कारबाहीमा परेका हरिहजुरले प्रशिक्षण नगर्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानबाट हटाइएका हरिहजुर थापाले १९औं एसियाली (एसियाड) खेलकुदको तयारीमा रहेको टोलीको प्रशिक्षणमा भाग नलिने हुनुभएको छ । चीनमा असोजमा हुने एसियाडका लागि १२ सदस्यीय टोलीमा परे पनि प्रशिक्षणमा सहभागी हुन नसक्ने सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ ।

‘चीनमा हुने एसियन गेमको लागि अन्तिम छनोटमा पर्नु भएको सम्पूर्ण पुरुष खेलाडीलाई हार्दिक बधाई साथै जितको अग्रिम शुभकामना छ । जसमा म स्वयम छनोटमा भए तापनि मेरो स्वास्थ्य स्थितिले गर्दा ट्रेनिङमा सरिक हुन नसकेको जानकारी गराउँदछु,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

शनिबारमात्रै नेपाल भलिबल संघले हरि हजुरलाई राष्ट्रिय टोलीको कप्तानबाट पदमुक्त गरेको थियो । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण देखाउँदै हरि हजुरलाई कप्तानीबाट पद मुक्त गरिएको संघले जनाएको थियो । संघले गत महिनामात्र इम रानाको स्थानमा उहाँलाई कप्तान बनाएको थियो । लगत्तै संघले उहाँको स्थानमा स्पाइकर मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान चुनेको थियो । त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर आठ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आउनुभएको छ । २६ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबलमा कप्तानको भूमिका निर्वाह गरिसक्नुभएका छ ।

गतसाता भएको सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्धको खेलका क्रममा हरि हजुर दर्शकमाथि आक्रोशित हुनुभएको थियो । उक्त घटनाको अनुसन्धानपश्चात संघले थापालाई कप्तानीबाट हटाउने निर्णय लिएको हो ।
हरिहजुर गत महिना इम रानाको स्थानमा राष्ट्रिय टोलीको कप्तान नियुक्त हुनुभएको थियो । हरि हजुरको कप्तानीमा नेपालले किर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो । जसमा नेपालले सबै ६ खेल गुमाएको थियो ।

लिगमा गण्डकी प्रदेशको खेलविरुद्ध आर्मीले खेलिरहँदा केही दर्शकले अपशब्द बोलेको भन्दै आर्मीका खेलाडीहरू दर्शकदीर्घामा गई हातपात गर्न पुग्नुभएको थियो । त्यसमा हातपातमै उत्रिने स्पाइकर धनबहादुर भट्टलाई संघले ६ महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

सोही घटनामा आक्रोशित व्यवहार देखाएका राष्ट्रिय टोलीका सदस्यसमेत रहेका आर्मीका राजेन्द्र विष्ट र अर्का खेलाडी धनपति कुँवरलाई तीन महिनाको प्रतिबन्ध लगाएको छ । त्यस्तै अर्का खेलाडी दुर्गाबहादुर खड्कालाई सचेत गराइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?