सिन्धुलीमा महिला सशक्तीकरणका लागि संवाद कार्यक्रम सम्पन्न

हिमालय टाइम्स
Read Time = 8 mins

सिन्धुली । महिला सशक्तीकरणका लागि संवाद कार्यक्रम बुधबार सिन्धुलीमाडीमा सम्पन्न भएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे), सिन्धुलीको सहकार्यमा जिल्ला समन्वय समिति, सिन्धुलीले आयोजना गरेको संवाद कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख कारसाङ लामाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महिला तथा मानव अधिकारका क्षेत्रमा सक्रिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र महिला तथा मानव अधिकारकर्मीहरुको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले महिला सशक्तिकरणका लागि स्थानीय पालिकाहरु पुर्वधार विकासमा मात्रै नलागेर सामाजिक विकासमा पनि जोड दिन आवश्यक रहेको बताउनुभयो । महिलालाई सिप र शिक्षामा पहूँच, वित्तिय पहुँच, स्वास्थ्य सेवा र हिंसा न्यूनिकरणका लागि पालिकाहरुले जोड दिनुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो ।

संघियता आउनुअघि महिला, बालबालिका र पिछडीएको समुदायहरुको लागि छुट्याइने गरिएको ३५ प्रतिशत बजेट पछिल्लो समय नछुट्याइएको पाइएकाले जिल्ला समन्वय समितिलाई त्यसको निरन्तरताको लागि स्थानीय तहहरुसँग समन्वय गर्न उहाँले सुझावसमेत दिनुभयो ।
कार्यक्रममा अन्तर पार्टी महिला सञ्जाल, सिन्धुलीकी सचिव यशोदा कोइरालाले महिला सशक्तीकरणका लागि शैक्षिक चेतनाको विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । ‘जबसम्म शैक्षिक चेतनाको विकास हुन सक्दैन, महिलाहरुले केही पनि गर्न सक्दैनन्,’ उहाँले भन्नुभयो ।
नेपाल महिला संघ, सिन्धुलीकी सभापति गंगा दाहालले महिला सशक्तीकरणका लागि महिलालाई आर्थिक, प्रविधि तथा सिप र शिक्षामा जोड्नु पर्ने धारणा राख्नुभयो । यसका लागि नेतृत्वमा रहेका प्रतिनिधिमुलक महिला र विशेषज्ञ टोली राखेर रणनीति तथा कार्य योजना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिलाई भन्नुभयो, ‘तीन दिनको समय छुट्याएर प्रतिनिधिमुलक महिला र विशेषज्ञ टोलीसहितको उपस्थितिमा महिला सशक्तीकरणका लागि रणनीति तथा कार्य योजना बनाउन अनुरोध गर्दछु ।’

महिलाले महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक हुन आवश्यक रहेको उहाँको भनाई थियो ।

अखिल नेपाल महिला संघ, सिन्धुलीकी अध्यक्ष पार्वती भट्टराईले निर्णायक भूमिकामा महिलाको नेतृत्व हुन आवश्यक रहेको बताउनुभयो । ‘हरेक क्षेत्रको नेतृत्वमा जबसम्म महिला पुग्न सकिदैन, तबसम्म पछाडी हुनुपर्ने छ । यसका लागि महिला नेतृत्व सक्षम भएर अगाडी आउन पर्छ,’ उहाँले सुनाउनुभयो ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष अनिता कुमारी राईले पुरुष निर्णयक भूमिकामा हुँदा महिलालाई सेवा लिनसमेत समस्या भइरहेको बताउनुभयो । आफूलाई सक्षम र अब्बल सावित गर्नको लागि महिला स्वयंमले संर्घष गर्नु पर्नेमा उहाँको जोड थियो ।
मरिण गाउँपालिका उपाध्यक्ष विमला माझीले महिला आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिकजस्ता सबै क्षेत्रमा पछाडी पर्नु परेको अवस्था रहेको बताउनुभयो । यसका लागि अहिले नेतृत्वमा पुगेका महिला र महिला अधिकार क्षेत्रसँग सम्बद्ध संघसंस्था सबै एकजुट भएर परिर्वतनका लागि लाग्न आवश्यकता रहेको उहाँले औल्याउनुभयो ।

उहाँले आफू उपाध्यक्षमा निर्वाचित भएपछि महिलालाई हरेक क्षेत्रमा सहज सेवा पुर्याउनुका साथै महिला सशक्तीकरणका लागि जोड दिएको बताउनुभयो । भन्नुभयो, ‘गर्भवती महिलालाई अस्पताल आवातजावत गर्न निशुल्क एम्बुलेन्स सेवा, छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार सहयोग, बालविवाह न्यूनिकरण तथा किशोरी शिक्षा प्रोत्साहनको लागि स्नातक तह उत्र्तिण गर्ने छात्राहरुलाई एक लाख पुरस्कार र एसईई उत्र्तिण गरेर कक्षा ११ मा अध्यन गर्ने छात्राहरुलाई विद्यालयसम्म पुग्न साइकल वितरणजस्ता विभिन्न महिलामैत्री कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ ।’
उद्यमी महिला संघकी अध्यक्ष रिता बोगटीले महिला उद्यममा जोडिएर आर्थिक रुपमा सक्षम नभएसम्म सबै क्षेत्रबाट पछाडी पर्नु पर्ने धारणा राख्नुभयो । महिला सशक्तिकरणका लागि महिलालाई उद्यम, व्यवसायमा लाग्न, लगाउन र प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।

अपाङग महिला संघ, सिन्धुलीकी अध्यक्ष दिपा देवकोटाले सार्वजनिक सेवाका लागि बनाइएका भौतिक संरचनाहरु अपाङगतामैत्री नहुँदा परेका समस्या, अपाङगता भएका व्यक्तिहरुका भोगाइ र अफ्ट्याराका बारेमा जानकारी गराउनुभएको थियो ।

सुरक्षित आवास गृह, सिन्धुलीकी व्यवस्थापक गिता देवकोटाले सुरक्षित आवास गृहमा हिंसा पीडितको अवस्था, हिंसा पीडित महिला, बालबालिका शिक्षाबाट बन्चित हुनु परेको, जन्म दर्ता तथा नागरिकता लिन समस्या भएको, हिंसा पीडित महिलालाई पुर्नस्थापनमा समस्या देखिएको लगायत आर्थिक अभावका कारण उहाँहरुको पालनपोषण र सुरक्षामा अफ्ट्यारो परिरहेको बताउनु भएको थियो ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे),सिन्धुलीकी अध्यक्ष राधिका बुढाथोकीले सहजीकरण गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समिति, सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?