लप्चिबाट चीन जाने नाका नखुल्दा लप्चिवासी मारमा

हिमालय टाइम्स
Read Time = 5 mins

-नवराज शिवाकोटी

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर एक नेपाल-चीन सीमा नजिकमा रहेको लप्चि गाउँका स्थानीयहरु चीनसँगको नाका नखुल्दा मारमा परेका छन् । आफ्ना चौंरी, घोडा तथा अन्य दुग्ध जन्य उत्पादन तिब्बत तर्फ निर्यात गर्न तथा आवश्यकीय वस्नु आयात गर्न नपाउँदा उनीहरु मारमा परेका हुन् ।

कोरोना कहर पछि बन्द गरिएको नाका अहिले सम्म नखुल्दा आफूहरु ठूलो मारमा परेकोले नाका खुलाई दिन आग्रह गर्दै निवेदन दिन मंगलवार जिल्ला प्रशासन कार्यालय आएका थुन्डुप घिसिङ शेर्पाले बताउनु भयो । “ चौरी तथा घोडा पाल्ने हाम्रो काम हो । नाका बन्द भएका कारण करिब चार वर्षदेखि चौरी बेच्न पाएका छैनौं । बाटो खोली दिन मद्दत गर्न सिडियो साबलाई भेट्न हामी आएका ” थुन्डुपले भन्नु भयो“ चौँरीको दाना पनि उतै बाट ल्याउँथ्यौं । खाद्यान्न ल्याउन पनि उतै बाट सजिलो थियो अहिले त साह्रै सकस परेको छ । ” लप्चीवासीले चौरी चराउने खर्क पनि चीनतिरै छन् । स्थानीयले चौँरी चराएबापत चीनका स्थानीय अधिकारीहरुलाई खर्चरी (चौरि चराएबापत को कर) बुझाउने गरेको उहाँको भनाई छ । खर्चरीका रुपमा घिउ, चौरी जस्ता कुरा बझाउने लप्चीका स्थानीयहरुको भनाई रहेको छ ।

लप्चीमा खेती गर्ने जग्गा खासै नभएकोले सबैको पेशा चौंरी तथा घोडा पालन भएको थुन्डुपसँगै आएका अर्का चौंरीपालक करा शेर्पाले बताउनु भयो । “लामावगरबाट सामान ल्याउन वर्षाको समयमा सकीँदैन ठूला खोला तथा भीरको बाटो हिँड्न सकिने अवस्था छैन ।” उहाँले भन्नु भयो “ अब बाटो नखोल्ने हो भने भोकमरी लाग्न सक्छ । ”

केही समय अघि चीनबाट २२ जना मानिसहरु आई आफूहरुलाई जिल्लामा भन्नु अनि एम्बेसीमा कुरागरेपछि मात्रै बाटो खोल्न मिल्छ भनेकोले आफूहरु सदरमुकाम आएको उहाँको भनाई छ ।

दुरी र बाटोको सहजताका हिसावले लप्चीवासीकालागि तिब्बतमा रहेको टासिध्याङ गाउँ र छोप्साङ बजार लामावगर आउन भन्दा नजिक पर्दछ । लप्चीबाट पैदल ३ घण्टामा छोप्साङ पुग्न सकिने तर लामावगर आउन दुई दिन लाग्ने स्थानीयहरुको भनाई रहेको छ । पैदल हिँड्ने बाटो सजिलो भएकोले स्थानीयहरु चीनबाट आफूलाई आवश्यक पर्ने सामानहरु खरिद गर्ने गर्दथे । यसैगरी आफ्ना घोडा, चौँरीहरु तथा चाैंरीबाट उत्पादन हुने दुग्ध जन्यवस्तुहरु तिब्बत तर्फ निर्यात गर्ने गर्ने गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सिमा दुई देशका विचको मामिला भएकोको आफूले लप्ची वासीको समास्याका बारेमा गृह मन्त्रालयलाई जानकारी गराईसकेको बताउनुभयो । लप्चि क्षेत्रमा विद्युत तथा संचारको ब्यवस्था मिलाउन समेत पहल भइरहेको उहाँको भनाई रहेको छ । दोलखाको बाट चीन सिमा नजिकको अन्तिम गाउँ लप्चिमा ३० घरको बसोवास रहेको छ । यहाँ पुरातात्वीक महत्वको प्राचिन लप्चि गुम्बा रहेको छ ।

सिडिओलाई आफ्ना समस्याबारे जानकारी गराएपछी गृह मन्त्रालय तथा पराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई लप्चिवासीको गुनासो सुनाउन आफूहरु राजधानी जाने उहाँहरुले हिमालय टाइम्स सहकर्मी सँगको कुराकानीका क्रममा बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?