कांग्रेस बैठक : पूर्वगृहमन्त्री खाँणलाई निलम्बन गर्न माग

कोशी प्रदेश सरकारबारे नेताहरूबीच आरोप-प्रत्यारोप

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पूर्व-गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको छ । जारी केन्द्रीय समिति बैठकको तेस्रो दिन बिहीबारको बैठकमा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई तत्काल पार्टीबाट निलम्बन गर्न माग गर्नुभएको हो । पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँण प्रकरणमा पार्टीले द्विविधा राखेर सबैलाई भ्रममा पारेको आरोप लगाउँदै सिवाकोटीले भन्नुभयो, ‘यतिखेर कांग्रेस प्रचण्ड नेतृत्वको सरकारको मुख्य हिस्सेदार हो । यही सरकारको पालामा हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई अलग÷अलग आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । सभापतिज्यू, यो प्रकरणमा हाम्रो दुविधा अचम्मकै छ । खाँणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नु पर्‍यो र न्याय माग्नुप¥यो । होइन भने पार्टीबाट निलम्बन गर्नुपर्‍यो । यो बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रसार हुनुभएन । सरकार र साथीमध्ये के रोज्ने हो सभापतिज्यू यो बैठकले टुंगो लगाउनुपर्छ ।’

भ्रष्टाचार काण्डमा जोडिएकालाई तत्काल निलम्बन गरौँ : आचार्य
केन्द्रीय सदस्य मधु आचार्यले भ्रष्टाचार काण्डमा जोडिएकाहरूलाई निलम्बन गर्न माग गर्नुभएको छ । भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व कांग्रेसले गर्नुपर्ने जिकिर गर्दै आचार्यले भन्नुभयो, ‘बहुचर्चित भ्रष्टाचारको छानबिन गर्न सरकारलाई दबाब दिनुपर्छ । छानविनका क्रममा दोषी देखिएमा कारबाही गर्नुपर्छ । कांग्रेसले व्यक्ति हेर्दैन, एजेण्डा हेर्छ भन्नुपर्छ । नीतिगत निर्णय गरौँ । भ्रष्टाचारको कुनै पनि घटनामा पार्टीका सदस्य दोषी देखिएमा स्वतः निलम्बन मानिनेछ भनेर निर्णय गरौँ ।’

पार्टीभित्रै न्यायालय र न्यायाधीश बने : केसी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षा गर्नुभएको छ । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा केसीले मुद्दा किनारा नलाग्दै भैलो गाउँदै हिँडेको भन्दै केसीले पार्टीका नेताहरूको आलोचनासमेत गर्नुभयो । सर्वोच्चले दोषी ठहर गरेका रेशम चौधरीलाई आममाफी दिएको उल्लेख गर्दै नेता केसीले किनारा नलागेको मुद्दामा आफ्नै नेताहरू न्यायालय र न्यायाधीश बनेको आरोप लगाउँदै भन्नुभयो, ‘सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई आममाफीले चोख्याउन मिल्ने ? अदालतमा विचाराधीन रहेका मुद्दाहरूलाई किनारा नलाग्दै आफैँ न्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै हिँड्ने ?’ महामन्त्री गगन थापालाई संकेत गर्दै केसीले ख्याल नगरी संसदीय दलको नेता परिवर्तनको माग उठाएको आरोप लगाउँदै भन्नुभयो, ‘एउटा व्यक्तिलाई संसदीय दलको नेता चाहियो भन्दैमा समयको ख्याल नै नगरी बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइन्नन् कि ?’

बुधबारको बैठकमा पनि लक्ष्मी खतिवडालगायत केही केन्द्रीय सदस्यहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणको बचाउ गर्नुभएको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा खाँण वैशाख २७ गते पक्राउ परेका थिए । खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले असार १ गते आदेश दिएको थियो ।

सभापति नै फेर्न महामन्त्री थापालाई चुनौती
गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले दिएका अभिव्यक्तिले पार्टीप्रति नकारात्मक भ्रम फैलिएको भन्दै जथाभावी नबोल्न सचेत गराउनुभएको छ । बिहीबार बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले महामन्त्री थापाले संसदीय दलको नेता फेर्न प्रयास गरिरहेको भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै भन्नुभयो, ‘पार्टीको विधानमा सभापति चुन्ने/हटाउने व्यवस्था छ । त्यस्तै, संसदीय दलको नेता चुनिने र हटाउने व्यवस्था पनि छ । यो सबै कुरा विधानमा छ । तर, त्यो कुन बेला कसरी गर्ने भन्ने पनि व्यवस्था छ । त्यसैले गर्ने कुरालाई सकिन्छ भने गरिहालौँ, नभए भनेर मात्रै अतिरञ्जित नगरौँ, नभए पार्टीको बारेमा नै नकारात्मक भ्रम फैलाउने काम पार्टीका नेताहरूबाट नहोस् । जे-जे भए पनि हामी सबै एकै डुंगामा छौँ, डुब्दा सबै एकैपटक डुब्छौँ । शेरबहादुर देउवा डुबे गगन थापा पनि डुब्नुहुन्छ, म सुरेन्द्र पाण्डे पनि डुब्छु ।’

झापाको पार्टी विवाद केन्द्रीय समितिमा
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा झापा जिल्लाको पार्टी विवाद छताछुल्ल भएको छ । कोशी प्रदेश सभापति एवं कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पार्टी केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न माग गर्नुभएको छ । बैठकमा थापाले गत निर्वाचनमा बुढाथोकीले झापामा कांग्रेस उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै कारबाहीको माग गर्नुभयो । यस्तै, केन्द्रीय समिति बैठकमा कोशी प्रदेश सरकारबारे पनि मुख्यमन्त्री थापा र केन्द्रीय सदस्य बढाथोकीबीच जुहारी चलेको छ । सभामुखको समेत हस्ताक्षर प्रयोग गरी कोशी प्रदेश सरकार गठन गरेको विषयमा अदालतमा मुद्दा विचाराधीन छ । सर्वोच्चले कोशी सरकारलाई गत असार २७ गते दीर्घकालीन असर पुग्ने काम नगर्न आदेशसमेत दिएको छ । नेपाली कांग्रेस कोशी प्रदेश सभापतिसमेत रहनुभएका संसदीय दल नेता उद्धव थापा गठबन्धन दलको सहयोगमा असार २१ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । तर, कांग्रेसकै नेतृत्वमा बनेको कोशी सरकारबारे कांग्रेस केन्द्रीय समितिमा समेत प्रश्न उठेको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले सभामुखले मत हाल्न नपाउने तर्क गर्दै भन्नुभयो, ‘सभामुख उत्रिएर गोल हान्न पाउँछ ? सभामुखले सही गरेर बहुमत पुर्‍याउन मिल्छ ? यो तमासा कांग्रेसले टुलुटुलु हेर्ने ? खोइ छलफलका लागि एजेण्डा ? मुख्यमन्त्री मान्नुपर्ने हो कि संविधानअनुसार गलत छ भन्ने के भन्ने ?’

बुढाथोकीले प्रश्न गरेको एक दिनपछि केन्द्रीय समितिमा बोल्दै मुख्यमन्त्री थापाले कोशीका सभामुखलाई विवादमा पार्ने काम बुढाथोकीको अभिव्यक्तिबाट भएको आरोप लगाउनुभयो । मुख्यमन्त्री मान्ने कि नमान्ने ? भन्दै प्रश्न गरेका बुढाथोकीलाई मुख्यमन्त्री थापाले नमान्न पनि सक्ने जवाफ दिँदै भन्नुभयो, ‘सभामुख प्रदेशसभा सदस्य पनि हो । सदस्यको भूमिका र सभामुखको भूमिका फरक÷फरक हुन्छ । अध्यक्षता गरेको बेला मतदान गरेको भए गल्ती हुन सक्थ्यो । सभामुखले अध्यक्षता गरेको पनि अवस्था थिएन । मुख्यमन्त्री मान्ने कि नमान्ने ? भनेर तपाईंले सोध्नुभएको रहेछ, एमालेको हिक्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ, उद्धव थापालाई नमाने हुन्छ ।’

नेतृत्व परिवर्तनको कुरा बेमौसमी बाजा : केसी
केन्द्रीय सदस्य उर्मिला नेपाल केसीले कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको कुरा उठ्नु बेमौसमको बाजा जस्तै भएको टिप्पणी गर्नुभएको छ । केन्द्रीय समितिको बिहीबार बसेको बैठकमा बोल्दै केन्द्रीय सदस्य केसीले भन्नुभयो, ‘नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ । यो बेमौसमको बाजा जस्तो हो । किनभने भर्खरै मात्रै हामीले अधिवेशन सकेका छौँ । अधिवेशन सकेको धेरै समय भएको छै न । हामीले नेतृत्व जसलाई सुम्पिएका छौँ । विधानअनुरूप हामीले सभापति चयन भएर आएको हो । काम गर्ने मौका दिनुपर्छ ।’

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग
जारी केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउन माग उठेको छ । पार्टीको विधानमा वरिष्ठ नेतासम्बन्धी व्यवस्था छैन । तर, विगतमा महाधिवेशनमा सभापति पदका निकटतम प्रत्यासी रहेका नेतालाई केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेताको रूपमा सभापतिपछि दोस्रो वरीयता दिने अभ्यास थियो । १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित भएका नेता कोइराला अहिले पार्टीको वरीयता क्रममा २५औँ स्थानमा हुनुहुन्छ । कोइरालानिकट नेताहरू वरिष्ठ नेता बनाउन माग गर्दै आएका छन् । बिहीबारको बैठकमा केन्द्रीय सदस्य चन्द्रमोहन यादवले नेता कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गर्दै भन्नुभयो, ‘पार्टीमा वरिष्ठ नेताको अभ्यास छ । विगतमा रामचन्द्र पौडेल वरिष्ठ नेता हुनुहुन्थ्यो । उहाँ राष्ट्रपति भएपछि त्यो पद रिक्त छ । त्यसमा अब शेखर कोइरालालाई वरिष्ठ नेता बनाएर जानुपर्छ भन्ने प्रस्ताव गर्दछु । कोइरालालाई वरिष्ठ नेता बनाउँदा पार्टीमा समन्वय समझदारी र सहकार्यका लागि थप सजिलो हुन्छ ।’ जारी केन्द्रीय समिति बैठकमा महामन्त्रीहरूको आलोचना भइरहेको छ भने संस्थापन पक्षकै केही नेताहरूले डा. शेखर कोइरालाको भूमिकाको प्रशंसा गरेका छन् ।

बैठक अझै दुई दिन चल्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा केन्द्रीय कार्यसमिति सदस्यहरूले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताउनुभयो । उहाँले केन्द्रीय कार्यसमिति सदस्यहरूले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताउनुभयो । नेता पौडेलले बैठक शुक्रबार र आइतबार बस्ने बताउनुभयो । उहाँले शुक्रबार बिहान ११ बजे बैठक बस्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?