सुदूरपश्चिम सरकारसँग २७ लाख जनताको उपचार गर्न ७ जना चिकित्सक

छात्रवृत्ति करार र ज्यालादारी चिकित्सकको भरमा अस्पताल

Read Time = 7 mins

-विराज रोस्यारा
कैलाली । धनगढीको सेती प्रादेशिक अस्पताल ३ सय २५ शय्या क्षमतामा सञ्चालित अस्पताल हो । नेपाल सरकारले २०४० सालमा ५० शय्याको स्वीकृति दिएको यो अस्पताल सुदूरपश्चिमको सबैभन्दा ठूलो प्रादेशिक अस्पताल हो । सेतीमा सरकारी स्वीकृति भन्दा २७५ शय्या बढी सञ्चालनमा छन् । २०४० सालमा सेतीमा ५० शय्याका लागि कन्सल्टेन्ट, विषेशज्ञ र मेडिकल अधिकृतसहित २९ जनाको स्थायी दरबन्दी स्वीकृत भएको थियो । त्यसपछि दरबन्दी नथपेरै सेतीलाई प्रादेशिक अस्पताल घोषणा गरिएको छ ।

प्रदेश सरकारले ३२५ शय्याका लागि सेतीमा ७ जना स्थायी चिकित्सक मात्रै व्यवस्थापन गर्न सकेको छ । सेतीमा ११ औं तहको ५ जना चिकित्सकको दरबन्दी छ तर कार्यरत १ जना मात्रै छन् । यस्तै, ९ औं र १० औं तहको १७ दरबन्दीमा ५ जना कार्यरत छन् । ८ औं तहको एक दरबन्दी भने पूर्ण छ ।

सेतीमा मेडिकल अधिकृतको ६ दरबन्दी पूरै रिक्त छ । सेतीमा दैनिक करिब १ हजार ५ सय बिरामीको उपचार गर्न प्रदेश सरकारले केबल ७ जना स्थायी चिकित्सक जुटाउन सकेको छ । सेतीमा छात्रवृत्ति, करार, ज्यालादारी र विभिन्न कार्यक्रम अन्तर्गत नियुक्त चिकित्सकले उपचार सेवा दिइरहेको सूचना अधिकारी मेखराज उपाध्यायले बताउनु भयो ।

महाकाली र टीकापुर अस्पताल करारको भरमा

स्वीकृत शय्याको आधारमा टीकापुर अस्पताल सुदूरपश्चिमकै सबैभन्दा ठूलो अस्पताल हो । ५१ शय्याको टीकापुर अस्पतालमा ११ जना चिकित्सकको दरबन्दी छ । तर, प्रदेश सरकारले १ जना पनि स्थायी चिकित्सक टीकापुर अस्पतालका लागि व्यवस्था गरेको छैन । सिङ्गो अस्पताल छात्रवृत्ति करार र ज्यालादारी चिकित्सकको भरमा चलाइएको छ ।

यस्तै, कन्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा ५० शय्याका लागि २६ जना चिकित्सकको दरबन्दी कायम गरिएको छ । तर, अस्पतालमा प्रदेश सरकारको एक जना पनि स्थायी चिकित्सक छैन । महाकाली अस्पतालमा संघ सरकारका एक जना स्थायी र बाँकी करार र ज्यालादारी चिकित्सकको भरमा चलाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन भट्टले बताउनु भयो । ‘महाकाली अस्पतालमा प्रदेश सरकारको एक जना पनि स्थायी चिकित्सक हुनुहुन्न,’ उहाँले भन्नुभयो, ‘२६ जनाको दरबन्दीमा १४ जना अस्थायी चिकित्सक मात्रै कार्यरत छन् ।’

६ अस्पताल छात्रवृत्ति करारको भरमा

सुदूरपश्चिम सरकारले करार र ज्यालादारी चिकित्सकको भरमा सेती र महाकाली प्रादेशिक अस्पताल तथा टीकापुर अस्पताल चलाएको पाइएको छ । यसैगरी १५ शय्याको स्वीकृत दरबन्दी पाएका ६ वटा जिल्ला अस्पतालमा सरकारी चिकित्सक एक जना पनि छैनन् । दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम र डोटी अस्पतालमा २/२ जना चिकित्सकको दरबन्दी भए पनि सबै जिल्ला अस्पतालमा छात्रवृत्ति करार र विभिन्न कार्यक्रममा नियुक्त भएका अस्थायी चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् ।

२०४७/०४८ मा गरिएको ओएण्डएमअनुसार हरेक जिल्ला अस्पतालमा केबल दुई जना चिकित्सक पनि प्रदेश सरकारले नियुक्त गर्न सकेको छैन । जिल्ला अस्पतालहरू छात्रवृत्ति करारको भरमा चलेको बैतडी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिपेश श्रेष्ठले बताउनु भयो ।
‘बैतडी जिल्ला अस्पतालमा दुई जना चिकित्सकको दरबन्दी छ । दुबै पद रिक्त छन्,’ जिल्ला अस्पतालहरूमा स्थायी दरबन्दी छैन । हामी छात्रवृत्तिका र कार्यक्रमका अस्थायी चिकित्सक मात्रै कार्यरत छौँ ।’

प्रदेशमा स्वास्थ्य जनशक्ति न्यून

प्रदेश सरकार मातहतमा सेती र महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, ६ वटा जिल्ला अस्पताल र एक प्रादेशिक आयुर्वेद चिकित्सालय गरि जम्मा ९ वटा अस्पताल सञ्चालित छन् । २०७८ को जनगणना अनुसार सुदूरपश्चिमको जनसंख्या २७ लाख ११ हजार २५० छ । यो जनसंख्यालाई उपचार गर्न प्रदेश सरकारसँग केबल ७ जना चिकित्सक मात्रै छन् । जसमध्ये सातै जना सेती प्रादेशिक अस्पतालमा कार्यरत छन् ।

प्रदेश सरकार मातहत न्यून संख्यामा स्वास्थ्य जनशक्ति रहेको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर जगदीश जोशीले बताउनु भयो । ‘पुरानो दरबन्दीअनुसार सुदूरपश्चिममा ११ औं तहको १४ जना, ९/१० औं तहको ६४ र ७/८ औं तहको ७३ जनाको दरबन्दी हो,’ उहाँले भन्नुभयो, ‘यो दरबन्दीमा चिकित्सकतर्फ भने ७ जना मात्रै छन् । एघारौं तहको एक जना मात्रै छन् ।’ प्रदेश सरकार गठन भएको पाँच वर्ष पूरा भएर छैटौं वर्षमा लागे पनि सुदूरपश्चिमका अस्पतालमा स्थायी जनशक्ति थप्न प्रदेश सरकार असफल देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?