✍️ ओम आचार्य
नेपाली कांग्रेसको १४औं महाअधिवेशनदेखि कांग्रेसभित्रका संस्थापन इतर समूहले पार्टीमा पुस्तान्तरण र रूपान्तरणको बहस चलाइरहेका छन् । शेखर कोइराला समूहबाट यो विचारको नेतृत्व गरेका छन् । कांग्रेसमा अहिले देखिएको विचलन र पार्टीमा छविको स्खलन भएकै कारण यो समूहबाट यो विचार प्रकटीकरण भएको हो । पार्टीमा नीति, विधि विधानमा नचलेको, समूहगतभन्दा एकल नेतृत्व हावी भएकै कारणबाट पनि संस्थापन इतर समूहले पुस्तान्तरण र रूपान्तरणको कुरा राखेको हो । अहिले आएर प्रदेशस्तरीय पार्टीभित्रका साथीहरू पुस्तान्तरण र रूपान्तरणको चर्चा परिचर्चा गर्ने अभियान चलाउँदै छन् ।
वर्तमान अवस्थामा नेपाली कांग्रेसको इतिहास नै खराब हुने स्थितिको सिर्जना पार्टीभित्र कमाण्ड र लगाम राख्नेहरूबाट भएको ठहर संस्थापन इतरको भनाइ छ । देशको मौजुदा राजनीतिक अवस्था र साथै नेपाली कांग्रेसको वर्तमान राजनीतिक अवस्थाले पनि यो पुस्तान्तरण र रूपान्तरणको महत्व र अपरिहार्य देखिएको छ । अहिले प्रतिनिधिसभाको बनौट र त्यसपछि सरकार निर्माण गरिने प्रक्रिया जसरी अगाडि बढेको छ त्यसले लोकतन्त्र र सुशानमा प्रतिकूल असर पारेको छ । हाल सरकार निर्माण र त्यसलाई जीवित बनाइराख्न गठबन्धनको सरकार जे पनि गर्न तयार देखिएको छ ।
यसो गरिरहँदा चाहे संविधान संशोधन गर्नु परोस् चाहे संविधानविपरीत होस् चाहे न्याय र कानुनविपरीत नै किन नहोस् त्यो हदसम्म गठबन्धनको सरकार जान तयार छ र गइरहेको पनि छ । एउटा सरकार कानुन बनाउँछ अर्को सरकार कानुन हटाउँछ । कानुन जनहितका लागि बन्छ या दलगत राजनीतिको हिसाबले अहिले देशमा यस्तै प्रवृत्ति मौलाउँदै गएको छ । अझ गठबन्धनको सरकार निर्माणले यस्तो प्रवृत्ति मौलाएको देखिन्छ । सामाजिक मर्यादाविपरीत गाउँ समाजको अमनचैन, शान्ति भंग गरेको अवस्थामा सामान्य नागरिकमा पनि वर्तमान संविधानको मौलिक हकअधिकार आकर्षित भएर कानुनको घेराभित्र पर्दछ ।
तर, सरकार र सरकारमा रहेकाहरूमाथि संविधानमा भएका धारा उपधार मौलिक हकअधिकारको कुनै दण्डित गर्ने प्रणाली आकर्षित भएको देखिँदैन । यसबाट सुशासन भन्ने कुरा हराएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको र यसले देशको छवि अन्तर्राष्ट्रिय क्षेत्रमै धुमिल बनाएको छ । देशको प्रमुख राजनीतिक दल र सरकारमा समेत उपस्थित भएका यी दलहरू यसमा संलग्न देखिनु लज्जास्पद र भ्रष्टाचारको चरम अवस्था हो भन्नुपर्छ । यसले लोकतन्त्र र सुशासनका लागि राम्रो मानिँदैन । यस्ता प्रवृत्तिका व्याक्तिहरू देशका घाउ हुन र समयमै यस्तो घाउको उपचार गरिहाल्नुपर्छ अन्यथा यो अरूमा पनि यस्तो प्रवृत्ति संक्रमित हुन सक्छ ।
नेपाली कांग्रेस भनेको बीपी हो भन्ने बुझ्नुपर्छ र बीपी विचारलाई जीवन्त राख्न सके कांग्रेस जीवित रहने हो । राजनीतिमा विचार राजनीतिक धारणा र राजनीतिक संस्कारमा जब विचलन आउँछ त्यो राजनीतिक दल क्रमशः जनताबाट टाढा हुन्छ र त्यस्तो दलमा जनबलको स्खलन हुँदैजान्छ ।
सरकारमा नेपाली कांग्रेस पनि उपस्थित रहेको अवस्था छ । नेकपा एमाले र माओवादी गठबन्धनको सरकार रहँदा पनि त्यस सरकारको नेतृत्व गर्ने प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले एमाले सरकारबाट बाहिरिँदा पनि पुनः विश्वासको मत दिँदै सरकारमा प्रवेश गरेको हुँदा अहिले भइरहेको बेथिति तथा अनियमितताको जिम्मेवारी पनि राजनीतिक नैतिकताको हिसाबले कांग्रेस पनि जवाफदेही हुनुपर्छ ।
नेपाली कांग्रेस भनेको बीपी हो भन्ने बुझ्नुपर्छ र बीपी विचारलाई जीवन्त राख्नसके कांग्रेस जीवित रहने हो । राजनीतिमा विचार राजनीतिक धारणा र राजनीतिक संस्कारमा जब विचलन आउँछ त्यो राजनीतिक दल क्रमशः जनताबाट टाढा हुन्छ र त्यस्तो दलमा जनबलको स्खलन हुँदैजान्छ । अहिले कांग्रेसमा त्यही अवस्था छ । कांग्रेसमा जनबल क्रमश हराउँदै छ । सायद डा.शेखर कोइरालाले यही कारण ‘पार्टी जनताबाट टाढा रहेको’ सन्दर्भ उठाएका हुन् । हो यही जनबल हराएको अवस्थामा कांग्रेसको संस्थापन इतर समूहले उठाएको पुस्तान्तरण र रूपान्तरण झन् आवश्यक देखिएको छ र यो धारणा र विचार पार्टीमा स्थापित गराउनु नै कांग्रेसको सुद्धि हो ।
पुस्तान्तरण र रूपान्तरण :
शेखर कोइराला समूहबाट उठाइरहेको पुस्तान्तरण र रूपान्तरण विषय बहस हुनु राजनीतिक चर्चा परिचर्चा हुन जरुरी छ र अहिले प्रदेशस्तरीय बहस पनि सुरु भएको छ, यो निश्चय राम्रो हो । पुस्तान्तरण आफैंमा राम्रो र ऊर्जावान शब्द हो । यो पुस्तान्तरण परिवारदेखि संघसंस्था र राजपरिवारमा पनि हुँदै आएको छ तर यो आउने क्रम स्वाभाविक र प्राकृतिक हिसाबले आउने गरेको छ । कहिलेकाहीँ द्वन्द्व र संघर्षबाट पनि पुस्तान्तरण भएको छ । अहिले कांग्रेसले उठाएको पुस्तान्तरणको सन्दर्भ स्वाभाविक र प्राकृतिक हुँदै होइन ।
प्रदेशस्तरीय बहस यसैको उदाहरण हो । विशेष गरेर पार्टी सभापतिलाई लक्ष गरेर गरिएको यो अभियान प्रष्ट रूपमा युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न गरिएको दबाबमूलक कार्यक्रम हो । पार्टी सभापतिको राजीनामासम्म माग्नु एउटा उदाहरण हो । द्वन्द्व र संघर्षबाट आएको पुस्तान्तरणभन्दा स्वाभाविक र सहजपूर्ण भएको पुस्तान्तरण स्वच्छ, फराकिलो हुन्छ, अन्यथा सधैं एउटा घाउ, मतान्तर र तनाव पार्टीमा रहिरहन्छ ।
सबैभन्दा जटिल कुरा रूपान्तरण नै हो । पुस्तान्तरणको मुद्दा उठाउन जरुरी र आवश्यक भइसकेको छ तर रूपान्तरण ? रूपान्तरण भनेको के हो भनेर यस विषयको व्याख्या र अर्थसहित आउन संस्थापन इतरलाई जरुरी छ । रूपान्तरण भनेको के रूप परिवर्तन हो ?
अर्को कुरा पुस्तान्तरणको मुद्दा उठाइरहेका युवा पुस्ता शीर्ष नेताहरूकै छायाँमा बसेर र रहेर पुस्तान्तरणको कुरा गर्दैछन् । छायाँमा रहेर राजनीति गर्नेहरू आफैंमा बोनसाई बन्दै गइरहेका छन् । क्षमता र प्रतिभाको विकास छायाँमा रहनेको कतिसम्म हुन्छ र कति स्वस्थ हुन्छ । र पनि कांग्रेसभित्र धेरै यस्ता युवाहरूको उपस्थिति छ जसले कांग्रेसको छवि उज्यालो, चम्किलो र ऊर्जावान बनाउन सक्षम छन् । कांग्रेस त्यस्ता युवालाई पर्खेर बसेको छ ।
रूपान्तरण :
सबैभन्दा जटिल कुरा यही छ । पुस्तान्तरणको मुद्दा उठाउन जरुरी र आवश्यक भइसकेको छ त्यो ठीक छ तर रूपान्तरण ? रूपान्तरण भनेको के हो । यो विषयको व्याख्या र अर्थसहित आउन संस्थापन इतरलाई जरुरी छ । रूपान्तरण भनेको के रूप परिवर्तन हो ? अहिले कांग्रेसको रूप परिवर्तन गर्न खोजिएको हो । कांग्रेसको रूप भनेको चारतारा, रूख, राष्ट्र राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै हो के यही रूप परिवर्तन गर्न खोजिएको हो ? यदि त्यस्तो हो भने त्यसभन्दा आत्माघाती काम अर्को केही हुनै सक्तैन ।
पुस्तान्तरणमा लय मिलाउनलाई नै रूपान्तरण भनिएको हो ? होइन भने रूपान्तरण कांग्रेस पार्टीमा सान्दर्भिक छैन । अहिले वामशक्तिहरू रूपान्तरणमा लागेका छन् कहिले नेकपा माओवादी र अहिले भर्खरै समाजवादी मोर्चा बन्दै छन् । जनबल नहुँदा र जनताले नपत्याउँदा पार्टीको नाम परिवर्तन गर्ने र नयाँ रूपमा प्रस्तुत हुने त अहिले वामशक्ति अर्थात् कम्युनिष्ट भन्दै आएका छन् । जनता समक्ष पार्टीको नाम र पार्टीको चिहृन लिएर जाँदा गर्वसाथ भन्न नसक्नेहरूले नै पार्टीमा रूपान्तरण गर्ने हो । कांग्रेसमा त्यो अवस्था छैन र यो रूपान्तरण संस्थापन इतरले उठाएको कुरा आफैंमा आत्माघाती छ ।
एउटा कुरा कहिलेकहीँ एउटा शीर्षकमा भएको बजेट अर्को शीर्षकमा रकमान्तर गर्ने गरिएको छ । कहिलेकाहीँ आफू जन्मेको स्थानबाट अर्को स्थान स्थानन्तरण गर्ने गरिएको छ । हिन्दुराष्ट्र हटाएपछि देशमा धर्मान्तरणको कुरा आइरहेको छ । कांग्रेस संस्थापन इतरको रूपान्तरणको कुरा यस्तै प्रवृत्तिको संकेत हो शब्दले त्यही अर्थ बोक्छ । होइन र ? कांग्रेसमा शुद्धीकरण जरुरी छ । विधि विधानले चल्न जरुरी छ । चार ताराको अर्थ, राष्ट्र राष्ट्रियता समाजवाद र लोकतन्त्र यही नै लक्ष्य ठान्नुपर्छ । यसको प्राप्ति त रूपान्तरण होइन पुस्तान्तरण भएमा आफैं हुन थाल्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच