पुलिसको लगातार तेस्रो जित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ फाइनल सम्भावना मजबुत बनाएको छ । पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार दिउँसो भएको खेलमा पुलिसले २५-१८, २५-१२ र २५-१८ को सहज जित हात पारेको हो । पुलिसले पहिलो खेलमा गण्डकी प्रदेश र दोस्रो खेलमा एभरेष्ट भलिबल क्लबलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेको थियो । त्यसअघि न्यू डायमण्डले एभरेष्टमाथि २५-१७, २५-१२ र २५-१२ को सहज जित हात पारेको हो ।

पुलिस तीन खेलमा नौ अंकका साथ शीर्षस्थानमा छ । न्यू डायमण्ड दुई खेलमा तीन अंकका साथ दोस्रो स्थानमा छ । एपिएफ दुई खेलमा पाँच अंकका साथ तेस्रो स्थानमा छ ।

यस्तै, टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले पनि लगातार दोस्रो जित हात पारेको छ । हेल्प नेपालले दावाली मिलन क्लबमाथि सोझो सेटमा जितका साथ महत्वपूर्ण ३ अंक तालिकामा जोडेको छ । हेल्प नेपालले दावाली मिलन क्लबमाथि २५–१७, २५–२२ र २५–२१ को सेटमा जित हात पारेको हो ।

दावाली पहिलो खेलमा एपिएफ र आर्मीसँग तीन-शून्यको सोझो सेटमा पराजित भएको थियो । टिपटप हेल्प नेपालले पहिलो खेलमा शैलुङ बागढुंगामाथि तीन–शून्यको सहज जित हात पारेको थियो । टिपटप हेल्प नेपालले मंगलबार गण्डकी प्रदेशसँग खेल्नेछ । दावालीले मंगलबार नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

यस्तै, नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । उपाधिको दाबेदार एपिएफले गण्डकी प्रदेशमाथि तीन-शून्यको सोझो सेटमा जित हात पारेको हो । एपिएफले २५-१२, २५-१८ र २५-८ को सोझो सेटमा जित हात पारेको हो । गण्डकी पहिलो खेलमा नेपाल पुलिस क्लब र दोस्रो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग सोझो सेटमा पराजित भएको थियो । एपिएफको जितमा पूजा चौधरी केल्मी प्लेयर अफ द म्याच चुनिनुभयो ।

महिलातर्फ होंगान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । न्यू डायमण्डले एभरेष्ट भलिबल ट्रेनिङ सेन्टरमाथि तीन-शून्यको सोझो सेटमा जित हात पारेको हो ।

दोस्रो खेलमा न्यू डायमण्डले २५–१७, २५–१२ र २५–१२ को सहज जित हात पारेको हो । पहिलो सेटमा एभरेष्टले ४-१ को अग्रता लिएको थियो । न्यू डायमण्डको जितमा युवा खेलाडी सुमित्रा रेग्मी केल्मी प्लेयर द म्याच हुनुभयो ।

प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ सात टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुङ बागढुंगा स्पोर्ट्स क्लब र दावाली मिलन क्लब रहेका छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा दुवैतर्फको विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाइकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?