नेपाल यू-१६ इस्ट जोन कप च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल एसिसी यू-१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ । मंगलबार भएको फाइनलमा मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । नेपालले मलेसियालाई ३१ रनमै अलआउट गर्दै उपाधि जितेको थियो । इस्ट जोनमा नेपालको यो लगातार तेस्रो उपाधि हो । यसअघि नेपालले थाइल्याण्डमा सम्पन्न दुई एसिसी यू-१६ इस्टर्न रिजनको उपाधि जितेको थियो । नेपालले २०१७ मा रित गौतम र २०१९ मा विशालविक्रम केसीको कप्तानीमा यू-१६ को उपाधि जितेको थियो ।

नरेन भट्टले ११२ रनको अविजित शतकीय इनिङ्स र कप्तान अभिषेक तिवारीको पाँच विकेटको मद्दतमा नेपालले मलेसियालाई २२१ रनले हराएको हो । नेपालले दिएको २५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अलआउट भयो ।

मलेसियाका मोहम्मद अक्रमले १० रनबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सक्नुभएन । कप्तान अभिषेक तिवारीले ६ ओभरमा एक मेडनसहित सात रन खर्चेर पाँच विकेट लिनुभयो । यस्तै, सन्तोष यादवले तीन ओभरमा दुई मेडनसहित नौ रन खर्चेर तीन विकेट तथा सागर गैरेले पाँच ओभरमा १३ रन खर्चेर एक विकेट लिनुभयो ।

त्यसअघि बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । नरेन भट्टले ८९ बलमा १० चौका र दुई छक्कासहित ११२ रनको अविजित शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ८२ बलमा शतक पूरा गर्नुभएको थियो ।

त्यसअघि ओपनर निरज यादवले ४९ बलमा ६ चौकासहित ४७ रन जोड्नुभयो । सुर्यांशु कोइरालाले २३ बलमा दुई चौकासहित १८ रन बनाउनुभयो । यस्तै, सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार पाँच रनमा आउट हुनुभयो । मलेसियाका मोहम्मद अक्रमले सात ओभरमा ४५ रन खर्चेर तीन विकेट लिनुभयो । प्रतियोगितामा अविजित रहँदै नेपालले उपाधि उचालेको हो । समूह चरणमा नेपालले थाइल्याण्डलाई २२५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?