कांग्रेसका त्यागी नेता तामाङको निधन

हिमालय टाइम्स
Read Time = 4 mins

राजकुमार कार्की/हिटा
ओखलढुंगा । ओखलढुंगा नेपाली कांग्रेसका त्यागी नेता बर्मजित तामाङको निधन भएको छ । आफ्नै घरनजिकै लडेर मेरुदण्ड भाँचिएका तामाङको उपचारका क्रममा सोमबार राती निधन भएको हो । उहाँ जेठ २२ गते आफ्नै घरनजिकै हिँड्डुल गर्ने क्रममा लडेर एक कान्लामुनि खस्नुभएको थियो । उहाँलाई उपचारका लागि सामुदायिक अस्पताल मिसन सोब्रुमा लगिएको थियो । सामुदायिक अस्पतालले मेरुदण्ड भाँचिएको यहाँ उपचार हुन नसक्ने बताएपछि एम्बुलेन्समार्फत् काठमाडौं लगिएको थियो । काठमाडौंको वीर अस्पतालमा लामो समय भेन्टिलेटरमा राखेर उपचार गराइरहनुभएका तामाङको घर ल्याउने क्रममा सोमबार राती बाटोमै मृत्यु भएको नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले जानकारी दिनुभयो ।

अस्पतालले उपचार गर्न सम्भव नभएको जानकारी दिएपछि सोमबार आफ्नै घर ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ६ श्रीचौर ल्याउँदै गरिएको थियो । घर ल्याइनपुग्दै बाटोमा नै उहाँको निधन भएको परिवारिक स्रोतले जनाएको छ । उहाँका दुई छोरा र पाँच छोरी हुनुहुन्छ ।
उहाँको पार्थिव शरीरलाई स्थानीय च्यानडाँडामा तामाङ संस्कारअनुसार दाहसंस्कार गरिएको छ । नेपाली कांग्रेसका नेता बालकृष्ण दाहाल र खिला दाहालले नेपाली कांग्रेसको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । नेपाली कांग्रेसका नेता, कार्यकर्तालगायत स्थानीयवासीको उल्लेख्य उपस्थितिमा उहाँको अन्त्येष्टि गरिएको पालिका सभापति एवं मोलुङ-६ का वडाध्यक्ष गोपीकृष्ण कार्कीले जानकारी दिनुभयो ।

२०२२ सालमा तत्कालीन श्रीचौर गाउँविकास समिति वडा नं. ६ मा जन्मनुभएका तामाङ सानै उमेरदेखि शालीन तथा क्रान्तिकारी स्वभावको हुनुहुन्थ्यो । क्रान्तिकारी स्वभाव भएकै कारण नेपाली कांग्रेससँग आबद्ध रही पञ्चायतविरुद्धको आन्दोलनमा सहभागी हुनुभएको थियो । पञ्चायती व्यवस्थाको अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तामाङले हालसम्म नेपाली कांग्रेसमै रहेर राजनीति गर्नुभयो ।

तामाङको निधनले एक कर्मठ, इमानदार, क्रियाशील नेता गुमेकाले नेपाली कांग्रेस ओखलढुंगालाई अपूरणीय क्षति भएको भन्दै सभापति तेजेन्द्र खनालले दुःख व्यक्त गर्नुभयो । उहाँको त्याग र विचारलाई सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी जीवनमा लागू गर्नुपर्ने आवश्यक भएको सभापति खनालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?