नवशाहज्यादाहरूको रजगज

Read Time = 15 mins

नेपालमा आजभोलि भ्रष्टाचारका समाचारमा नेतापुत्रहरूको संलग्नता व्यापकरूपमा बढेको पाइन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुईजना नेताका छोराहरू मुछिए रे, बालुवाटार जग्गा प्रकरणमा मन्त्री एवं अमूक पार्टीका ठूला नेताका छोरा संलग्न थिए रे, इलेक्ट्रोनिक चुरोटभित्र सुन लुकाएर ल्याउनेमा ठूलै नेताको छोराको नेतृत्व थियो रे । यस्ता समाचार नेपालमा सामान्य बनिरहेका छन् र यी प्रकरणहरूले लोकतन्त्रका माध्यमबाट देशको भविष्य उज्ज्वल हुने सपना बोकेका आमनागरिकलाई निराश बनाउँदै लगेका छन् ।

विश्वव्यापीरूपमै सफल मानिएको लोकतन्त्रलाई संस्थागत गर्दै लोकतान्त्रिक समाजवादका माध्यमबाट नेपाल र नेपालीको भाग्यको रूपरेखा कोर्नु सरकार सञ्चालकहरूको प्रमुख दायित्व हो । नेपाल र नेपालीको विडम्बना चाहिँ के हो भने चुनावमार्फत मुलुक सञ्चालनका अभिभारा प्राप्त गर्ने राजनीतिक दलहरू लाखौं योद्धाहरूको संघर्ष र शयौं शहीदहरूको बलिदानीबाट प्राप्त लोकतन्त्रलाई आमनागरिकको हृदयको ढुकढुकीका रूपमा विकसित गर्नुको सट्टा आफ्ना सन्तति, नातागोता र आसेपासेहरूको हितमा केन्द्रित गराउन सक्रिय भएको अनुभूति सर्वत्र गर्न थालिएको छ । विशेषतः यस प्रकृतिका कार्यमा पुराना र ठूला भनिएका दलहरू र तिनका नेताहरूलाई आमनागरिकले दोषी देख्न थालेका छन् ।

जनताका बीचबाट चुनिएको मान्छेमात्रै लोकतन्त्रमा नेता बन्न सक्दछ । दिनोरात देश र जनताका बारेमा सोच्ने, जनताको हितलाई नै आफ्नो हित ठान्ने र एकको होइन समुदायको चिन्ता र चिन्तन गरिरहनेमात्रै लोकतान्त्रिक समाजवादी नेता ठहरिन सक्दछ । जनताको शासक नभई जनताको सेवक ठानेर जनताकै बीचमा रमाउने व्यक्तिमात्रै लोकप्रिय नेता बन्न सक्दछ तर संविधानले नेपालमा लोकतान्त्रिक समाजवादी व्यवस्था लागू भइसकेको बताउँछ भने लोकतन्त्रको मसिहा ठानिने नेताहरूमा राजाहरूको शैलीले डेरा जमाउँदै गएको छ ।

पञ्चायतकालभरि राजा संविधानमाथि भए भनेर त्यसको विरोध गरियो । राजाको मुख नै कानुन हुने र राजाका क्रियाकलापमाथि जे जस्तो भए पनि आवाज उठाउन नपाइने हुनाले प्रजातान्त्रिक युगमा यस्तो व्यवस्था स्वीकार्य हुन सक्दैन भनेर जनआन्दोलनहरू भए ।

पञ्चायतकालभरि राजा संविधानमाथि भए भनेर त्यसको विरोध गरियो । राजाको मुख नै कानुन हुने र राजाका क्रियाकलापमाथि जे जस्तो भए पनि आवाज उठाउन नपाइने हुनाले प्रजातान्त्रिक युगमा यस्तो व्यवस्था स्वीकार्य हुन सक्दैन भनेर जनआन्दोलनहरू भए । राणाशासनका पालाका ज्यादतीको त वर्णन गर्नुपर्ने दिनहरू धेरै अघि नै समाप्त भइसके । देशमा जसले शासन गर्दछ, ऊ पनि संविधानअन्तर्गत नै रहनुपर्दछ र यसो भएमा अराजकताले ठाउँ पाउँदैन भन्ने मान्यता राखेर ज्यानको बाजी थाप्दै आमनेपाली संघर्षमा उत्रिएका थिए । संविधानमा लोकतन्त्र त नेपाली जनताले लेखाए तर वास्तविक लोकतन्त्रको अनुभव गर्न भने अझै पाएका छैनन् भन्दा पनि हुने अवस्था छ ।

केही नपाएका भने होइनन् । नेपाली जनताले शासकहरूका विरुद्धमा अभिमत जाहेर गर्न पाएका छन् । विरोध सभाहरू गर्दै नेताहरूका गलत आचरण, व्यवहार र कार्यशैलीहरूका विरुद्धमा आवाज मुखरित गर्न पाएका छन् । संविधान, लोकतन्त्र र कानुनविपरीत भए÷गरेका कदमका विरुद्धमा पत्रपत्रिकालगायत माध्यममा लेखेर विरोध गर्न पाएका छन् तर विरोध गर्न पाउनुलाई मात्रै लोकतान्त्रिक अधिकारका रूपमा लिएर सन्तोष मान्न सकिने भने पटक्कै होइन । सत्ता सञ्चालकहरूलाई सच्याउनका निमित्त विरोध गरिने हो तर जति गर्दा पनि सच्चिएनन् भने त्यस्तो विरोधको कुनै अर्थ रहँदैन ।

राजा वीरेन्द्र प्रजातन्त्र दिन सहमत भएका थिए । देशको निर्वाचन प्रणाली र शासकीय शैली परिवर्तन गर्न राजी हुँदै संवैधानिक राजाका रूपमा बस्न मञ्जुर भए । विगतका गल्तीहरूलाई सच्याउन स्वीकार गरेकै कारण प्रजातन्त्र बहाली भएपछि पनि वीरेन्द्र वीरविक्रम शाह आफ्ना जीवनकालभरि राजा नै भएर रहे र उनीमाथि जनताको विश्वास बढ्दै गएको थियो । उनका छोरा दीपेन्द्रले अपनाउन थालेको सर्वसाधारण शैलीलाई पनि जनताले प्रशंसा गर्दै गएका थिए । युवराजधिराज पदवी प्राप्त गरेर देशले अलग्गै मानसम्मान दिइरहेको भए पनि आमनागरिकका बीचमा घुलमिल हुने उनको प्रयत्नले राजसंस्थाकै मर्यादामा वृद्धि हुँदै गइरहेको थियो । दुर्भाग्य, उनै युवराजमाथि आफ्नो वंशविनाशका आरोप लाग्यो र राजपरिवार नै सखाप हुनपुग्यो ।

त्यसपछि राजा भएका ज्ञानेन्द्रमा भने उनले विगतमा देखे-भोगेका आफ्ना पिता र मावलीतिरका राणाहरूको शैलीले लोभ्यायो । संवैधानिक राजामात्र भएर बस्ने इच्छा उनमा रत्तिभर रहेन । महत्वाकांक्षा बढ्दै जाँदा प्रजातन्त्रको अपहरण गरे । जनताको मनको राजा होइन कि सेना, प्रहरी र शक्तिकेन्द्रहरूको आडमा शासन गर्ने रहर पलायो । संविधान मान्ने पनि के राजा, संविधानमाथि रहने पो राजा भन्ने राजा ज्ञानेन्द्रलाई लागेको हुन सक्दछ । त्यही गलत महत्वाकांक्षाका कारण ज्ञानेन्द्रले मात्रै सत्ता छाड्नु परेन कि नेपालबाट साढे दुई सय वर्ष पुरानो राज परम्पराको नै अन्त्य हुन पुग्यो । आफू त दरबारबाट बाहिरिए नै, आफ्ना सन्तान दरसन्तानले पाउने राजपरिवारको दर्जालाई समेत समाप्त पारे ।

हेमबहादुर मल्ल भनिने जनकपुरतिरका एक व्यक्ति पञ्चायतकालमा पटक-पटक मन्त्री हुने गर्दथे । उनी मन्त्रालयमा हाजिर हुन गएकै दिन मन्त्रालयका कर्मचारीहरूलाई बोलाएर बैठक राख्दथे रे । बैठकमा उनको सधैं एउटै भनाइ हुन्थ्यो भन्ने सुनिन्छ । त्यो हो- नियम कानुनले मिल्ने जति काम सचिव, सहसचिवहरूले आफैं गर्नू । यदि नियम कानुनले दिएन भने म कहाँ ल्याउनू । अर्थात्, उनले पाएको मन्त्रालयमा नियमले दिए पनि नदिए पनि सबै काम हुन सक्दछन् भन्ने उनको आशय रहन्थ्यो । उनले चाहेका सबै मान्छे संस्थामा रिक्त पद रहे पनि नरहे पनि जागिरे हुने अवसरबाट लाभान्वित हुने गर्दथे भन्ने अद्यापि चर्चा चल्ने गर्दछ ।

ठ्याक्कै त्यस्तै अहिलेका नेताहरूमा पनि त्यही शैली देखिन थाल्नुले नै कतै लोकतन्त्रमाथि खतरा हुने त होइन भन्ने आशंका बढाउन थालेको छ । पञ्चायतकालमा शाहज्यादाहरूका ज्यादतीहरू छताछुल्ल हुने गर्दथे तर बोल्न पाइँदैनथ्यो । उतिबेला ज्यादै कम संख्यामा शाहज्यादा र शाहज्यादीहरू थिए र उपद्रो मच्चाउनेको संख्या खासै धेरै थिएन । दरबारियाहरूका बारेमा बोल्न नपाइने कानुन भए पनि एककान दुईकान हुँदै देशैभरि चर्चा हुने गर्दथ्यो । अहिले भने राजा हुन चाहने नेताहरूको संख्या पनि उल्लेख्य रूपमा बढेको छ र शाहज्यादाहरूका कर्तूतहरूले अखबारका पानाहरू भरिन थालेका छन् । यो अवस्थाको अन्त्य हुनसकेन भने नेपाल र नेपालीले अझै कतिपय दुर्भाग्यको भुँमरीमा फसिरहनुपर्ने हो अनुमान गर्न सकिँदैन ।

नेताहरूले मात्रै राजा बन्न खोजेको होइन कि पछिल्लो समयमा त नेतापुत्रहरूमा शाहज्यादा हुने शोख पलाएको पनि प्रष्टै देखिन्छ । यी नवशाहज्यादाहरूको चर्तिकलाले त पञ्चायतकालका शाहज्यादाहरूलाई निकै पछाडि धकेलेको अनुभव हुनथालेको छ ।

राजनीतिक दलहरूको केन्द्रीय समितिको सदस्यसम्म बन्न सफल भएका नेताहरूको घरमा गएर हेर्‍यौं भने आजभोलि उसका लागि छुट्टै बस्ने आसनको व्यवस्था गरिएको देखिन्छ । नेता बस्ने कुर्सी अलिक भिन्ने खालको आरामदायी र उनलाई भेट्न जानेहरूका लागि अलिक कम गुणस्तरका राखिएको हुन्छ । त्यो नेतासँगै हुर्किएको, बढेको र खाइखेलेको व्यक्तिसमेत त्यहाँ जाँदा त्यो कुर्सीमा बस्ने अधिकार राख्दैन । उसलाई केन्द्रीय समितिमा पुर्‍याउन हरदम प्रयत्न गर्नेले समेत नेतालाई छुट्याइएको कुर्सीमा बस्ने हिम्मत गर्दैन । मानौं, नेतालाई भनिएको कुर्सी अरू कसैले छोइदियो भने त्यो जुठो हुन्छ ।

नेतालाई नेता बनाउन मन, वचन र कर्मले सहयोग गरेकाको फोन उठाएमा स्तर खस्कने झैँ ठान्दछन् ठूला भनिएका नेताहरू । कुनै बेला व्यस्त हुन सक्लान् तर फुर्सद भएपछि दुःखको बेलाको मित्रले किन फोन गरेछ भनेर प्रत्युत्तर फोन गर्नसमेत आवश्यक ठान्दैनन् । उसलाई भेट्न र कुरा राख्नु पर्ने हो भने बिहानै उठेर नेताको दैलोमा पुग्नुपर्ने धारणा नेताहरूमा रहेको पाउन थालिएको छ । दैलामा नपुग्नेलाई आफ्नो देख्दै देख्दैनन् ।

कार्यकर्ताहरूलाई बिहान ८ बजेको समय दिएपछि लोकतन्त्रवादी नेताहरू बिहान पौने आठै बजे तयार भएर भेटघाट सुरु गर्नुपर्ने हो तर घरमा भीड लागिसकेपछि ९ बजेतिर मात्रै तीनतला माथिबाट ओर्लन्छन् । मानौं, अरूको समयको मतलबै छैन र नेता जो हो उसका सबै हर्कतलाई अरूले स्वीकार गर्नुपर्दछ । व्यापारी, ठेकेदार आदिहरूलाई भने बिहानै ६ बजे आए पनि शयनकक्षमै राखेर वार्ता गरिरहेका पनि देखिन्छन् । नेताहरूलाई हिटलरले कुखुराको एकएक भुत्ला पालैपालो खुइल्याएर पछि मकैको दाना छर्दै कुखुरालाई आफ्नै पछि हिँडाएर देखाएको उदाहरण राम्रैसँग थाहा भएकाले पनि त्यसो गरेका हुनसक्दछन् ।

नेताहरूले मात्रै राजा बन्न खोजेको होइन कि पछिल्लो समयमा त नेतापुत्रहरूमा शाहज्यादा हुने शोख पलाएको पनि प्रष्टै देखिन्छ । यी नव शाहज्यादाहरूको चर्तिकलाले त पञ्चायतकालका शाहज्यादाहरूलाई निकै पछाडि धकेलेको अनुभव हुनथालेको छ । नेताबाट कुनै काम लिनुपर्ने छ भने नेताका पिएलाई खुसी पार्नुपर्ने बाध्यता त छँदैछ, नेताका सन्ततिहरूको पनि चाकरी नबजाई धरै नपाइने भएको छ । यही प्रवृत्ति बढ्दै गएमा पुराना राजनीतिक दलहरूसँगका जनताको आस्था त ट्टुदै जान्छ नै, नेताहरूप्रतिको विश्वास कायम रहँदैन भन्ने कुरामा यथाशीघ्र ध्यान दिएनन् भने सकिनु सिवाय केही हुँदैन ।

यसमाथि पछिल्ला दिनहरूमा नवयुवराजहरूको भ्रष्टाचारमा संलग्नताका हल्लाहरू चल्नुले न नवराजालाई चोखो बस्न दिएको छ न यो व्यवस्थालाई नै सुदृढ हुन दिएको छ । नवशाहज्यादाहरूको बलात्कारमा संलग्नताका हल्ला चल्नु, भ्रष्टाचारमा मोह बढेको पाइनु र भ्रष्टाचारी पक्डने अभियान आरम्भ हुने बित्तिकै नवशाहज्यादाहरू फरार हुनुले तत् तत् नेता र शाहज्यादामात्रै होइन, लोकतन्त्रका लागि लडेका दलहरूको भरोसा नै उड्दै गएको छ । नेताहरूले गम्भीर भएर सोच्लान् त ?

Subscribe
Notify of
guest
4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-07-20 10:00 am

कार्यकर्ताहरूलाई बिहान ८ बजेको समय दिएपछि लोकतन्त्रवादी नेताहरू बिहान पौने आठै बजे तयार भएर भेटघाट सुरु गर्नुपर्ने हो तर घरमा भीड लागिसकेपछि ९ बजेतिर मात्रै तीनतला माथिबाट ओर्लन्छन् । मानौं, अरूको समयको मतलबै छैन र नेता जो हो उसका सबै हर्कतलाई अरूले स्वीकार गर्नुपर्दछ । व्यापारी, ठेकेदार आदिहरूलाई भने बिहानै ६ बजे आए पनि शयनकक्षमै राखेर वार्ता गरिरहेका पनि देखिन्छन् । नेताहरूलाई हिटलरले कुखुराको एकएक भुत्ला पालैपालो खुइल्याएर पछि मकैको दाना छर्दै कुखुरालाई आफ्नै पछि हिँडाएर देखाएको उदाहरण राम्रैसँग थाहा भएकाले पनि त्यसो गरेका हुनसक्दछन् ।

घतलाग्दो प्रस्तुति

Krishna Raj Hamal
Krishna Raj Hamal
2023-07-20 11:43 am

But I doubt whether they will listen.

रिलेटेड न्युज

छुटाउनुभयो कि ?