तोरी फलाउने केपिलासगढीका २२४ किसानलाई अनुदान

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा तोरी फलाउने कृषकहरुले अनुदान पाएका छन् । किसानहरुले उत्पादन गरेको तोरीको प्रतिपाथी २५० रुपैयाँका दरले अनुदान रकम पाएका हुन् ।

आर्थिक वर्ष २०७९/२०८० को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत तोरी खेती प्रोत्साहन अनुदान कार्यक्रम अनुसार आईतबार केपिलासागढी गाउँपालिका–१ फेदीबाट सुरु गरिएको अनुदान वितरण कार्यक्रम बुधबार सुङदेलमा आएर समापन भएको छ ।

गाउँपालिका कृषि शाखा संयोजक साइमन गुरुङका अनुसार फेदीका २७ जना कृषकले एक लाख ३२ हजार २५० रुपैयाँ, खार्तम्छाका २८ जना कृषकले एक लाख ३९ हजार ७५० रुपैयाँ र बासपानीका ४६ जना कृषकले एक लाख ६५ हजार अनुदान रकम पाएका छन् ।

बाक्सिलाका ७२ जना कृषकले दुई लाख ४० हजार ७५० रुपैयाँ, सप्तेश्वरका २४ जना कृषकले ५७ हजार ७५० रुपैयाँ, दिप्सुङका १३ जना कृषकले ७२ हजार ७५० रुपैयाँ र सुङदेलका १४ जना कृषकले ९१ हजार २५० रुपैयाँ अनुदान पाएका हुन् ।

कृषि प्राविधिक र वडाका जनप्रतिनिधि घरघर पुगेर उत्पादित तोरीको मापन(तौलिएर) पाथी छुट्याएपछि उत्पादन वापतको अनुदान रकम वाँडिएको गाउँपालिका उपाध्यक्ष गुरुराज राईले बताउनुभयो ।

गाउँपालिकालाई तेलमा आत्मनिर्भर बनाउन तथा तोरी उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने लक्ष्यले अनुदान रकम वितरण गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार तोरी प्रशोधन गरी तेल पेल्नलाई गाउँपालिकाले तीनवटा मिल ल्याईसकेको छ । मिल सामूहिक रुपमा वितरण गरिनेछ । आगामी वर्ष शत प्रतिशत तोरी उत्पादन हुने अपेक्षा गरिएको अध्यक्ष राईको भनाई छ ।

अनुदान रकम केपिलासगढी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा सम्बन्धित वडा वडाध्यक्ष लगायतले वितरण गरेका हुन् । आफूले मेहेनत गरेर उत्पादन गरेको तोरीको मुल्याङ्कन गरी गाउँपालिका अनुदान दिंदा कृषकहरु खुशी भएका छन् ।

तस्वीर : अनुदान रकम वितरण गर्नुहुँदै केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई लगायत ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?