-निरोज कोइराला
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा पैसठ्ठी प्रतिशत धान रोपाइँ भएको छ । समयमा बर्षात नहुनु र पशु चौपायाहरुमा देखिएको लम्पी स्किन रोगका कारण समयमा धान रोपाइँ हुन नसकेको हो ।
भोजपुर जिल्लामा हालसम्म ६५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीले बताउनुभयो । उहाँका अनुसार गत बर्ष अहिलेको समयसम्म ७६ प्रतिशत रोपाइँ भई सकेको थियो । “समयमा बर्षात नभएको कारण रोपाइँमा त ढिलाई थियो नै, फेरी पशुचौपायाहरुमा देखिएको लम्पी स्किन रोगका कारण पनि रोपाइँमा यस बर्ष ढिला भयो ।” केन्द्रका प्रमुख खत्रीले भन्नुभयो ।
भोजपुर जिल्लामा १८ हजार ९२ हेक्टरमा धान खेती रोपाइँ हुन्छ भने जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ६२ हजार दुई सय ९९ रहेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार अहिलेसम्म करिव ११ हजार सात सय ६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जिल्लामा अझै पनि ३५ प्रतिशत धान रोपाइँ हुन बाँकी रहेको छ ।
समयमा बर्षात नभएकोमा र कृषकसँग भएका गोरुहरु समेतमा लम्पी स्किन रोगको समस्या देखिएकाले भोजपुरमा रोपाइँ गर्न ढिला भएको कृषकहरुको भनाई रहेको छ । “कृषकहरुले जेठमा पानी नआएका कारण समयमा रोपाइँ गर्न पाएनन, फेरी रोपाइँ गर्ने समयमा गोरुहरुमा पनि रोगा देखा पर्यो ।” कृषक कुमार खडकाले भन्नुभयो । आकाशे पानीको भरमा धान रोपाइँ गर्नु पर्ने बाध्यता रहेको कृषकहरुलाई भने रोपाइँमा बढी समस्या हुने गरेको छ ।
“रोपाइँका लागि कृषकहरु खेतीमा व्यस्त थिए । पानीको समस्या भए पनि कुलो भएको ठाउँहरुमा त रोपाइँ गर्न सकिन्थ्यो, सोही बेला पशुचौपायाहरुमा लम्की स्किन रोगले गोरुहरु नै मर्ने अवस्था आयो । जसका कारण पनि समयमा रोपाइँ सम्पन्न हुन सकेन ।” कृषक रमेश थापाले भन्नुभयो ।
जिल्लामा पछिल्लो समयमा हात्ते ट्रयाक्टरको समेत प्रयोग बढे पनि सवै खेतमा ट्रयाक्टरले धान रोपाइँ नहुने भएकाले पनि समस्या देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । कार्यालयका अनुसार जिल्लाको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मुलपानी, याकु लगायतका क्षेत्रहरुलाई धानको लागि पकेट क्षेत्र मानिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच