको संख्यामा समेत बृद्धि हुँदै गएको छ ।

भोजपुरमा उत्पादन भएको सुन्तला जिल्लामा सडक संजालको पहुँच पुगैसँगै जिल्ला भित्र मात्र होइन तराईका जिल्लाहरूमा समेत बिक्रीका लागि जाने गरेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लाको अरूण गाउँपालिका वडा नं १ याङपाङ, षडानन्द नगरपालिकाको वडा नं २, १०, र ११ को कुदाकाउले, साङपाङ, देउराली, भोजपुर नगरपालिका वडा नं ३ र ४ को दाँवा, टेम्केमैयुङ गाउँपालिकाको वडा नं २, ३, ७ र ८ को छिनामखु, अन्नपूर्ण, कोट, गोगने सुन्तला उत्पादनको लागि पकेट क्षेत्र हुन ।

सुन्तलाको राम्रो सम्भावना भएकाले आफु अहिले ब्यवसायीक सुन्तला खेतीमा लागेको भोजपुर नगरपालिका वडा नम्वर ३ गुप्तेश्वरका कृषक हरिप्रसाद प्रधानले बताउनुभयो । कृषक प्रधान अहिले सुन्तलामा मलजल, काटछाड, गोडमेल र थप विरुवा लगाउन मै व्यस्त देखिनु हुन्छ । अहिले दिनभरी सुन्तलाको बगानमै समय विताउँर्दै आउनु भएका कृषक प्रधान सुन्तलाबाट राम्रो आम्दानी पाउने आशामा ब्यवसायीक बन्नु भएको छ । प्रधानले हाल सम्म ४० रोपनी जग्गामा सुन्तला लगाउनु भएको छ ।

भोजपुर र संखुवाभामा गरी दुई स्थानमा सुन्तला जोन कार्यक्रम संचालन हुदै आएकाले पनि कृषकहरुलाई सुन्तला खेतीमा लाग्नका लागि हौसला मिलेको छ । कार्यक्रम अन्तर्गत दुई जिल्ला भएका पुराना सुन्तला वगैचाहरुको व्यवस्थापन तथा नयाँ विरुवा रोपन, सिंचाई पुर्वधार निर्माण, उन्नत जातको सुन्तलाका विरुवाहरु अनुदानमा वितरण र सुन्तला किसानहरुलाई सिप सिकाईने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन इकाई भोजपुरका प्रमुख नवराज गुरुङले जानकारी दिनु भयो । प्रमुख गुरुङका अनुसार भोजपुर नगरपालिका वडा नंं. ३ मा २० रोपनी जग्गामा सिकाई केन्द्र स्थापना कार्यक्रमअन्तर्गत ४५० विरुवा रोप्ने कार्य गरिएको छ ।

गत वर्षबाट प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले वगैचा व्यवस्थापन, मल्चिङ, विषाधी प्रयोग गर्ने तरिका र कुन समयमा खेती गर्ने भन्ने बिषयमा प्राविधिक सिप समेत दिन थालेपछि कृषकहरुमा सुन्तला खेती तर्फ मोह बढेको हो । सुन्तलाको विरुवामा केही रोग लाग्न नदिन सिकाई केन्द्रमा रोपेका प्रत्येक विरुवामा नेट जाली लगाईएको परियोजनाले जनाएको छ । विरुवाको सुरक्षाका लागि दुई वर्षसम्म जाली निरन्तर लगाईने छ ।

विरुवा रोप्दादेखि नै मल्चिङ गरेर विरुवामा गाईबस्तुको मलसंगै अन्य आवश्यक तत्वहरू मिलाएर एकिकृत रुपमा विरुवामा लगाउने गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन इकाई भोजपुरका प्राविधिक जुनीता वलिङ राईले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत भोजपुर नगरपालिका वडा नं. ३,४, टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ३ र ७ वडामा सुन्तला जोन कार्यक्रम संचालनमा रहेको राईले जानकारी दिनुभयो ।

बगैचाबाट नै सुन्तलाको बिक्री र ढुवानी हुने भएकाले बजारीकरणमा पनि समस्या नहुने ब्यवसायी कृषकहरुको भनाई रहेको छ । भोजपुरमा नौ सय हेक्टमामा सुन्तला खेती गरिएको छ भने ६८० हेक्टरमा उत्पादन हुदै आएको छ । जिल्लाबाट वार्षिक ३२ करोड बराबरको सुन्तला बाहिर निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?