लागुऔषधसहित १९ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट १९ जना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१४ नैकापबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ६८ ट्याब्लेटसहित रामेछाप दोरम्बा गाउँपालिका-७ घर भई हाल काठमाडौं न्यूरोड बस्ने २१ वर्षीय सुनिल तामाङ समेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५५ केजी र नगद २ लाख रूपैयाँसहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३२ वर्षीय रामसिंह मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बा.२० च ९८३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढालाको तल सेफ बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी गाडीका चालक मोक्तानलाई पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-३ कैलाशपथबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम र नगद १ लाख ९६ हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने भारत सुपौल घर भएका २७ वर्षीय  हिमाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।

कैलालीको टिकापुर नगरपालिका-१ ब्लक नम्बर ६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित टीकापुर नगरपालिका-१ ब्लक नम्बर ७ बस्ने २६ वर्षीय शंकर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको मेचिनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१ बस्ने २० वर्षीय बिशाल दमाई, २१ वर्षीय गणेश राजवंशी, अर्जुनधारा नगरपालिका बस्ने २७ वर्षीय निकाश अधिकारी, मेचिनगर नगरपालिका-७ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन् । प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाकै मेचिनगर नगरपालिका-१३ फुलबारी टोल बस्ने २५ वर्षीय तुलसी राजवंशीलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो काकडभिट्टा र प्रहरी चौकी चारआलिबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-११ बिपिचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २० वर्षीय शाहिल आलम जसगढ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेकै नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका-४ बस्ने १९ वर्षीय प्रकाश परियारलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रौतहटको गौर नगरपालिका-२ महादेवपट्टीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नोर्फिन ३ सय एम्पुलसहित गौर नगरपालिका-१ बस्ने १२ वर्षीय बालकलाई  प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट साईकलमा आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी थाना गौरीफन्टा ग्राम वनगाँउ बस्ने २० वर्षीय राज राना र २१ वर्षीय आकाश राना रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले राज रानालाई २ सय १० मिलिग्राम र आकाश रानालाई १ सय ८० मिलिग्रामसहित पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?