कांग्रेस बैठक : मुलुकीसंहिता संशोधन विधेयक खारेजीको माग

विपक्षी दलहरूबाट नेपाली सेना र परराष्ट्र नीतिमाथि प्रहार भएको आरोप

अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मुलुकीसंहिता संशोधन विधेयक खारेज गर्न माग भएको छ । सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री कांग्रेसका उपसभापति धनराज गुरुङ हुनुहुन्छ । अझ रोचक विषय त के छ भने कांग्रेसभित्र एउटै गुटमा रहेका नेताबाट गुरुङले ल्याएको विधेयक खारेजीको माग भएको हो । संस्थापनइतर पक्षका नेता डा.शेखर कोइरालाले मुलुकीसंहिता संशोधन विधेयकप्रति आपत्ति जनाउँदै खारेज गर्न माग गर्नुभएको हो । पार्टीभित्र उपसभापति गुरुङ डा. शेखरकै गुटमा हुनुहुन्छ । १४औँ महाधिवेशनमा कोइराला समूहबाट उपसभापति जितेका मन्त्री गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसद्मा पेस गर्नुभएको थियो । प्रतिनिधिसभाबाट पारित उक्त विधेयक फेरि राष्ट्रियसभामा आए पनि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महान्यायाधिवक्ताको कार्यालयसँग राय माग्ने भन्दै सन्देश सुनाउन ढिलाइ गर्नुभएको छ । जारी कांग्रेस केन्द्रीय समितिको पाँचाँै दिनको बैठकमा आइतबार आफ्नो धारणा राख्नुभएका डा.कोइरालाले विधेयकले दण्डहीनतालाई प्रश्रय दिने जिकिर गर्दै भन्नुभयो, ‘सबैभन्दा चिन्ता लागेको विषय हामी दण्डहीनतालाई प्रश्रय गर्ने कानुन बनाउन लागेका छौँ । नीतिगत रूपमा कानुन बनाएर प्रश्रय दिने काम भएको छ । हाल संसद्मा बनेको मुलुकी संघीतासम्बन्धी व्यवस्था संशोधन गर्न बनेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक खारेज गर्नुपर्छ । यो विधेयकका कारण दण्डहीनताले संस्थागत रूप धारण गर्छ ।’

केही दल नेपाली सेनामाथि आक्रमण गरिरहेका छन् : परराष्ट्रमन्त्री
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलहरूबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार भइरहेको आरोप लगाउनुभएको छ । मन्त्री साउदले आइतबारको केन्द्रीय समिति बैठकमा सत्ता नपाएपछि विपक्षी दलहरूले सेना, परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार गरिरहेको आरोप लगाउँदै भन्नुभयो, ‘आज आर्मी जस्तो संस्थामा केही पार्टीहरूले आक्रमण गरिराखेका छन् । आज मुलुकको असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको छ । उनीहरू सत्ता नपाएर बौलाएको जस्तो अवस्था अहिले देखिएको छ ।’ उहाँले सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणबारे अदालतको निर्णय पर्खनुपर्ने धारणा राख्दै साउदले भन्नुभयो, ‘भुटानी शरणार्थीबारे धेरै चर्चा भएको छ । कहिलेकाहीँ केही घटना र अपराध यस्ता हुन्छन् । कोही समातियो भने त्यही दिन पार्टीले निकाल्दिए हुन्छ । कोही छानबिनमा नगएर भाग्यो भने पनि पार्टीले निकाले हुन्छ । हतारमा निर्णय नगरौँ । बाहिर पत्रिकाले लेखेर मात्र हुन्न । त्यसले पार्टीको हित गर्दैन । छानविन भइरहेको र अनुसन्धानमा सहयोग गरिरहेकोलाई अदालतको निर्णय पर्खिनुपर्छ ।’ मन्त्री एनपी साउदले नेपाली कांग्रेसका ४० प्रतिशत क्रियाशील सदस्यले रूखमा भोट नहालेको समेत दाबी गर्नुभएको छ ।

पार्टीभित्र अनुशासनको आवश्यकता छ : प्रवक्ता महत
अर्थमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेताहरूलाई खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको छ । केन्द्रीय समितिको आइतबार बसेको बैठकमा धारणा राख्दै डा.महतले नेतृत्वलाई अनावश्यक गालीगलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गर्दै भन्नुभयो, ‘अनावश्यक किसिमको गालीगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट विरोध गर्ने कुरा र नभएकोलाई पनि भएको जस्तोगरी प्रस्तुत गर्ने कुरा हामी कहीँकतैबाट, कसैले पनि गर्नु हुँदैन । त्यो नगरेर हामी एक मनले, एक चित्तले पार्टी संगठनमा लाग्यौँ भने, जनताको बीचमा गयौं भने नेपाली कांग्रेसलाई कसैले रिप्लेस गर्न सक्दैन । त्यसमा दुईमत छैन । त्यसैले मूलभूत रुपमा पार्टीमा अनुशासनको आवश्यकता छ । र अनुशासनको लागि हाम्रो पार्टी हो ।’

नेता बस्नेतको आक्रोश : ‘गफ दिएर भद्रगोल गर्न खोज्ने ?’
स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीभित्र केही नेताले गफ दिएर सबै कुरा भद्रगोल गर्न खोजेको आरोप लगाउनुभएको छ । बस्नेतले आफ्नो क्षेत्रमा सबैले दुःख गरेर आएको स्पष्ट पार्दै केही नेताले गफ दिएर पार्टीलाई भद्रगोल गर्न खोजेको आरोप लगाउनुभएको हो । बैठकमा निकै आक्रोशित भएर प्रस्तुत हुनुभएका बस्नेतले भन्नुभयो, ‘कुनै गुटले पनि नपत्याएपछि अहिले केही मानिसहरू गुट चाहिन्न भनिरहेका छन् । हिजो एकपछि अर्को गुटमा गएर उनीहरूले के-के अवसर लिए ? दाइ-भाउजूले टिकट बाँड्छन् भन्ने ? ठूला कुरा गर्नेहरूले स्थानीय चुनावमा सिन्धुपाल्चोकमा कारबाही सिफारिस गरेकालाई गुटबाट प्रदेश समानुपातिक उम्मेदवार सिफारिस कसले गरेको ? मलाई हराउन क्षेत्र नम्बर २ मा पठाएको होइन ? तपाईंहरूको दुर्भाग्य मैले चुनाव जितेर आएँ ।’ पार्टी सभापति शेरबहादुर देउवाको प्रशंसा गर्नुभएका बस्नेतले विभिन्न नेताहरूको धारणाले गठबन्धनमा अन्य दलहरू बिच्क्याएको टिप्पणी गर्दै भन्नुभयो, ‘अहिले भएका गठबन्धनलाई बिच्क्याउने काम भएको छ । केपी शर्मा ओली हिजो जस्तै सरकार आओस् भन्ने चाहनुहुन्छ ? हिजो ओली सरकार हुँदा कति ठाउँमा हाम्रो मानिसलाई झुठो मुद्दा मामिलामा फर्काइएको थियो । पार्टीले दाङ पठाएको थियो । त्यहाँ नेविसंघको नेतालाई थुनिएको थियो । लाइभ भएका हुनाले यति मात्रै बोलेँ ।’

दृष्टिकोण परिवर्तन गर्न आवश्यक : निधि
केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । निधिले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्न आवश्यक नरहेको तर दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको जिकिर गर्दै भन्नुभयो, ‘यो पाँच वर्षसम्म त गठबन्धन ठिकै छ । पाँच वर्षपछि रूपान्तरणको लागि गठबन्धनको प्रयोग गरेर नेपाली कांग्रेस एक्लैले बहुमत कसरी ल्याउन सक्छ तीनै तहको लागि चुनावको तयारी गरौँ । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ, तदानुकूलको दृष्टिकोण परिवर्तनका लागि हामीले आफूलाई तयार गर्नुपर्छ ।’

गगनलाई मीनेन्द्रको सुझाव : ‘संसदीय दलको नेतामा धेरै मन नडुलाऔँ’
केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिनुभएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै नेता रिजालले सभापति देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भन्नेमा नै केन्द्रित हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘महामन्त्री थापालाई सुझाव । सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म यति गरौँ कि २०८४ पछि मज्जैले अगाडि लैजान सकौँ भनेर । कहाँनेर इन्ट्रेष्ट मिलेन भने, खोज्दै जाँदाखेरी संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छजस्तो लाग्यो ।’

गठबन्धनको विषयमा अहिल्यै निर्णय गर्नुपर्दैन : सहमहामन्त्री पाण्डे
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले २०८४ सालमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने कि गठबन्धन बनाउने अहिले नै निर्णय गर्नुनपर्ने बताउनुभएको छ । आइतबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै सहमहामन्त्री पाण्डेले भन्नुभयो, ‘एक्लै लड्ने कि गठबन्धन गर्ने अहिले निक्र्योल गर्नुपर्दैन । पार्टी बलियो बनाउँदै गयौँ भने एक्लै लड्नुपर्ने जनमत छ । पार्टी बनाउनतिर लागौँ ।’ अहिलेको प्रधानमन्त्री कांग्रेसले नै बनाएको भन्दै उनले मन्त्रिपरिषद्का कुनै सदस्यले गरेको राम्रो कामको स्वामित्व पनि कांग्रेसले लिनुपर्ने धारणा राख्दै पाण्डेले भन्नुभयो, ‘नारायणकाजीले गरे वा माओवादीले गरे । हामीले बनाएको प्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्रीले बनाएका गृहमन्त्रीले गरेका छन् । हामीले यसको स्वामित्व लिनुपर्छ । किनकि यो सरकार हामीले बनाएको हो ।’

बालकृष्ण खाँणलाई राज्यले फसाएको हो : सहमहामन्त्री यादव
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताउनुभएको छ । आइतबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै सहमहामन्त्री यादवले भन्नुभयो, ‘कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ । तर, थप मुद्दा राजद्रोह पनि लगाइएको छ । ठगी मुद्दामा राजद्रोह लगाउने हो भने दिनमा १०/२० वटा राजद्रोहको मुद्दा लाग्छ ।’

दुई महामन्त्रीको लोकप्रियता घट्यो : सहमहामन्त्री आङ्देम्बे
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी गर्नुभएको छ । केन्द्रीय समिति बैठकमा धारणा राख्दै आङ्देम्बेले सिनियर नेताहरूको भने लोकप्रियताको ग्राफ बढेको दाबी गर्दै भन्नुभयो, ‘युवा नेताहरूको लोकप्रियताको ग्राफ अलिकति घटेकै छ । सिनियर लिडरसिपकै लोकप्रियता बढेको छ । बढ्नेले कायम राख्ने घट्नेले बढाउने गर्नुपर्छ ।’

कांग्रेस बैठकमा राजेन्द्र लिङ्देनका भाइहरू बोलेको आरोप
नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले निर्वाचन प्रणाली, धर्मनिरपेक्ष र समानुपातिक प्रतिनिधित्वको विषयमा प्रश्न उठाउने नेताहरूलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका भाइको संज्ञा दिनुभएको छ । कांग्रेसभित्र समावेशी र समानुपातिक व्यवस्थाका विरोधीहरू हाबी हुन थालेको र उनीहरूका कारण मधेसमा कांग्रेस कमजोर बन्ने जिकिर गर्दै भन्नुभयो, ‘लिङ्देनले चारवटा प्रस्ताव राखेका छन् । कांग्रेसमा पनि लिङ्देनका भाइहरू मैले यहाँ देखिरहेको छु । एउटा गणतन्त्रबाहेक सबै उपलब्धि उल्ट्याउने कुरा गर्नेहरू लिङ्देनका भाइहरू हुन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?