आसेपासेको घेरा तोडेर अघि बढ्नु आवश्यक

Read Time = 13 mins

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको सरकार योजना र कार्यक्रम बनाएर एक्सनमा उत्रनुपर्ने आवश्यकता देखिएको छ । अब चुप लागेर बसेर हुँदैन । मुलुकको भविष्य बनाउने बेला हो यो । मुलुक बनाउन इच्छाशक्ति र आत्मविश्वास चाहिन्छ । त्यो हाम्रा प्रधानमन्त्री प्रचण्डमा केही भए पनि देखिन्छ । उनी कुनै लोभ लालचमा परेनन् भने केही हुन्छ । उनी आफन्त र आसेपासेको घेरा तोडेर अघि बढ्न सक्नुपर्छ तबमात्र सोचेको हुन्छ, नत्र भने हुँदैन । आफूले लोभ नराख्ने र अरूलाई पनि त्यस्तो लोभीपापी हुन नदिने काममा प्रधानमन्त्री दाहाल लाग्ने हो भने जनताले अवष्य साथ दिने छन् । आज देशका सामु धेरै समस्या र चुनौती त छँदै छन् ।

यी समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर भएर लाग्नुपर्छ । जनसरोकारका सबै काम दूू्रत गतिमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ । अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनुपर्ने भएको छ । अब पनि मुलुकप्रति खेलबाड गर्ने छुट कसैलाई छैन । देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नैतिकवान् र इमानदार बन्न सक्नुपर्छ । राजनीतिक नेतृत्व इमानदार बन्ने बित्तिकै आमप्रशासनतन्त्रमा सुधार आउन सक्छ ।

सरकारका योजनालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउने भनेकै कर्मचारीवर्ग हो । राजनीतिक नेतृत्व इमान्दार बन्नैपर्छ । देश भ्रष्टचारमा डुबेको छ । कर्मचारीतन्त्रलाई भ्रष्ट बनाएकै राजनीतिक नेतृत्वले हो । त्यसैले सबैभन्दा पहिला राजनीतिक नेतृत्व आफैं सच्चिनुपर्छ । त्यसैले अब प्रधानमन्त्री प्रचण्डको पहिलो प्राथमिकता आफू सच्चिएर कर्मचारीमा सुधार ल्याउनु हो । अधिकांश नेताहरू माफिया, बिचौलिया र तस्करको घेराबन्दीमा छन् । कसरी हुन्छ धन आर्जन गर्ने ध्याउन्नमा उनीहरू लिप्त छन् ।

देशमा भ्रष्टाचार अत्याधिक रूपमा बढिरहेको छ । त्यसैले सबै दलका शीर्ष नेता आमूल रूपमा सच्चिन जरुरी छ । अब सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्नैपर्ने देखिन्छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवैमा इमानदारीता भयो भने देश बन्न कुनै बेर लाग्दैन । सरकारले आफ्नो कार्यकालको अवधिमा गर्न सक्ने तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्छ । त्यसका लागि विषयगतविज्ञ छनोटमा विशेष ध्यान दिनुपर्छ । त्यसो भयो भनेमात्र वर्तमान सरकारले गर्न खोजेका कुरा र सपना पूरा हुन सक्छन् ।

जनताका गाँस, बास, कपासको उचित व्यवस्थापनमा सरकार लाग्नुपर्छ । त्यसैगरी सरकारले स्वास्थ र शिक्षामा सहज पहुँच एवं रोजगारीको उचित अवसरको व्यवस्थापन गर्न सक्नुपर्छ ।

देशमा भ्रष्टाचार अत्याधिक रूपमा बढिरहेको छ । त्यसैले सबै दलका शीर्ष नेता आमूल रूपमा सच्चिन जरुरी छ । अब सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्नै पर्ने देखिन्छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवैमा इमानदारीता भयो भने देश बन्न कुनै बेर लाग्दैन ।

जनताले सोचेनुसार यो सरकारले त्यति राम्रो काम गरेर देखाउन सकेको छैन । अहिलेसम्म हेर्दा सरकारको आगामी यात्रा त्यति सहज हुने कुनै संकेत देखिँदैन । दलहरू पूरै सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबेका छन् । प्रधानमन्त्री प्रचण्ड आफैं अस्थिर स्वभावका छन् । उनको कारणले देश अस्थिरतातर्फ धकेलिने ठूलो सम्भावना देखिएको छ । दाहालको यो अस्थिर स्वभावले मुलुक दुर्घटनातर्फ जाने त होइन भन्ने प्रश्न उठने गरेका छन् ।

यो वर्तमान सरकार जनजीविकाका सवालमा असफल बन्दै गएको छ । खास केही राम्रा र लोकप्रिय काम गरेर देखाउन सकेको छैन । कुरामात्र गरेर हुँदैन, काम गरेर देखाउनुपर्छ । यो सरकार आसेपासे र आफ्ना कार्यकर्ता भर्ती गर्नमात्र केन्द्रित बनेको छ अरू यसले माखो मार्न सकेको छैन । सरकारका काम हेर्दा त्यति चित्त बुझाउने ठाउँ छैन ।

मुलुक भ्रष्टाचार र कुशासनको दुष्चक्रमा फसेको छ । सरकारले अहिलेसम्म कुनै राम्रो काम गर्न सकेन । जनताको दुःखसुख बुझेर जनमैत्री काम अघि बढाउन सकेको छैन । अनि यो सरकारबाट जनताले अरू के आश गर्ने ? राजनीतिक दल र तिनका नेताहरू व्यक्तिगत र पार्टीगत स्वार्थमा लिप्त छन् । देश, जनताको कुनै चासो र सरोकार तिनीहरूलाई छैन । यो वर्तमान सरकारले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सकेन । आमजनचाहना विपरीत दल र तिनका नेताहरू अघि बढ्दै छन् । शक्ति र सत्ताको मातले नेताहरू उम्लेका छन् । जनताका तमाम खाले समस्या ज्यूँका त्यूँ छन् । ती समस्या समाधान गर्न कुनै शासक गम्भीर बन्न सकेनन् ।

राजनीतिक दल र तिनका नेताहरूले सुध्रने लक्षण अझै देखिएको छैन । राजनीतिक दलका नेता नै मुलुकप्रति बेइमानी गर्दै छन् । शासकको सबैभन्दा ठूलो बदमासी बेइमानी हो । उनीहरूको बोलाइ र गराइमा ठीक उल्टोपन देखिन्छ । नेता र शासकले बोलेअनुसार व्यवहारमा कुनै कुरा उतार्न सकेका छैनन् । विगतमा केही अपवाद छोडेर धेरै मन्त्रीहरू त्यस्तै गलत धन्दामा लागेका प्रसस्त उदाहरण छन् । वर्तमान सरकारका धेरै मन्त्रीबाट खासै आशा गर्ने ठाउँ छैन । देशमा नाटक मञ्चन हुँदैछ । नेताहरूले जे बोल्छन् त्यो व्यवहारमा देखाउन सकेका छैनन् । अहिलेसम्म सरकार र मन्त्रीहरूले राम्रो कामको सुरुवात गर्न सकेको देखिँदैन ।

अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको अभ्यास भइरहेको छ । यो शासन व्यवस्था ल्याउन राजनीतिक दलहरूको मात्र होइन, आमनागरिकको पनि प्रमुख भूमिका रहेको थियो । आज आएर आमनागरिक निराश छन् । यसका बारेमा नेताहरूलाई कुनै चासो र सरोकार छैन ।

त्यसविपरीत पुरानै परम्परा अनुसारका काम गर्न थालेका छन् । राजनीतिक दलहरूले देश बनाउने कुरामा खासै ध्यान दिएको देखिँदैन । आज देश संकटतर्फ उन्मुख हुँदैछ । देशको अर्थतन्त्र डामाडोल भएको संकेत अर्थशास्त्रीहरूले दिइरहेका छन् । अब हामी कता जाँदैछौं ? देशको अवस्था कता जाँदैछ ? अब सरकारले कस्तो भूमिका खेल्ने ? यी प्रश्न यतिबेला उठ्ने गरेका छन् । देशमा व्यवस्था बदलियो तर जनताको अवस्था नबदलिएपछि व्यवस्था परिवर्तनको के अर्थ ? राजनीतिक दल र तिनका नेता, टाठाबाठा कार्यकर्ता र आसेपासेबाहेक अरूको अवस्था बदलिन सकेको छैन ।

देश र जनताको भाग्य र भविष्य बनाउने कुरामा सबै चिन्तित हुनुपर्ने बेला भएको छ । आज हामी हेरिरहेका छौं, राजनीतिक दलहरूको भूमिका त्यति राम्रो छैन । सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थबाहेक राजनीतिक दलहरू र तिनका नेताहरूले अरू केही हेरेनन् । त्यसो भएर यो मुलुक बन्न नसकेको हो अरू केही होइन । सरकारमा गएर सत्ता चलाउन र सुशासन कायम गराउन दलहरू असफल हुँदै आएका छन् । यो कुरा त सबैले स्वीकानै पर्छ । मुख्य दल शासकीय दृष्टिले त्यति सफल देखिन सकेका छैनन् ।

यद्यपि, अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको अभ्यास भइरहेको छ । यो शासन व्यवस्था ल्याउन राजनीतिक दलहरूको मात्र होइन, आमनागरिकको पनि प्रमुख भूमिका रहेको थियो । आज आएर आमनागरिक निराश छन् । किन हो ? यसका बारेमा नेताहरूलाई कुनै चासो र सरोकार छैन । जब जनतामा वितृष्णा पैदा हुन्छ तबमात्र उनीहरू सडकमा जान्छन् । यो जनताको बाध्यताको कुरा हो ।

मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने कुरामा राजनीतिक दलबीच एकता र सौहार्दपूर्ण सम्बन्ध हुन जरुरी छ । मुलुकमा देखिएको रोग, भोक, अशिक्षा, गरिबी, विपन्नता हटाउने विषयमा पनि दलहरु गम्भीर बन्न जरुरी छ । राजनीतिक दल र तिनका नेताहरू असल र इमानदार बन्न सक्ने हो भने शासकीय व्यवस्था पनि सफल हुँदैजान्छ । तर, ती शासन सञ्चालन गर्नेहरू भ्रष्टाचारमा लिप्त हुन पुग्दा देशको विकास हुनसकेको छैन । जसका कारण जनतामा चरम निराशा छाएको छ । आगामी दिनमा त्यस्तो चरम निराशा आउन नदिन दलहरू सचेत र सतर्क रहनुपर्छ । जनताले प्रमुख राजनीतिक दललाई खासै रुचाएको देखिँदैन ।

मुलुकमा प्रमुख राजनीतिक दलप्रति जनताले घृणा व्यक्त गर्न थालेका छन् । दलले आफ्नो घोषणापत्रमा व्यक्त गरिएको प्रतिबद्धताअनुसार काम गर्न सकेनन् । जनताको पक्षमा काम गर्न नसकेपछि आलोचित हुनेबाहेक अरू विकल्प छैन । विगतदेखि भएको त्यही हो । सत्ता सञ्चालन गर्ने दल र तिनका नेता नै भ्रष्टाचारमा चुर्लम्म डुब्ने अवस्था आयो भने जनतामा स्वतहः उनीहरूप्रति हेर्ने दृष्टिकोणमै घृणाको भावना पैदा हुनेछ । अब राजनीतिक दलहरू गम्भीर भएर अघि नबढ्ने हो भने निश्चित रूपमा समस्या उत्पन्न हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?