हालका दिनमा अर्थतन्त्रमा समस्या देखा परिरहेको छ । यस विषयमा अनेकौं हल्ला चल्ने गरेका छन् । अर्थतन्त्र डामाडोल भएका कारण देश आर्थिक संकटमा पर्दै गएको छ भन्ने गरिएको छ । यसमा केही सत्यता छ भने केही अतिरञ्जना पनि नहोला भन्न सकिँदैन । सत्तापक्षकाहरूले देशको अर्थतन्त्र बाहिर हल्ला भएजस्तो कमजोर छैन भन्ने गरेका छन्, केही समस्या भने भएको तर तिनको निराकरणको प्रयास भइरहेको बताउने गरिएको छ । उता प्रतिपक्षीहरूले चाहिँ विद्यमान अवस्थाभन्दा अतिरञ्जना गरेर बाहिर प्रचार गर्दै आएका छन् । देश छिट्टै श्रीलंकाको जस्तो अवस्थामा पुग्नेछ भन्ने चर्चा गर्ने गर्दछन् । सत्ता र प्रतिपक्ष दुवैभन्दा अलिक पर तटस्थ रहेर हेर्नेहरूले भने ती दुवैका कुरालाई केही मात्रामा सत्य हुन् र केहीमा अनर्गल प्रचारको प्रयास भएको छ भनेर बुझ्नुपर्ने हुन्छ ।
तर, यथार्थ के हो भने हालका दिनहरूमा अर्थतन्त्रमा केही असजिलोपन पक्कै आएको छ । साना कमजोर र अविकसित गरिब देशलाई सधैं अर्थतन्त्र सञ्चालन गर्न अप्ठ्यारो नै हुन्छ । त्यसमाथि पनि विश्व नै मन्दीको चपेटामा रहेकाले असहज भएको भने निश्चित हो । व्यापारी–व्यवसायीहरू व्यापार-व्यवसाय चलेको छैन भन्छन्, उद्योगीहरूका उद्योगको अवस्था त्यस्तै छ भनिन्छ । एक ठाउँबाट पुँजी परिचालन हुन नपाएका खण्डमा सबैतिर त्यो चलायमान हुन सक्दैन र आर्थिक संकट सिर्जना हुनपुग्छ । अहिले त्यस्तै भइरहेको अवस्था छ । शहरी क्षेत्रमा घरहरू भाडा नलागेर खाली भइरहेका छन् भन्ने गरिएको छ, व्यापारका उद्देश्यबाट बनाइएका सटर कबलहरू खाली भइरहेका छन् ।
साना व्यापारीहरू व्यापारबाट गुजारा नचलेका कारण पलायन भइरहेका छन् । बैंकहरूमा ऋण लिने मानिस नभएका कारण पैसा त्यसै रहिरहेको छ भन्ने गरिएको छ । पुँजी परिचालन हुन नसकेका कारण सहकारीहरू पनि संकटमा छन् । यसरी गुज्रिरहेको देशको अर्थव्यवस्था अहिले सहकारीहरूका कारण अझै कठिन अवस्थामा पुगेको छ । सहकारी भनेको सहकार्य हो । बचतकर्ता र सञ्चालकको सहकार्यबाट सहकारी चल्ने हो । सिद्धान्तको कुरा यस्तो भए तापनि हाम्रोमा वास्तविकता यस्तो छैन । केही व्यक्ति मिलेर सहकारी दर्ता गर्ने र बचतकर्ताको रकम आफैंले चलाउने गर्छन् । यसो गर्दा उनीहरूलाई थोरै व्याज दिएर आफू उनीहरूको उक्त पैसा व्यापार, व्यवसाय, घरजग्गा आदिमा लगानी गर्ने गरेका छन् ।
यसो गरेर आफू महँगा गाडी चढ्ने र आलिसान महलमा बस्ने गरेका छन् । सहकारीमा काम गर्ने कर्मचारी र रकम संकलकलाई अत्यन्त थोरै तलबमा काम लगाउने गरेका छन् । यसो गर्दागर्दै बचतकर्ताको बचत उनीहरूले सम्पूर्ण नै आफैंले चलाउने र निजीजस्तो बनाउने गरेका हुन्छन् । केही रकम लगानी गरे पनि आफ्नै मानिसलाई दिने गर्छन् । बचतकर्ताहरू एकै पटक आफ्नो खाताको पैसा लिन आउँदैनन् । बिस्तारै थोरै-थोरै गरेर बैंकिङ कारोबार चल्दै जान्छ । ठूलो र मुष्ट रकम भने सञ्चालकहरूको निजी बन्ने गर्दछ । अहिले राष्ट्रियस्तरमै आर्थिक मन्दी आएबाट सहकारीले लगानी गरेका घरजग्गाको कारोबार मन्दीमा छ ।
आर्थिक कठिनाइ पैदा भएको र सहकारीसमेत कठिनाइबाट गुज्रिरहेकाले आफ्नो बचत डुब्ने भयले खाताको पैसा लिन जाँदा दिन नसकेर सहकारी भाग्ने गरेका छन् । यस्तो रकमको परिमाण धेरै ठूलो छ । मानिसको अर्बाैंको सम्पत्ति फसेर हजारौं उजुरी परेका कारण प्रहरीलेसमेत अनुसन्धान गर्न कठिनाइ भएको बताएको छ । जसले गर्दा समस्या अझै बल्झिएर गएको छ । विविध कारणले नागरिकको अर्बाैं रुपैयाँ फसेको छ । यही समस्यालाई हृदयंगम गरेर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले भाग्ने सहकारीलाई जहाँ भेट्यो त्यहीँ पक्रिन निर्देशन दिनुभएको छ ।
उहाँको यो आक्रामक भनाइले कति सार्थकता पाउला र नागरिकले गाँस काटेर जम्मा गरेको रकम कति असुलउपर होला, पछिको कुरा हो तर आफ्नो अधिकार क्षेत्रभित्रका अनेकौं काम जनताले प्रशंसा गर्ने ढंगले गर्दै आउनुभएका बालेनप्रति जनताको विश्वास भएकाले भाग्ने सहकारीहरूले मनोवैज्ञानिक रूपमा उहाँप्रति भय राखेकाले यस्ता समस्या केही हदसम्म भए पनि समाधान होलान् कि भनेर विश्वास गर्न सकिन्छ । बालेन एक्लो भएका कारण सरकारले पनि उहाँको कदममा सहयोग गर्ने हो भने समस्या समाधान हुन नसक्ने कुरै छैन तर काम गर्न इच्छाशक्ति र तदारुकता हुनुपर्छ । सबैको भलाई हुने विषयको समाधान खोज्ने काममा सरकार पनि लागि पर्नुपर्ने अपेक्षा स्वाभाविक हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच