लडाकु शिविर प्रकरणका कारण माओवादी प्रतिपक्षमा बस्नै सक्दैन : मुकुल ढकाल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले लडाकु शिविर प्रकरणका कारण माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नरहेको बताउनु भयो । उहाँले माओवादी कहिल्यै पनि सरकारभन्दा बाहिर निस्कन नसक्ने बताउनु भयो ।

रास्वपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा आउनु भएका महामन्त्री ढकालले पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस–एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिनुभयो ।

उहाँले कांग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको दावी समेत गर्नु भयो । उहाँले भन्नुभयो, ‘माओवादी सरकारमा टाँसिरहन्छ । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने हो भने रास्वपा प्रतिपक्षमा बस्छ । २०७९ को निर्वाचनको जनमत र जनादेश पनि यही हो । पुराना पार्टीहरुले सरकार चलाउनुपर्छ र रास्वपा प्रतिपक्षमा बस्नुपर्छ । यसले २०८४ को ग्राउण्ड क्लीयर हुन्छ ।’

उहाँले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीले सहयोग गरेको भनेर दिनुभएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीले आफ्नो पदको मर्यादा नराखेको देखिएको बताउनु भयो । उहाँले रास्वपाले पनि सहयोग गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको र पछि रास्वपा सरकार बाहिर गएको बताउनु भयो। उहाँले दिल्लीसँग आफूले प्रधानमन्त्री बनाउन लबिङ गरेको जस्तो प्रचण्डले स्वीकार्नुभएको देखिएको बताउनु भयो ।

महामन्त्री तथा प्रवक्ता ढकालले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले आफ्नो कुरा स्पष्ट पार्नुपर्छ । किन बोल्नुभयो । उहाँले स्पष्ट पारेको आधारमा हामीले थप टिप्पणी गर्नेछौं ।’नेता ढकालले एमालेले नेपालको संविधानको मर्मअनुसार बिना विकल्प प्रधानमन्त्रीको राजीनामा माग्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो कुरा एमालेले बुझ्नुपर्छ ।’ अहिलेको प्रदेश सरकारबाट जनताको अपेक्षा पूरा हुन नसक्ने र प्रदेश सरकारको माध्यमबाट नेता कार्यकर्ताको व्यवस्थापन भइरहेको उहाँको भनाइ छ । प्रदेश सरकार भनेको धेरै सांसद र मन्त्री मात्रै हुनु भन्ने नरहेको उहाको भनाई छ । प्रदेशप्रति रास्वपाको विमत्ति नरहे पनि यति धेरै सांसद र मन्त्री स्वीकार्य नरहेको ढकालको भनाइ छ ।

रास्वपा विचारमा स्पष्ट भएको र पार्टीले एकल बहुमतको सरकार बनाएर जनताले खोजेको परिवर्तनअनुसार अघि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नियोजित तत्वले पार्टीमाथि आक्रमण गरिरहेका छन् । केही पक्षले भ्रम फैलाइरहेका छन् । यसले हामीले सचेत बनाएको छ । जनताको आकर्षण रास्वपाप्रति कमी छैन । ’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?