पर्यटकका लागि घोडेपानीमा बन्यो लालीगुराँस पार्क

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । पदयात्रााका लागि विश्वप्रशिद्ध राउण्ड अन्नपूर्णको प्रमुख गन्तव्य स्थल घोडेपानीमा लालीगुराँस उद्यान (पार्क) निर्माण गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले गुराँसे जंगलबीचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिएको लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्वुजा पुनले बताउनुभयो ।

अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाई लम्ब्याउन र छिटो आएका पर्यटकलाई लालीगुरासँ जंगलको प्रकृतिसंग रमाउने वातावरण सिर्जना गर्नका लागि पार्क निर्माण गरिएको उहाँको भनाइ छ ।

लालीगुराँस जंगलमा विचको समथर भागमा रहेको कालीसारमा अघिल्लो बर्ष साइकलिङ सडक निर्माण गरिएको थियो भने यसबर्ष वड वाचिङ, हर्स राईडिङ पार्क अवलोकन गर्न जाने पर्यटकका लागि शौचालय, चरा अवलोकन गर्नेहरूका लागि बेञ्च, पानी पर्दा, गर्मीमा ओत लाग्ने गोलघर बनाइएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

चालू आर्थिक बर्षमा डिभिजन वन कार्यालयबाट विनियोजित २० लाख बजेटबाट लालीगुराँस पार्कको पूर्वाधार निर्माण गरिएको छ । ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाइएको उहाँको भनाइ छ ।

पार्कभित्र ढंगा बिछ्याएर पदमार्ग बनाइएको छ । पार्कबाट गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ ।

विहानी पुनहिलको भ्रमण गरेका पर्यटक दिउँसोमा गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर मनोरम दृश्यावलोकन गरेर पुन घोडेपान फर्किन सक्छन् । घोडेपानी क्षेत्रमा राप्पु, सेप्पु र चिमाला लगायतका आठ प्रजातिका लालीगुराँस पाईन्छन ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटलको सुविधा विस्तार, सडकको पहुँ, पदमार्ग, लालीगुराँस जंगलमा आराम तथा रमाउने पुर्वाधार निर्माण गरिएको घोरेपानी होटल ब्यवस्थापन उपसमितिका अध्यक्ष मिना पनुले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?