समयचक्र र परिवर्तन

Read Time = 13 mins

गतिशील समयसँगै परिवर्तनका नयाँ पालुवा पनि पलाइरहन्छन् । संसारलाई परिवर्तनशील मानिएको छ । यही युग व्यवस्थामा हामी पनि नित्य परिर्वनका नयाँ पाइला टेकिरहेका हुन्छौं । हिजोजस्तो आज हुँदैन र आजजस्तो भोलि हुँदैन । किनकि समयको गति आजको तुलनामा भोलि भिन्नै हुन्छ । यही कुरा हाम्रा शास्त्रले बताएका छन् र इतिहासका पाना पल्टाउदै गर्दा पनि यो कुरा जान्न सकिन्छ । यसैलाई समयचक्र भनिन्छ । यो निरन्तर चलिरहन्छ जसको प्रवाहमा बग्नुको विकल्प हाम्रा सामु छैन । पौरस्त्य दर्शनमा कालचक्रलाई विशेष रूपमा हेरिएको छ ।

हरेकको समय छ । व्यक्त रूपमा सृष्टिकर्ता ब्रहृमाजीको त आयु छ भने अन्य व्यक्ति एवं वस्तुको आयु नहुने कुरै हुँदैन किनकि यो मत्र्य लोक हो । यहाँ जन्मसँगै मृत्यु अवश्यम्भावी छ । आजको हाम्रो सरदर आयु सय वर्षको छ तर आजभन्दा हजारौँ वर्ष पनि यही सय वर्ष नै थिएन । किनकि आजको समयले यो परिस्थिति प्रदान गरेको हो । इतिहास पुराणका कथामा दुई तीन सय वर्ष बाँचेका राजाको कथा वर्णन पाइन्छ । तत् समयमा त्यो सम्भव थियो तर समयको क्रमसँगै आज त्यो समय हामीसामु छैन । हाम्रो आयु उही सय वर्षभित्रमा नै सीमित छ ।

परिवर्तनशील समयको प्रभाव हामीमा विद्यमान छ । यसैले हाम्रा सोच र विचारमा पनि परिवर्तन भइरहन्छ । आजका तथ्य भोलिको सन्दर्भमा मिथ्या पनि लाग्न सक्छन् । छोटो समय र अनुभवमात्र हामीमा विद्यमान रहँने भएकाले सय हजार वर्ष पुराना कुरा हाम्रा लागि दन्त्यकथा जस्ता लाग्न सक्छन् ।

‘अन्वय व्यतिरेकाभ्यां यत् स्यात् सर्वत्र सर्वदा’ (श्रीमद्भागवत) अर्थात् यो संसारमा अन्वय र व्यतिरेक चलिरहन्छ । जोड्नु छुट्टिनु समयको चक्रले दिएका उपहार हुन् । सहर्ष स्वीकारे पनि सक्रन्दन स्वीकारे पनि स्वीकार्नुको विकल्प हामीमा छैन । किनकि समयको क्रम निरन्तर गतिशील छ । हामी रोकिए पनि हाम्रो समय रोकिँदैन । पौरस्त्य मान्यता अनुसार सृष्टिकर्ता ब्रहृमाजीको आयु पनि उही सय वर्षको छ । तर ब्रहृमाजीको सय वर्ष हाम्रा खर्ब वर्षभन्दा पनि अधिक रहन्छ । किनिकि ब्रहृमाजीको एक दिन नै हाम्रो एक कल्प हो । जहाँ चार अर्ब बत्तीस करोड वर्ष हुन्छन् (सूर्यसिद्धान्त) । यति नै वर्ष ब्रहृमाजीको रात हुन्छ ।

अर्थात् ब्रहृमाजीको एक अहोरात्र (दिनरात वा २४ घण्टा)को समय हुँन हाम्रा आठ अर्ब चौट्ठी करोड वर्ष लाग्छन् । यही मानलाई तीसले गुणा गर्दा महिना र ३६५ ले गुणा गर्दा एक वर्ष हुन्छ । उक्त मानलाई १०० ले गुणा गर्दा हुन आउने समय ब्रहृमाजीको पूर्णआयु हुन्छ । जुन हाम्रा लागि आँकलनभन्दा पनि बाहिरको कुरा हो किनकि हाम्रो सरदर आयु नै सय वर्षको छ । यसैले ब्रहृमाजीको एक दिन १२ घण्टाको समय जसलाई एक कल्प भनिन्छ यही समयको गणना हामा लागि विशेष रहने गर्दछ । ब्रहृमाजीको प्रत्येक दिनको नाम पनि फरक–फरक रहने गर्दछन् ।

हाल श्वेतवराह नामको कल्प चलेकाले हामी सङ्कल्पमा यही उच्चारण गर्ने गर्दछौं । ‘दिनादौ सृष्टि दिनान्ते लयः’ भनी बताइएको छ । ब्रहृमाजीको दिन आरम्भसँगै सृष्टिको आरम्भ हुन्छ र दिन समापनसँगै यो चराचर जगत्मा लय हुन्छ । पुनः ब्रहृमाजी कल्पवर्ष बराबरको समय शयन गर्नुहुन्छ । सोपश्चात् पुनः सृष्टिको आरम्भ हुन्छ (सिद्धान्तशिरोमणि) । यसरी कल्पभित्रको वर्ष हाम्रा लागि विशेष रहन्छ । यसैले हाम्रा धार्मिक कार्यमा हामी यही समयको चक्रलाई उच्चारण गर्छौं जसलाई सङ्कल्प भनिन्छ ।

एक कल्पभित्र पनि समयको चक्र निरन्तर चलायमान भइरहन्छ । १४ मनु चल्छन्, ७१ महायुग चल्छन् र महायुगभित्र युग चल्छन् । युगभित्र युगचरण चल्छन् । युगचरणभित्र संवत्सर, संवत्सरभित्र अयन, अयनयभित्र ऋतु, ऋतुभित्र मास (महिना), महिनाभित्र पक्ष, पक्षभित्र दिन, दिनभित्र मुहूत्र्त, मुहूत्र्तभित्र घडी, घडीभित्र पला, पलाभित्र विपला, विपलाभित्र प्रतिविपला हुँदै सूक्ष्मतम इकाई त्रुटिसम्म हाम्रा समय मापनका आधार छन् । यिनै समयको गणनाबाट हामी परिवर्तनको आँकलन गर्न सक्दछौँ । यसरी त्रुटिदेखि प्रलयसम्मको निरन्तर समयचक्र चलिरहन्छ । यही कुरालाई हामी सङ्कल्पमा जोड्ने गर्दछौँ । जसले समयको यथा तथ्यको साथै परिवर्तको निरन्तर शृङ्खलालाई पनि दर्शाइरहेको हुन्छ ।

यही परिवर्तनशील समयको प्रभाव हामीमा विद्यमान छ । यसैले हाम्रा सोच र विचारमा पनि परिवर्तन भइरहन्छ । आजका तथ्य भोलिको सन्दर्भमा मिथ्या पनि लाग्न सक्छन् । छोटो समय र अनुभवमात्र हामीमा विद्यमान रहने भएकाले सय हजार वर्ष पुराना कुरा हाम्रा लागि दन्त्यकथा जस्ता लाग्न सक्छन् । यसको यथातथ्य समय र समयले दिने परिवर्तनलाई नहेरी जान्न सकिँदैन । यसैले हाम्रा शास्त्रमा सर्वप्रथम काल गणना गरिन्छ । हरेक पुराणमा कालको महिमालाई दर्शाइएको छ । समयसँगै देखिएका परिवर्तनका पात्रलाई कथामार्फत् प्रदर्शन गरिएको छ ।

कलियुगलाई तुरीय युग पनि भनिन्छ । यो अधर्म चरम बिन्दुमा पुग्ने समय हो । चार लाख बत्तीस हजार वर्षमध्ये हाल पाँच हजार वर्ष व्यतीत भएका छन् । पौरस्त्य शास्त्रअनुसार यो समयमा सत्यको मात्रा केवल २५ प्रतिशत मात्र छ ।

सत्ययुग सत्मय थियो । शतप्रतिशत धर्मको समय भएकाले सत्ययुगलाई देवयुग भनिएको हो । उक्त समयमा शून्यविकार थियो । सबै धार्मिक आध्यात्मिक थिए । असत्य शून्य थियो । जब सत्य युगको सममापन भयो र त्रेतायुगको आरम्भ भयो तब धर्ममा पनि क्रमशः क्षयीकरण हुन थाल्यो । सत्यको मात्रामा २५ प्रतिशत गिरावट आयो । अधर्मको पनि आरम्भ भयो । यो समयले दिएको चक्रको परिणाम हो । समयको पनि एउटै गति हुँदैन । सत्ययुगको पूरापूरी वर्षभन्दा एक चौथाइ कम नै त्रेतायुगको वर्षमान हुन्छ । किनकि सत्य एवं धर्मको क्षयीकरणसँगै समयको अवधि पनि कम भएको छ । जस्तो कि सत्ययुगको सौरवर्ष १७ लाख २८ हजार हो भने त्रेतायुगको वर्ष मान १२ लाख ९६ हजार वर्ष छ (सूर्यसिद्धान्त, मध्यमाधिकार, श्लो.१५-२५) ।

यसैले त्रेतायुगमा रामायणका परिघटान घटे । अधर्मको सङ्केत पाइयो । यही सत्यको मात्रामा क्षयीकरण हुँदै गर्दा नियमकानुनको आवश्यकता भयो । जहाँ सत्मय हुन्छ त्यहाँ कुनै नियमकानुनको जरुरत पर्दैन । जहाँ असत्य अथवा धर्ममा क्षयीकरण हुन्छ अनि त्यसलाई नियन्त्रणार्थ नियमको आवश्यकता पर्ने गर्दछ । रावण जस्ता आसुरी व्यक्तिको जन्म हुनु यो कालको प्रभाव हो किनकि समयमा विकार पसिसकेको थियो । यसैले माता सीताको हरण भयो । अनेक प्रकारका दुःख र क्लेसको सामना गर्नुपरेको थियो । समयचक्रमा आएको परिवर्तनको प्रमाणलाई नै हाम्रा इतिहास पुराणमा पनि लेखिएका हुन् ।

स्वयं ध्रुवस्थान परिवर्तनशील छ । सप्तर्षि पनि कालक्रम अनुसार परिवर्तन हुन्छन् । यसैगरी स्वर्गका राजा इन्द्रको पनि निश्चित् समय छ सोपछि परिवर्तन हुन्छन् भन्ने शास्त्रीय अभिव्यक्तिबाट कालको चक्र निरन्तर चलिरहन्छ भन्ने कुरा ज्ञात गर्न सकिन्छ । स्वयं ब्रहृमाजीको आयु रहनु भनेको समयको क्रम निरन्तर चल्नु हो । द्वापर युग त्रेताका तुलनामा अझ धर्ममा वा सत्यमा गिरावट आएको समय हो । यो समयमा अधर्म र धर्म बराबर भएको शास्त्रीय कथन छ । यसैले द्वापर युगमा महाभारत जस्तो महायुद्ध भयो । मानवीय स्वभावमा विकृतिको मात्रामा वृद्धि भयो । आसुरी भावको वृद्धि भयो । जसले गर्दा अशान्तिको मात्रमा पनि वृद्धि हुँदै गयो ।

समयले व्यक्तिमा स्वार्थवृद्धि गरायो जसले गर्दा अनेकौं दुःख कष्ट भोग्नुपरेका महाभारतका कथा सर्वत्र वर्णन पाइन्छन् । यहा व्यक्तिभन्दा पनि कालको प्रभाव हो । समयले द्वन्द्वको सृजना भयो । एउटाले अर्काका अस्तित्वलाई स्वीकार गर्न सकेनन् । फलस्वरूप युद्ध भयो । अशान्तिको आगो सल्कियो । सामन्यतः ठूलो युद्ध नभए पनि सानातिना युद्ध निरन्तर चलि नै रहे । शक्तिशाली पाण्डवको शक्तिमा पनि क्षयीकरण हुनथाल्यो । कलियुगको आरम्भ हुनथाल्यो । पाण्डव हरेक युद्धमा हार व्यहोर्न बाध्य हुनथाले । त्यसपछि वानप्रस्थी, महाप्रस्थानिक भए ।

कलियुगलाई तुरीय युग पनि भनिन्छ । यो अधर्म चरम बिन्दुमा पुग्ने समय हो । चार लाख बत्तीस हजार वर्षमध्ये हाल पाँच हजार वर्ष व्यतीत भएका छन् । पौरस्त्य शास्त्रअनुसार यो समयमा सत्यको मात्रा केवल २५ प्रतिशत मात्र छ । यसैले आज हामी अनेकौं द्वन्द्वका शिकार भइरहेका छौं । कतै न कतै युद्धका विभीषिका छेडिरहका छन् । एकले अर्काको अस्तित्वलाई स्वीकार गर्ने सामथ्र्य हामीमा छैन । सर्वप्रथमतः हामी आफूभित्र अशान्त छौं । आफू आफूमै पीडित छौँ किनकि यो समयको प्रभाव हो ।

हामीमा सत्यनिष्ठाले ठाउँ छोडिसकेको छ । धर्मभन्दा पनि अधर्मले जितिसकेको छ । सत्य ढाकिएको छ । यसैले द्वन्द्व निम्तिएको हो । यो समयमा सत् पक्षलाई जागृत गराउन सके शान्तिको सास फेर्न सकिन्छ । हरेकमा स्वधर्मको स्वकर्तव्यको निर्वाह आज आवश्यक छ किनकि यो समय विकृति अधिक रहने र सत्कार्य कम हुने हो । यसैले हामी सत्को मार्गमा हिँड्नु आवश्यक देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?